दोलखाको मालु मतदान स्थलमा मतदान रोकियाे, डाकियाे सर्वदलिय बैंठक
दोलखा । प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान स्थलमा तनाव उत्पन्न भएको छ।
मतदान प्रक्रिया चलिरहेका बेला राजनीतिक दलका कार्यकर्ताबीच विवाद बढेर स्थिति नियन्त्रण बाहिर जान खोजेपछि मतदान कार्य पूर्ण रूपमा रोकिएको हो।
प्रत्यक्षदर्शीका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि नै केही व्यक्तिले हातपात गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए। प्रहरीले हवाई फायर गरेपछि आक्रोशित भीडले नाराबाजी सुरु गरेको थियो, जसका कारण मतदान स्थलमा केही समय भागदौड र तनावको स्थिति सिर्जना भएको थियो।
घटनालगत्तै निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक आह्वान गरेको छ। अहिले राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कर्मचारीबीच मतदान पुनः सुचारु गर्ने विषयमा छलफल भइरहेको छ। सुरक्षा व्यवस्थालाई थप कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।













