महायुद्धको संकेत: खामेनीको मृत्यु र इरानको भीषण प्रत्याक्रमण
- खामेनीको मृत्युपछि राष्ट्रपति पेजेस्कियानको नेतृत्वमा तीन सदस्यीय अस्थायी काउन्सिल गठन।
- रिभोलुसनरी गार्ड्सद्वारा मध्यपूर्वका २७ अमेरिकी सैन्य अखडा र इजरायली सहरहरूमा मिसाइल वर्षा।
- ट्रम्पको बदलिएको रणनीति र इजरायली रक्षा मन्त्रीको खुसीयालीले शान्तिको सम्भावना क्षीण।
काठमाडौँ । पश्चिम एसियाका खाडी देशहरु अहिले एउटा यस्तो मोडमा उभिएका छन्, जहाँबाट फर्कने बाटो सायद अब समाप्त भएको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि यो क्षेत्र पूर्णकालीन युद्धको चपेटामा परेको छ ।
इरानले यसलाई आफ्नो ‘रेड लाइन’ पार गरिएको संज्ञा दिँदै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र इजरायली सहरहरूमा मिसाइलको वर्षा सुरु गरेको छ ।
मध्यपूर्वको आकाश अझै शान्त हुन सकेको छैन । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा मात्रै इरानमाथि १,२०० भन्दा बढी बम र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । अमेरिका र इजरायलको यो संयुक्त सैन्य कारबाहीले इरानका सैन्य अखडा मात्र होइन, नागरिक बस्तीहरूलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
स्कुलमा हमला: दर्जनौँ बालबालिकाको मृत्यु
यस भीषण आक्रमणको सबैभन्दा हृदयविदारक घटना दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा देखिएको छ । इजरायली बमबारीमा एउटा प्राथमिक बालिका विद्यालय ध्वस्त भएको छ, जहाँ कम्तीमा १४८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले यस घटनालाई “दर्जनौँ निर्दोष बालबालिकाको हत्या” भन्दै यसको कडा प्रतिवाद गरिने र यो घटना अनुत्तरित नहुने चेतावनी दिएका छन् ।
इरानभर शोक र आक्रोशको लहर
सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानका विभिन्न सहरहरूमा शोकको वातावरण छ । मध्य इरानको यासुज सहरमा हजारौँ मानिसहरू सडकमा उत्रिएर परम्परागत शैलीमा टाउको र छाती पिट्दै शोक मनाइरहेका छन् ।
लोरेस्तान प्रान्त र अन्य ग्रामीण भेगहरूमा पनि यस्तै दृश्यहरू देखिएका छन्, जहाँ खामेनीको सम्झनामा मानिसहरूले आक्रोश र दुःख व्यक्त गरिरहेका छन् ।
क्षेत्रीय उडानहरू ठप्प र इजरायलमा सायरन
तनावको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानहरूमा पनि परेको छ । कतार एयरवेजले आफ्नो हवाई क्षेत्र बन्द भएकोले सबै उडानहरू स्थगित गरेको जानकारी दिएको छ । कतारी नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको सुनिश्चितता नगरेसम्म उडानहरू सुरु नहुने बताइएको छ ।
यसैबीच, इजरायलभित्र पनि खतराको घण्टी बजिरहेको छ । इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरू पत्ता लागेपछि इजरायलका धेरै क्षेत्रमा ‘एयर रेड’ सायरनहरू बजिरहेका छन् । इजरायली सेनाले आफ्नो रक्षा प्रणाली पूर्ण रूपमा अभेद्य नभएको स्वीकार गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।
इराकद्वारा तीन दिने राष्ट्रिय शोक घोषणा
इरानको छिमेकी राष्ट्र इराकले खामेनीको हत्यालाई “मानवीय र नैतिक मान्यताको उल्लंघन” भन्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । इराकी सरकारका प्रवक्ता बासिम अल-अवादीले खामेनीलाई ‘महान विद्वान र मुजाहिद’ को संज्ञा दिँदै यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको खुल्ला उल्लंघन भएको बताएका छन् ।
यस घोषणाले इराक र इरानबीचको गहिरो धार्मिक र राजनीतिक सम्बन्धलाई पुनः पुष्टि गरेको छ भने मध्यपूर्वमा अमेरिका विरोधी जनलहर अझै बढ्ने संकेत दिएको छ ।
नेतृत्व तहमा ठूलो क्षति र इरानको प्रतिशोध
इरानका लागि यो समय इतिहासकै सबैभन्दा कठिन सावित भएको छ । सर्वोच्च नेता खामेनी मात्र होइन, इरानको सुरक्षा संयन्त्रका मेरुदण्ड मानिने रक्षा मन्त्री अजिज नासिरजादेह, सेना प्रमुख अब्दुल रहिम मुसावी, र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमाण्डर-इन-चिफ मोहम्मद पाकपोरको पनि यसै हमलामा मृत्यु भएको आधिकारिक पुष्टि भएको छ ।
