निर्वाचनको रौनक: भोट हाल्न घर फर्कनेको ओइरो, दैनिक ४० हजारले छाड्दैछन् काठमाडौँ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

निर्वाचनको रौनक: भोट हाल्न घर फर्कनेको ओइरो, दैनिक ४० हजारले छाड्दैछन् काठमाडौँ



काठमाडौँ । आसन्न आमनिर्वाचनमा मतदान गर्न आफ्नो थातथलो फर्कने नेपालीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक ४० देखि ४२ हजार मानिसहरूले राजधानी छोडिरहेका छन्।

निर्वाचनलाई लक्षित गरी सरकारले दिएको सार्वजनिक बिदा र फागु पर्वको संयोगले गर्दा घर फर्कने यात्रुहरूको चाप ह्वात्तै बढेको हो।

सरकारले मतदानको दिन र त्यसको अघि-पछिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ, जसले गर्दा मतदाताहरूलाई आफ्नो निर्वाचन क्षेत्रसम्म पुग्न सहज भएको छ।

१० लाख नजिक पुग्न सक्छ यात्रुको सङ्ख्या

ट्राफिक प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गत दुई सातामा मात्रै साढे सात लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिइसकेका छन्। “फागुनको पहिलो हप्तादेखि नै बाहिरिनेको सङ्ख्या बढ्न थालेको हो,” सुवेदीले जानकारी दिए।

यातायात व्यवसायीहरूका अनुसार बुधवार रातिसम्म यो सङ्ख्या आठदेखि नौ लाखको बीचमा पुग्ने अनुमान छ। राष्ट्रिय यातायात व्यवसायी महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले भने, “हामीले साढे आठ लाखदेखि नौ लाख व्यक्ति बाहिरिने आकलन गरेका छौँ।”

निर्वाचन आयोगको कार्यतालिका अनुसार:

बुधवार राति १२ बजेसम्म: लामो दूरीका सवारीसाधन सञ्चालन हुन पाउने।

बिहीवार: मतदान सम्पन्न नभएसम्म सवारी आवागमनमा रोक।

मतदान समय: बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म।

व्यवस्थापन र सुरक्षा चुनौती

काठमाडौँको नयाँ बसपार्क, कलङ्की, बल्खु र जडिबुटी जस्ता मुख्य नाकाहरूमा यात्रुहरूको निकै भिड देखिएको छ। चाप बढे पनि यातायात व्यवसायीहरूले पर्याप्त सवारीसाधनको व्यवस्था गरिएको दाबी गरेका छन्। बस र मिनी बसका अतिरिक्त निजी सवारीसाधन र मोटरसाइकलमा घर फर्कनेहरूको सङ्ख्या पनि उत्तिकै छ।

यद्यपि, अत्यधिक चापको फाइदा उठाउँदै केही व्यवसायीले बढी भाडा असुल गरेको गुनासो आएको छ। ट्राफिक प्रहरीले यस्ता गुनासोलाई सम्बोधन गर्न नाकाहरूमा विशेष निगरानी बढाइएको बताएको छ।

“यदि कसैले बढी भाडा मागेमा वा अन्य समस्या परेमा १०३ वा १०४ मा तुरुन्त खबर गर्न हामी अनुरोध गर्दछौँ,” प्रहरी उपरीक्षक सुवेदीले स्पष्ट पारे।

सडक सुरक्षामा कडाइ

यात्राको चापसँगै सम्भावित सडक दुर्घटना रोक्न प्रहरीले चालकहरूलाई विशेष निर्देशन दिएको छ। तीव्र गतिमा नचलाउन, ओभरटेक नगर्न र लामो दूरीको यात्रामा अनिवार्य रूपमा दुईजना चालक राख्न सचेत गराइएको छ।

यातायात व्यवसायी सिटौलाले पनि यात्रुहरूलाई आधिकारिक काउन्टरबाट मात्र टिकट खरिद गर्न र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्