८ श्रावण २०८३, शुक्रबार

भारतीय अटो बजारमा टाटाको वर्चस्व: शीर्ष १५ को सूचीमा मारुतीका ९ मोडल, कसकाे व्यापार कति ?



काठमाडौं । सन् २०२६ को सुरुवातमै भारतीय अटोमोबाइल बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ। जनवरी २०२६ को बिक्री तथ्याङ्क अनुसार टाटा मोटर्सका दुई प्रमुख मोडलहरू टाटा नेक्सन र टाटा पन्च निजी खरिदकर्ताहरूको पहिलो रोजाइ बन्न सफल भएका छन्।

सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार टाटा नेक्सन (इभीसहित) २३ हजार ३६५ युनिट बिक्री गर्दै भारतकै सबैभन्दा बढी बिक्री हुने कार बन्न सफल भएको हो।

अघिल्लो वर्ष जनवरी २०२५ मा १५ हजार ३९७ युनिट बिक्री भएको नेक्सनले यस वर्ष ५२ प्रतिशतको लोभलाग्दो वार्षिक वृद्धि हासिल गरेको छ। सुरक्षा र आधुनिक प्रविधिका कारण यस मोडलले बजारमा आफ्नो वर्चस्व कायम राखेको देखिन्छ।

दोस्रो स्थानमा मारुती डिजायर रहेको छ, जसले १९ हजार ६२९ युनिट बिक्री गर्दै २८ प्रतिशतको वृद्धि हासिल गरेको छ। जनवरी २०२५ मा मारुती डिजायर १५ हजार ३८३ युनिट बिक्री भएको थियो।

त्यस्तै, टाटाकै अर्को चर्चित मोडल टाटा पन्च १९ हजार २५७ युनिट बिक्रिसहित तेस्रो स्थानमा पर्न सफल भएको छ।

सन् २०२५ को जनवरीमा १६ हजार २३१ युनिट बिक्री भएको यो गाडी २०२६ को जनवरीमा १९ प्रतिशतको वृद्धिदर देखिएको हो। शीर्ष तीनमध्ये दुई स्थान टाटा मोटर्सले ओगटेर आफ्नो बलियो उपस्थितिलाई प्रमाणित गरेको हो।

यस महिनाको तथ्याङ्कमा सबैभन्दा बढी वृद्धि महिन्द्रा थार (थार रक्ससहित) मा देखिएको छ। थारले अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतको ऐतिहासिक वृद्धि गर्दै १३ हजार ४१८ युनिट बिक्री गरेको छ। यो वृद्धि दर शीर्ष १५ कारहरूको सूचीमा सबैभन्दा उच्च हो।

त्यसैगरी महिन्द्रा स्कर्पियो (स्कर्पियो एन सहित) ले १ प्रतिशतको सामान्य वृद्धिसहित १५ हजार ५४२ युनिट बिक्री गरी सूचीको नवौँ स्थान ओगटेको छ।

शीर्ष १५ को सूचीमा मारुती सुजुकीका सबैभन्दा बढी ९ वटा मोडलहरू पर्न सफल भएका छन्। जनवरीमा मारुती एर्टिगा १७ हजार ८९२ युनिट, स्विफ्ट १७ हजार ८०६ युनिट, ब्रेजा १७ हजार ४८६ युनिट र नयाँ मारुती भिक्टोरिस १५ हजार २४० युनिट बिक्री भएका छन्। सूचीको अन्तिममा मारुती अल्टो १२ हजार ३१४ युनिट बिक्रीका साथ १५ औँ स्थानमा रहेको छ।

कुन मोडलमा आयो गिरावट?

सन् २०२६ काे जनवरीमा सबै कारहरूको व्यापार सकारात्मक भने देखिएन। हुण्डाई क्रेटाको बिक्रीमा ३ प्रतिशत र मारुती बलेनोमा १६ प्रतिशतको गिरावट आएको छ।

जनवरी २०२६ मा हुण्डाई क्रेटा १७ हजार ९२१ युनिट र मारुती बलेनो १६ हजार ७८२ युनिट बिक्री भएका छन्। यद्यपि, हुण्डाईकै अर्को मोडल भेन्यु (भेन्यु एन लाइनसहित) ले भने १२ प्रतिशतको वृद्धिसहित १२ हजार ४१३ युनिट बिक्री गर्न सफल भएको छ।

सबैभन्दा ठूलो गिरावट मारुती वागन आरमा देखिएको छ, जसको बिक्री ३७ प्रतिशतले घटेर १५ हजार ११८ युनिटमा सीमित भएको छ। त्यस्तै मारुती फ्रोङक्सको बिक्री पनि १२ प्रतिशतले घटेर १३ हजार ३५३ युनिटमा समेटिएको छ।

भारतीय ग्राहकहरू अब साना ह्याचब्याक कारहरूभन्दा एसयूभी र प्रिमियम सेग्मेन्टका गाडीहरूतर्फ बढी आकर्षित भइरहेकाे यस तथ्याङ्कले देखाएकाे छ।


प्रतिक्रिया दिनुहोस्