निर्वाचन र होलीको सार्वजनिक बिदामा पनि बैंक खुल्ने, राष्ट्र बैंकद्वारा विशेष निर्देशन जारी « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

निर्वाचन र होलीको सार्वजनिक बिदामा पनि बैंक खुल्ने, राष्ट्र बैंकद्वारा विशेष निर्देशन जारी



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र फागु पूर्णिमा (होली) को सार्वजनिक बिदाका समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।

निर्वाचन आयोगको अनुरोध र मन्त्रिपरिषद्को निर्णयलाई मध्यनजर गर्दै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले यस्तो सूचना जारी गरेको हो।

राष्ट्र बैंकका अनुसार आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसैगरी, फागुन १८ गते हिमाली तथा पहाडी ५६ जिल्लामा र फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वको बिदा रहेको छ। यी लगातारका बिदाहरूमा वित्तीय सेवा ठप्प हुन नदिन “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।

विशेष गरी सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिलाका कार्यहरू सुचारु राख्नुपर्नेछ। यस्तै, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमेय साधनहरूको दाखिला र भुक्तानी लगायतका सेवाहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।

निर्वाचनको समयमा उम्मेदवारहरूको खर्च व्यवस्थापन र सरकारी राजस्व संकलनमा बाधा नपुगोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो कदम चालेको हो। यससँगै सर्वसाधारण तथा सरोकारवालाले बिदाको समयमा पनि तोकिएका बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्