बैंकिङ प्रणालीबाट ८८ दिनका लागि थप ४० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने भएको छ।
केन्द्रीय बैंकले आज फागुन १३ गते बुधबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनको ब्याजदर बोलकबोलका आधारमा तय हुनेछ भने बैंकहरूले बहुब्याजदरमा पनि बोलकबोल गर्न पाउने सुविधा रहेको छ।
यो निक्षेप संकलन उपकरणको अवधि ८८ दिनको रहनेछ। राष्ट्र बैंकले यसरी संकलन गरेको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ साल जेठ १० गते गर्ने तालिका सार्वजनिक गरेको छ।
पछिल्लो समय बैंकहरूमा निक्षेप थुप्रिने तर कर्जाको माग तुलनात्मक रूपमा न्यून रहने अवस्था आएपछि तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।














