नेकपा संयोजक प्रचण्डले चितवनमा गरे मतदान
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुरबाट प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि मतदान गरेका छन्।
उनले भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
प्रचण्डले यसपटक आफैंलाई भने मत दिन पाएनन्, किनकि उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। यद्यपि, उनले मतदान गरेको क्षेत्र चितवन-३ बाट उनकी छोरी एवं भरतपुरकी पूर्वमेयर रेनु दाहाल चुनावी मैदानमा छिन्। सोही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि मतदान गरेका छन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘नयाँ र पुराना’ राजनीतिक दलको बहसप्रति कडा टिप्पणी गरे। उनले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताउँदै यसलाई ‘सही र गलत’ को कसीमा हेर्नुपर्नेमा जोड दिए।
उनले जनताले विवेक प्रयोग गरेर अग्रगामी शक्तिलाई साथ दिने विश्वास समेत व्यक्त गरे।
















