प्रधानमन्त्री सुशीला कार्कीदेखि बालेन शाहसम्म: ८ हेभीवेट नेताहरू कसले कहाँबाट हाल्दैछन् भोट? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्री सुशीला कार्कीदेखि बालेन शाहसम्म: ८ हेभीवेट नेताहरू कसले कहाँबाट हाल्दैछन् भोट?



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि देशभर सम्पूर्ण तयारी पूरा भएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुँदैछ। यस निर्वाचनमा मुलुकका मुख्य राजनीतिक शक्ति र प्रभावशाली नेताहरूले कहाँबाट मतदान गर्दैछन् भन्ने चासो सर्वत्र देखिएको छ।

प्रधानमन्त्री सुशीला कार्की: प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ। सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय भने निश्चित भइसकेको छैन।

गगनकुमार थापा (सभापति, नेपाली कांग्रेस): नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नेछन्। थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले यसपटक आफैंलाई मत हाल्न पाउने छैनन्।

बालेन्द्र शाह ‘बालेन’ (वरिष्ठ नेता, रास्वपा): भावी प्रधानमन्त्रीको रूपमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्नेछन्। उनी बिहान ७ बजे नै मतदान केन्द्र पुग्ने तयारीमा छन्। झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा रहेका बालेनले पनि आफैंलाई भोट हाल्न पाउने छैनन्।

रवि लामिछाने (सभापति, रास्वपा): रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मताधिकार प्रयोग गर्नेछन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएका लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेकाले उनले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।

कुलमान घिसिङ (अध्यक्ष, उज्यालो नेपाल पार्टी): उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज बिहान ७ बजे बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ।

केपी शर्मा ओली (अध्यक्ष, नेकपा एमाले): नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन्। ओलीले दिउँसो साढे ११ बजे मतदान गर्ने सचिवालयले जनाएको छ। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओलीले पनि आफैंलाई मत हाल्न पाउने छैनन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (संयोजक, नेपाल कम्युनिस्ट पार्टी): नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनस्थित भरतपुर महानगरपालिका-१४ को नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्नेछन्। रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।

माधव कुमार नेपाल (सहसंयोजक, नेकपा): नेकपा सहसंयोजक माधव कुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्