काठमाडाैंबाट सुर्खेतका लागि उडेकाे श्री एयरलाइन्सको जहाजको टायर पड्कियो, सबै यात्रु सकुशल
काठमाडाैं । काठमाडौंबाट सुर्खेत पुगेको श्री एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको छ। बिहीबार दिउँसो १ बजेर ५२ मिनेट जाँदा सुर्खेत विमानस्थलको धावनमार्गमा ओर्लिने क्रममा जहाजको टायर पड्किएको हो।
९एन–एओएल दर्ता नम्बरको उक्त जहाज अवतरण भई पार्किङ क्षेत्रतर्फ मोडिने क्रममा टायर पड्किएको थियो। उक्त समयमा जहाजमा ५० जना यात्रु सवार रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए
गुडिरहेको अवस्थामा टायर पड्किए पनि जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको प्राधिकरणले जनाएको छ। घटनालगत्तै प्राविधिक जाँचका लागि जहाजलाई ‘ग्राउन्डेड’ गरिएको छ।
यस आकस्मिक घटनाका कारण सुर्खेतबाट काठमाडौं फर्कने तालिकामा रहेका उडानहरू रद्द भएका छन्। जहाजको टायर मर्मत र थप सुरक्षा परीक्षणपछि मात्रै पुनः उडान अनुमति दिइने बताइएको छ।













