नेपाली श्रमिकको आकर्षक गन्तव्य बनेका १६ युरोपेली मुलुकलाई सरकारले पठायो श्रम सम्झौताको प्रस्ताव
काठमाडौं । सरकारले नेपालीका लागि वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बनेका युरोपेली मुलुकसँग श्रम सम्झौताकाे प्रकृया अगाडी बढाएकाे छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारकाे राम्रो आयआर्जन र मानव अधिकारको वातावरण भएका क्रोएसिया, माल्टालगायत १६ पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको हाे ।
पछिल्ला वर्षहरूमा रोमानिया, क्रोएसिया, पोल्यान्ड, माल्टा, साइप्रस र पोर्चुगल नेपालीका निम्ति वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बने पनि श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम बढ्दै गएपछि सरकारले यो प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले बताए ।
हाल यी देशहरूमा धेरै नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने क्रम बढेकाले उनीहरूको हकहित सुरक्षित गर्न द्विपक्षीय सम्झौता अनिवार्य देखिएको हो।
यस प्रक्रियामा परराष्ट्र मन्त्रालय र विदेशस्थित सम्बन्धित नेपाली दूतावासहरूले पनि ती मुलुकहरूसँग आवश्यक छलफल तथा पहल अघि बढाइरहेका छन्।
सम्झौताको खाका र अनुरोधसहितको प्रस्ताव पठाइसकिएकाले छिट्टै नै परिणाममुखी सम्झौता हुने विश्वास मन्त्रालयले लिएको छ। यस्तो सम्झौता भएपछि नेपाली श्रमिकहरूले कानुनी रूपमै थप सुरक्षा र सेवा सुविधाहरू सुनिश्चित रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।















