‘पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नैपर्छ’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु नझुक्ने आफ्नो दृढ अडानलाई कायमै राखेका छन्।
यसै साताको अन्त्यमा किएभस्थित सरकारी मुख्यालयमा भेट्दा उनले युक्रेनले युद्ध नहार्ने, बरु विजयी भएरै छाड्ने बताए।
राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि राखेको सर्त- जसमा रुसले हजारौँ सैनिक गुमाउँदा पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरू युक्रेनले छोड्नुपर्ने भनिएको छ, त्यसलाई स्वीकार्न जेलेन्स्की पूर्णतः तयार छैनन्।
जेलेन्स्कीका अनुसार पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेका छन्। अब उनलाई पछि हट्न बाध्य पार्ने एउटै उपाय भनेको कडा सैन्य र आर्थिक दबाब मात्र हो।
उनले भने, “मलाई विश्वास छ पुटिनले यो सुरु गरिसकेका छन्। प्रश्न यति मात्र हो कि उनले कति भूभाग कब्जा गर्न सक्छन् र उनलाई कसरी रोक्ने ? रुस संसारमा अर्कै किसिमको जीवनशैली लाद्न र मानिसहरूले आफ्ना लागि रोजेको स्वतन्त्र जीवन बदल्न चाहन्छ।”
युक्रेनको नियन्त्रणमा रहेका डोनेत्स्कका २० प्रतिशत क्षेत्रहरू (जसलाई युक्रेनले ‘किल्ला सहर’ भन्छ) र दक्षिणी क्षेत्रका खेरसन र जापोरेजियाका थप जमिन रुसलाई सुम्पिनु के युद्धविरामका लागि उचित मूल्य होइन र? भन्ने प्रश्नमा उनले भने: “म यसलाई फरक ढंगले हेर्छु। यो मेरो लागि केवल जमिन मात्र होइन। यो त आफ्ना सयौँ हजारौँ मानिसहरूलाई अलपत्र छोड्नु र हाम्रो स्थितिलाई कमजोर बनाउनु हो। यस्तो ‘फिर्ता’ ले हाम्रो समाजलाई विभाजित गर्नेछ।”
पुटिनले केही समयका लागि विश्राम चाहेको र फेरि केही वर्षमै शक्ति सञ्चय गरेर अर्को आक्रमण गर्ने जेलेन्स्कीको बुझाइ छ। उनले भने, “पुटिन अर्को कहाँ जान्छन्, हामीलाई थाहा छैन, तर उनी युद्ध जारी राख्न चाहन्छन् भन्ने कुरा सत्य हो।”
ट्रम्पको दबाब र युक्रेनको दृढता
अन्तर्वार्ताका क्रममा जेलेन्स्की निकै लचिलो र आत्मविश्वासी देखिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई भन्दा युक्रेनलाई बढी दबाब दिइरहेका बेला जेलेन्स्कीले भने, “हामी आफ्नो स्वतन्त्रताका लागि लडिरहेका छौँ, त्यसैले हार्ने प्रश्नै आउँदैन।”
जेलेन्स्कीका अनुसार पुटिनलाई आज युक्रेनमै रोक्नु भनेको पुरै संसारको जित हो, किनकि पुटिन युक्रेनमा मात्र रोकिने छैनन्। उनले सन् १९९१ को आधिकारिक सीमाना फिर्ता पाउनु नै वास्तविक न्याय र जित हुने बताए।
अमेरिका र सुरक्षाको ग्यारेन्टी
डोनल्ड ट्रम्पले सैन्य सहयोग रोके पनि अमेरिकाले अझै गुप्तचरी सूचनाहरू दिइरहेको छ। ट्रम्पलाई विश्वास गर्न सकिन्छ त? भन्ने प्रश्नमा जेलेन्स्कीले भने कि उनी व्यक्तिभन्दा पनि अमेरिकी संस्थाहरू र कंग्रेसबाट अनुमोदित हुने ३० वर्षे सुरक्षा ग्यारेन्टी चाहन्छन्। “राष्ट्रपतिहरू परिवर्तन हुन्छन्, तर संस्थाहरू रहिरहन्छन्,” उनले भने।
युक्रेनमा चुनाव गराउनुपर्ने अमेरिकी दबाबका बारेमा उनले भने कि यदि यो युद्ध अन्त्य गर्ने सर्त हो भने उनी तयार छन्, तर त्यसअघि सुरक्षाको पूर्ण सुनिश्चितता हुनुपर्छ। उनले आफू पुन: चुनावमा उठ्ने वा नउठ्ने भन्नेबारे अहिल्यै निर्णय नगरेको बताए।
आफ्नो सरकारमा भ्रष्टाचारका केही काण्डहरू आए पनि जेलेन्स्कीको लोकप्रियता अझै पनि धेरै पश्चिमा नेताहरूको भन्दा बढी छ। उनले पश्चिमा देशहरूसँग हतियार मात्र नभएर अमेरिकाको ‘पेट्रिओट’ जस्ता अत्याधुनिक वायु-रक्षा प्रणाली युक्रेनमै बनाउने अनुमति (लाइसेन्स) मागिरहेका छन्, जसमा अहिलेसम्म सफलता मिलेको छैन।
अन्तर्वार्ताको अन्त्यमा उनले भने, “हामीले धेरै नेताहरूसँग बुद्धिचाल (चेस) खेलिरहेका छौँ, रुससँग मात्र होइन। पुटिनलाई रोक्न धेरै बाटाहरूमा सँगसँगै अघि बढ्नुपर्छ। हाम्रो लागि सफलता भनेकै पुटिनलाई रोक्नु हो।”















