ईभी गाडी आयातमा चीनको वर्चस्व, ७ महिनामा भारतबाट २ हजार आउँदा चीनबाट १५ हजार भित्रिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयातमा चीनको स्पष्ट वर्चस्व देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्यांक अनुसार छिमेकी मुलुक चीनबाट आयात हुने ईभी गाडीको संख्या र मूल्य अन्य मुलुकको तुलनामा निकै उच्च रहेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकमा माघमसान्तसम्ममा भारतबाट २ हजार २१८ वटा मात्र ईभी गाडी भित्रिन्दा चीनबाट भने १४ हजार ४७५ वटा भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार ५१ देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यानहरूको आयातमा चीन सबैभन्दा अगाडि छ । यस अवधिमा उक्त क्षमताका कुल ३ हजार ४०२ थान गाडी आयात भएकोमा चीनबाट मात्रै २ हजार ५०२ थान भित्रिएका छन् ।
यसैगरी, १०० देखि २०० किलोवाट क्षमताका कुल ४९३ थान गाडीमध्ये ४४२ थान चीनबाटै आयात भएका छन् ।

तीन पाङ्ग्रे सवारी साधनको क्षेत्रमा पनि चीनको एकलौटी जस्तै देखिन्छ । तथ्यांक अनुसार ६ हजार ०४२ थान इलेक्ट्रिक तीन पाङ्ग्रे पार्टपुर्जा र ४ हजार २३३ थान तीन पाङ्ग्रे सवारी चीनबाट आयात भएका छन् । यसको तुलनामा भारतबाट जम्मा ८३६ थान तीन पाङ्ग्रे सवारी र ११७ थान पार्टपुर्जा मात्र भित्रिएका छन् ।
क्षमता अनुसारको आयात अवस्था सात महिनाको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारी साधनहरूको आयात उत्साहजनक देखिएको छ । ५० किलोवाट सम्मका कुल १ हजार ९९२ थान कार, जीप र भ्यान आयात भएका छन् । जसमध्ये चीनबाट १ हजार २५६ थान र भारतबाट ७३६ थान रहेको विभागको तथ्यांकमा देखिएको छ ।
५१ देखि १०० किलोवाट श्रेणी नेपाली बजारमा सबैभन्दा बढी लोकप्रिय देखिएको छ । जहाँ ३ हजार ४०२ थान गाडी भित्रिएका छन् । यसमा चीनको २ हजार ५०२ थान पछि भारतबाट ४९८ र थाइल्याण्डबाट ४०१ थान आयात भएको तथ्यांमा देखिएको छ ।
१०१ देखि २०० किलोवाट क्षमताका कुल ४९३ थान गाडी आयात भएका छन् । यस श्रेणीमा चीन बाहेक जर्मनीबाट १०, भारतबाट २९, कोरियाबाट २ र अमेरिकाबाट १० थान गाडी भित्रिएको विभागको तथ्यांमा उल्लेख छ ।
२०१ देखि ३०० किलोवाटको उच्च क्षमताको श्रेणीमा भने जम्मा ७ थान गाडी आयात भएका छन् । जसमा अस्ट्रियाबाट १ थान र बाँकी अन्य स्रोतबाट रहेका छन् ।

विद्युतीय सवारीको आयातबाट सरकारले ठूलो मात्रामा राजस्व समेत संकलन गरेको छ । ५१ देखि १०० किलोवाट क्षमताका गाडीको आयात मूल्य ८ अर्ब ७६ करोड ४१ लाख ७२ हजार रुपैयाँ रहेको छ । जसबाट ५ अर्ब ५७ करोड ३७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, ५० किलोवाट सम्मका गाडीको आयात मूल्य ३ अर्ब ५० करोड १३ लाख १३ हजार रुपैयाँ रहेको छ भने १०१ देखि २०० किलोवाट क्षमताका गाडीको आयात मूल्य १ अर्ब ५३ करोड ५२ लाख ५५ हजार रुपैयाँ रहेको देखिन्छ ।
तथ्यांकले के स्पष्ट पार्छ भने नेपालको विद्युतीय सवारी साधनको बजारमा चिनियाँ ब्रान्डहरूले आफ्नो पकड निकै मजवुत बनाएका छन् । खासगरी साना कारदेखि मध्यम क्षमताका पारिवारिक गाडी र तीन पाङ्ग्रे सवारीमा चीनको विकल्प अन्य मुलुकहरू हुन सकेका छैनन् ।
भारतले केही हदसम्म प्रतिस्पर्धा गर्न खोजे पनि संख्यात्मक रूपमा चीन निकै अगाडि देखिएको छ । थाइल्याण्ड, जर्मनी, अमेरिका र कोरिया जस्ता मुलुकबाट हुने आयात भने निकै कम र सीमित संख्यामा मात्रै रहेको भन्सार विभागको तथ्यांकले पुष्टि गर्दछ ।













