७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त राख्न गृहको निर्देशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त राख्न गृहको निर्देशन



काठमाडौँ । गृह मन्त्रालयले भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा र व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ।

बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) सँग गृह मन्त्रालयले ‘भर्चुअल’ बैठक गर्दै अन्तिम तयारीको समीक्षा गरेको हो।

गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा करिब तीन घण्टा चलेको उक्त बैठकमा सबै जिल्लाको सुरक्षा अवस्था र मतदानको तयारीबारे विस्तृत छलफल भएको थियो।

मन्त्रालयका सह-प्रवक्ता रमा आचार्यका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको रिपोर्टिङ गरेका छन्।

बैठकका क्रममा गृह सचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन जिल्ला प्रशासन प्रमुखहरूलाई निर्देशन दिए। छलफलमा निर्वाचनको दिन अपनाउनुपर्ने विशेष सतर्कता, सुरक्षा संवेदनशीलता र केन्द्रसँगको समन्वयका विषयमा समेत ठोस रणनीति तय गरिएको छ।

सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मतदानका लागि आवश्यक कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्रीहरू सम्बन्धित मतदान स्थलसम्म पुगिसकेको जानकारी गराए। यससँगै सरकारले भोलिको मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्