प्रभु महालक्ष्मी लाइफको व्यवसायमा २२ प्रतिशतको वृद्धि, जीवन बीमा कोष १५ अर्ब माथि
काठमाडौं । व्यवसाय विस्तारमा आक्रामक देखिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा आफ्नो खुद बीमाशुल्क आर्जनलाई २२.४७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
कम्पनीले साउनदेखि पुस मसान्तसम्म कुल २ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब २६ करोड ७५ लाख रुपैयाँ मात्रै थियो।
कुल बीमाशुल्क आर्जनको हिसाबले पनि कम्पनीले अघिल्लो वर्षको २ अर्ब ३४ करोड ९८ लाख रुपैयाँलाई उछिनेर यसपटक २ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ, जुन २२.५४ प्रतिशतको बढोत्तरी हो।
व्यवसायको आकार बढे पनि कम्पनीको खुद नाफामा भने समीक्षा अवधिमा केही संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षको पुससम्म १८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस वर्ष १३ करोड ३१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। यो गत वर्षको तुलनामा २७.०७ प्रतिशतले कम हो।
नाफासँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि असर परेको छ, जुन अघिल्लो वर्ष ७.१६ रुपैयाँ रहेकोमा हाल ५.०२ रुपैयाँमा झरेको छ। ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पीई रेसियो ९७.६६ गुणा र प्रतिसेयर नेटवर्थ ११३.०२ रुपैयाँ कायम भएको छ।
कम्पनीको दीर्घकालीन दायित्व वहन गर्ने क्षमता दर्साउने जीवन बीमा कोषको आकारमा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको पुससम्म ११ अर्ब ८९ करोड रुपैयाँ रहेको यो कोषको आकार ३३.३१ प्रतिशतले बढेर १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ।
यसैगरी, कम्पनीको जगेडा कोषका विभिन्न शीर्षकहरूमा पनि परिवर्तन देखिएको छ, जसअन्तर्गत सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २१ करोड ८० लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्षको असार मसान्तको तुलनामा कम्पनीको रिटेन्ड अर्निङ र अन्य इक्विटीमा भने केही गिरावट आएको विवरणले देखाउँछ।













