भारतमा सुरु भएको ऐतिहासिक एआई सम्मेलनको पहिलो दिनमै भद्रगोल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतमा सुरु भएको ऐतिहासिक एआई सम्मेलनको पहिलो दिनमै भद्रगोल



विश्वभरका नेता र प्रविधि क्षेत्रका हस्तीहरूको ‘ऐतिहासिक कुम्भमेला’ भनिएको भारतको ‘एआई इम्प्याक्ट समिट’को पहिलो दिन सोमबार दिल्लीमा चरम अव्यवस्था र लजिस्टिक भद्रगोलबीच सुरु भएको छ।

पाँच दिने यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन्। यसलाई ‘ग्लोबल साउथ’ (विकासोन्मुख देशहरू) मा आयोजित पहिलो ठूलो अन्तर्राष्ट्रिय एआई सम्मेलनका रूपमा प्रचार गरिएको थियो।

तर, पहिलो दिनमै सहभागीहरूले घण्टौंसम्म लामो लाइनमा बस्नु परेको, क्षमताभन्दा बढी भीड भएको र खाना-पानीको समेत अभाव झेल्नु परेको गुनासो गरेका छन्। केही प्रदर्शकहरूले त स्टलबाटै आफ्ना सामान चोरी भएको दाबी समेत गरेका छन्।

मंगलबार भारतका सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवलाई प्रदर्शकहरूसँग “भएका असुविधा” प्रति माफी माग्नुपर्ने स्थिति आएको छ।

ठूला नाम, ठूलै भद्रगोल

यस सम्मेलनमा १०० भन्दा बढी देश सहभागी छन्, जहाँ ओपनएआईका साम अल्टम्यान र अल्फाबेटका सुन्दर पिचाई जस्ता प्रविधि जगतका दिग्गजहरू पनि पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले यो शिखर सम्मेलनले “एआईको असाधारण सम्भावना र भारतीय प्रतिभा” प्रदर्शन गरेको बताउँदै भारतले “विश्वकै लागि समाधानका बाटोहरू” खोज्ने लक्ष्य राखेको उल्लेख गरे।

यद्यपि, कार्यक्रम स्थल भारत मण्डपममा भीड व्यवस्थापन फितलो हुँदा सामाजिक सञ्जालमा गुनासोको बाढी आएको छ। सुरक्षा जाँच र अन्तिम समयमा हलहरू बन्द गरिँदा धेरै प्रतिनिधिहरू बाहिरै अलपत्र परेका थिए।

‘बोल्ना एआई’ का सह-संस्थापक मैत्रेय वाघले सामाजिक सञ्जाल ‘एक्स’मा गेट बन्द भएका कारण आफू आफ्नै कम्पनीको स्टलसम्म पुग्न नसकेको लेखेका छन्।

प्रविधि प्लेटफर्म रिस्किलका संस्थापक पुनित जैनका अनुसार बिहान ७ बजेदेखि नै लाइनमा बसेका मानिसहरूले प्रधानमन्त्री आउनुअघि ‘पूर्ण इभाकुएसन’ (खाली गराउने कार्य) को सामना गर्नुपरेको थियो।

चोरी र डिजिटल भुक्तानीमा समस्या

समाचार संस्था रोयटर्सका अनुसार केही वक्ताहरूले आफ्नो सत्र कहिले सुरु हुन्छ भन्ने जानकारी समेत अन्तिम समयसम्म पाएका थिएनन्।

सबैभन्दा गम्भीर आरोप नियोसेपियन्सका संस्थापक धनञ्जय यादवले लगाएका छन्। उनले उच्च सुरक्षा घेराभित्र रहेको स्टलबाटै आफ्नो कम्पनीका एआई उपकरणहरू चोरी भएको दाबी गरेका छन्। “हामीले यात्रा र स्टलका लागि ठूलो खर्च गर्‍यौँ, तर सुरक्षित क्षेत्रभित्रै हाम्रा सामान गायब भए,” उनले लेखेका छन्।

यसबाहेक, ‘डिजिटल इन्डिया’ को नारा दिइने देशको ठूलो सम्मेलनमा खानेकुराको स्टलमा डिजिटल भुक्तानी नलिई नगद मात्रै मागिँदा विदेशी पाहुनाहरूले थप सास्ती खेप्नुपरेको थियो।

“आधारभूत कुरा नसुध्री एआईको अर्थ छैन”

‘लिभो एआई’का संस्थापक सौम्य शर्माले सुरक्षाका कारण धेरै महत्त्वपूर्ण सत्रहरू बन्द कोठाभित्र सीमित गरिएको र भीडका कारण मानिसहरूलाई छिर्न नदिइएको बताए। उनले भने, “केही सत्रहरू उत्कृष्ट भए पनि व्यवस्थापकीय कमजोरीले कार्यक्रमको गरिमा घटाएको छ। जबसम्म हामी आधारभूत कुराहरू ठीक गर्दैनौँ, तबसम्म एआईको पूर्ण उपयोगको दाबी गर्न सक्दैनौँ।”

यस विषयमा बीबीसीले भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयसँग प्रतिक्रिया मागेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वैष्णवले कमजोरी स्वीकार गर्दै समस्या समाधानका लागि ‘वार-रुम’ स्थापना गरिएको जानकारी दिए। उनले भने, “लगभग ७० हजार मानिस सम्मेलनमा आएका छन्, व्यवस्थापन केही सुस्त भएको पक्कै हो। हामी यस अनुभवलाई सुखद बनाउन कडा मेहनत गरिरहेका छौँ।”


प्रतिक्रिया दिनुहोस्