इरानी सञ्चारमाध्यम आईआरएनएका अनुसार यो हमलामा हालसम्म २४ प्रान्तमा कम्तीमा २०१ जनाको ज्यान गइसकेको छ ।
यसको बदलामा इरानी रिभोलुसनरी गार्ड्सले मध्यपूर्वमा रहेका २७ वटा अमेरिकी सैन्य अखडा र इजरायलको तेल अभिभमा भीषण आक्रमण सुरु गरेको छ ।
कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, जोर्डन, साउदी अरब र इराकमा रहेका अमेरिकी सैन्य शिविरहरूलाई लक्षित गरी इरानले छैटौँ चरणको आक्रमण गरिसकेको छ ।
दोहा र दुबई जस्ता सहरहरूमा विष्फोटका आवाजहरू सुनिएका छन् भने जोर्डनको आकाशमा इरानी मिसाइलहरू खसालिएको दाबी गरिएको छ ।
ट्रम्पको चेतावनी र अन्तर्राष्ट्रिय तनाव
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि इरानले कडा प्रहार गरेमा अमेरिकाले “अहिलेसम्म नदेखेको शक्ति” प्रयोग गरेर प्रतिकार गर्ने बताएका छन् ।
रोचक कुरा त के छ भने, केही समयअघि मात्रै अर्काको देशको शासन व्यवस्था बदल्ने नीतिको आलोचना गर्ने ट्रम्प अहिले इरानमा “स्वतन्त्रता” ल्याउने नाममा भीषण सैन्य आक्रमणको नेतृत्व गरिरहेका छन् ।
राजनीतिक विश्लेषकहरू यसलाई ट्रम्पको आफ्नै विचारधारा र चुनावी प्रतिबद्धता विपरितको कदम मान्छन्, जसले अमेरिकालाई भन्दा बढी इजरायललाई फाइदा पुऱ्याउने उनीहरूको तर्क छ ।
इरानमा नयाँ नेतृत्वको तयारी
सर्वोच्च नेताको रिक्ततालाई पूर्ति गर्न इरानको संविधानको धारा १११ बमोजिम एक अन्तरिम काउन्सिल गठन गरिएको छ ।
राष्ट्रपति मसूद पेजेस्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोलाम-होसेन मोहसेनी-एजेई र गार्डियन काउन्सिलका एक धर्मगुरु सम्मिलित यो टोलीले नयाँ सर्वोच्च नेता चयन नभएसम्म देशको बागडोर सम्हाल्नेछ ।
राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले इजरायलले इरानलाई टुक्रा-टुक्रा पार्न खोजेको आरोप लगाउँदै इरानी जनताले यसको उचित मूल्य चुकाउन लगाउने बताएका छन् ।
शोक र आक्रोशको मिश्रण
तेहरान, मशहद र कोम जस्ता सहरहरूमा खामेनीका समर्थकहरू सडकमा उत्रिएर शोक मनाइरहेका छन् । विशेषगरी ऐतिहासिक सहर इसफाहानमा हजारौँको संख्यामा मानिसहरू जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
यद्यपि, इरानी समाजमा एउटा ठूलो तप्का यस्तो पनि छ, जो वर्तमान शासन व्यवस्था र आर्थिक अवस्थाप्रति असन्तुष्ट छ ।
तर, विश्लेषक अब्बास असलानीका अनुसार बाह्य आक्रमणको यो घडीमा धेरै इरानीहरू आफ्नो झण्डामुनि गोलबद्ध हुन खोज्दैछन्, किनभने सिरिया वा अन्य छिमेकी देशको जस्तो अस्थिरता उनीहरू चाहँदैनन् ।
क्षेत्रीय प्रभाव र सुरक्षा सतर्कता
युद्धको रापले छिमेकी देशहरूलाई पनि निकै त्रसित बनाएको छ । जोर्डनस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ ।
धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । कतारको राजधानी दोहाको औद्योगिक क्षेत्रमा इरानी मिसाइल खसाल्दा सानो आगलागी भएको खबर छ, यद्यपि त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन ।
छिमेकी इराकमा पनि यसको असर देखिएको छ, जहाँ मुक्तादा अल-सदरले खामेनीको मृत्युमा दुःख व्यक्त गरेका छन् भने बगदादको ‘ग्रीन जोन’ मा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका विवरणहरू आएका छन् ।
इरानको संसदका सभामुख मोहम्मद बागेर घालिबाफले टेलिभिजनमार्फत सम्बोधन गर्दै इजरायल र अमेरिकालाई “अपराधी” को संज्ञा दिएका छन् र उनीहरूले यस्तो चोट सहनुपर्नेछ कि उनीहरू आफैँले भिख माग्ने स्थिति आउने चेतावनी दिएका छन् ।
मध्यपूर्व अहिले एउटा यस्तो ज्वालामुखीमाथि उभिएको छ, जसको विस्फोटले विश्व राजनीति र अर्थतन्त्रलाई नै अनिश्चिततातर्फ धकेल्ने जोखिम छ ।
-एजेन्सीहरुको सहयोगमा ।















