रास्वपा, आरजु कांग्रेस अनि विद्रोही दिनेश: « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

रास्वपा, आरजु कांग्रेस अनि विद्रोही दिनेश:



रामचन्द्र भट्ट

नुवाकोटको रास्वपामा पहिरो जान लागेछ ।
त्यो पार्टीलाई नुवाकोटमा चिनाउन, अनेक कृयाकलापको माध्यमबाट गाउँगाउँ, बस्ती-बस्तीमा पुऱ्याउनेलाई टिकट नदिएर नागरिकता बनाउन मात्र सदरमुकाम टेकेका, बसाई सरेकालाई रबि लामिछानेले टिकट थमाएपछि सुरु भएको पहिरो अहिले थेगि नसक्नुमा परिणत हुँदै रहेछ ।

‘के गर्नु ? कतिमात्र बिजोग हेरेर बस्ने ? सकिन्न यार धेरै भयो । आरजुको कांग्रेस सरह पुगिसक्यो रास्वपा’ हिजो एक रास्वपा नुवाकोटका एक संस्थापकले पार्टी छाड्नुको कारणबारे बेलीविस्तार लगाए ।

टिकट बेचेको देखि लिएर त्यहाँ भित्र मौलाएको अशुलीधन्दाका विषयमा अलिक अघिदेखि चर्चा थियो । सीमा नाघेपछि विष्फोट हुँदै रहेछ ।

अस्तिमात्र कमला रावल बहिनी र मेरा स्कुलदेखिका सहपाठी अशोक थापाले रास्वपा त्यागे । उनीहरु दुबै जिल्लाका संस्थापक थिए । हिजोमात्र एकै ठाउँका र सँगै पत्रकारिताको साथी दिनेश आचार्यले लामो भावुक टिप्पणी लेखेर त्याग गरे । दिनेश रास्वपाको केन्द्रीय वित्त विभागको सदस्य थिए ।

नुवाकोटका पुराना र त्यागी कांग्रेस नेता स्व. विष्णु आचार्यका कान्छो छोरा हुन् दिनेश । यथास्थितिवाद र संस्थापन पक्ष भन्दा कमजोर पक्षको साथ दिने विद्रोही स्वभाव दिनेशको स्कूलदेखिकै हो । स्कूलमा म भन्दा जुनियर भएपनि पेशागत सिलसिलामा हामी धेरै वर्ष सँगै थियौँ ।

मैले केहि हप्ता अघिनै लेखेको थिएँ-सुमन पाण्डेले टिकट पाएको भए १०० प्रतिशत जीत संभव थियो । सुनिन्छ-सुमन पनि रास्वपा त्याग्ने अन्तिम चरणमा छन् ।

लामटांगको पानी रोनाल्डोलाई पिलाएर दुई अर्ब तिर्ने र त्यहि पानी पिएका कारण गोल हानेको भन्ने हास्यास्पद गफ दिनेले एउटा क्षेत्रमा टिकट पाएका छन् । अर्कोमा चाहि नागरिकता बनाउन भन्दा बाहेक सदरमुकाममा पाईला नहालेकाले पाएका छन् । जस्ले स्थापनादेखि प अघिल्लो चुनावमा हार पछि पनि जनतामा गइरहे, उनीहरुलाई पन्छाएको देखेपछि धमाधम पार्टी त्याग्दै रहेछन् ।

‘आफ्नो स्वार्थ र अवसरको लागि एकाध वर्ष रास्वपामा रहनु ठीक होला, तर देशको हितको लागि पार्टी नेताहरुको चरित्र र व्यवहार सही बाटोमा छैन’ त्यागेका एक मित्रले भने ।

नयाँनयाँ भनेको सामाजीक सन्जालमा देखिन्छ । तर नयाँ भनिएका पनि उहि माटोका हुन् र आर्थिक रुपमा नेपालले छलांग मार्ने सपना कसैले नदेखौँ । भित्रभित्रै यी पनि मक्किसकेका छन् । ठूलो सपना जनतालाई नदेखाउँ, संभव नहुने कुरा गर्दै नगरौँ ।

मलाई कसैप्रति आग्रह छैन, पूर्वाग्रह छैन । दुई दशक भयो नेपालको चुनावमा भोट नहालेको, तीन दशक पुग्नै लाग्यो कुनै राजनीतिक दलको सदस्य नरहेको ।
तर म डेमोक्रेसी, उदारवाद, जनउत्तरदायीता, प्रेस स्वतन्त्रता, मानव अधिकारमा विश्वास राख्छु ।

(लेखक रामचन्द्र भट्टकाे फेसबुकबाट)


प्रतिक्रिया दिनुहोस्