नियम मिच्ने ३ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाहीको डन्डा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नियम विपरित कार्य गर्ने तीनवटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमाथि विभिन्न नियामकीय प्रावधानहरू उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
एनआईसी एसिया बैंकका अध्यक्ष र सीईओलाई जरिवाना राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकले केन्द्रीय बैंकबाट जारी गरिएका निर्देशनहरूको पटक–पटक उल्लंघन गरेको र लिखित आदेशको समेत पालना नगरेको पाइएको छ ।
सोही कारण नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई जनही २–२ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ ।
ग्लोबल आइएमई बैंकका सीईओलाई सचेत ग्लोबल आइएमई बैंकको हकमा, २०८२ सालमा गरिएको स्थलगत निरीक्षणका क्रममा विभिन्न कैफियतहरू फेला परेपछि राष्ट्र बैंकले बैंकका सीईओलाई सचेत गराएको छ ।
बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) पर्याप्त मात्रामा नगरेको र कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको पाइएको छ। साथै, बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै मिति (भ्यालु डेट) राखी पुन: सिर्जना गर्न सकिने प्राविधिक कमजोरी समेत भेटिएको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सचेत नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षासँग सम्बन्धित कागजातहरूमा ग्राहकको सहीछाप नगराएको र धितोले खामेको भन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) २ प्रतिशत विन्दुभन्दा बढी कायम गरेको तथा त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी सो रकम पुरानो ऋण असुलीमा प्रयोग गरेको देखिएको छ । यी प्रावधानहरूको उल्लंघन गरेको पाइएपछि बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको छ ।













