‘बदलिएको’ कांग्रेसको सर्मनाक हार
देशभरबाट कांग्रेसमा भोट हाल्न चाहने नागरिकले पनि उनीहरुको ‘भावि प्रधानमन्त्री’को अनुहार देख्न पाएनन् । त्यसैले जनताले केपी ओलीजस्तै गगन थापालाई पनि ‘भावी प्रधानमन्त्री’का रुपमा ‘स्पष्ट अस्वीकार’ गरिदिए ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ‘साङ्घातिक’ हमलामा परेका पार्टी सभापतिको प्रतिरक्षामा उत्रन त टाढाको कुरा, उनको रक्षार्थमा ‘दुई शब्द’ खर्चन समेत नसकेको कांग्रेसले
त्यसको ६ महिनापछि संसदीय चुनावमा जाँदा ‘बदलिएको’ घोषणा गरेको थियो ।
‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नारा बोकेर चुनावमा होमिएको देशकै सबैभन्दा पुरानो र शक्तिशाली प्रजातान्त्रिक शक्ति अहिले सर्मनाक हारको प्रतीक बन्दै छ । विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो दल अहिले पनि ‘दोस्रो’ स्थानमा त आउँदै छ, तर ‘भारेभुरे’ बनेर ।
आइतबार विहान कांग्रेस सभापति गगन थापाको हार औपचारिक रुपमा ‘दर्ज’ भएसँगै यो दलका सबै पदाधिकारीले संसद यात्रा गुमाएका छन् । कुनै बेला कांग्रेसले ‘निकालेका’ अमरेशकुमार सिंहसँग सभापति थापा करीब १३ हजारको फराकिलो मतान्तरले पराजित भए । सिंहले ३५,६८८ मत ल्याउँदा थापाले २२,८३१ भोट पाए ।
तत्कालिन पार्टी सभापति शेरबहादुर देउवाको ‘अनुहार देखाएर’ भोट माग्न जानै नसक्ने भनेका थापाले हतार हतार चुनावको मुखमा विशेष महाधिवेश गराए । विगतको नेतृत्वमाथि जनताको वितृष्णलाई राम्रोसँग बुझेर पार्टी बैठकहरुमा पढाइरहेका उनले यस पल्ट जनतामा जागेको वितृष्णाको लहर पढ्न सकेनन् । बरु यो मौकालाई ‘पार्टी कब्जा’ गर्ने अवसरका रुपमा उपयोग गरेको भनेर देउवा खेमाका केही नेताले आरोप लगाए ।
देउवाको ‘बूढो’ अनुहार देखाएर भोट आउँदैन भन्दै आफूहरुको ‘सुन्दर चेहरा’ लिएर मैदानमा होमिएको नयाँ नेतृत्व चुनावी नतिजा हासिल गर्नमा पूर्णत: असफल हुन पुग्यो । भलै, कांग्रेसले यस पल्ट २८ सीटभन्दा बढी (समानुपातिक सहित) जित्ने सुनिश्चित छ । त्यसैले प्रतिपक्षको बेञ्च त खुल्ला छ, तर चुनावमा ‘दोस्रो’ भएर पनि ‘प्रमुख प्रतिपक्ष’ रहिरहन पाउँछ की पाउँदैन भन्ने अहिले नै सुनिश्चित छैन ।
नयाँ लहर लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशी मूलका बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा अघि सारेपछि काठमाडौँकै स्थायी वतन भएका गगन थापा पनि मधेशकै ‘कोर एरिया’मा चुनाव भिड्न गए । मधेश राजनीतिलाई प्रभावित पार्ने उनको यो प्रयास त्यतिबेलै विफल भइसकेको थियो, जतिबेला तराईवासीले भनिदिए– ‘सक्छौ भने मधेशको छोरालाई प्रधानमन्त्री बनाऊ, होइन भने मधेशको भोटमाथि राज गर्न नआऊ ।’
पहाड र हिमाली जिल्लाका कयौँ त्यस्ता निर्वाचन क्षेत्रहरु थिए, जहाँ गगनले उमेदवारी दिएको भए जित्न सक्थे । तर उनी ‘बदलिएको कांग्रेस’को लहर आउने आशामा दिग्भ्रमित भए । यो ‘मौसम’मा तराई झर्ने उनको निर्णय नै ‘रणनीतिक गल्ति’ थियो ।
चुनावमा मुखमा हतारिएर पार्टी आफ्नो हातमा लिन सफल भएका गगनले आफैँलाई ‘भावी प्रधानमन्त्रीको उमेदवार’ त घोषणा गरे । तर आफूले प्रतिस्पर्धाका लागि रोजेको निर्वाचन क्षेत्र सोचेझैँ सजिलो नपाएपछि उनी बाहिर निस्कनै पाएनन् । ‘सबै उमेदवार र कार्यकर्ताले आफ्नो–आफ्नो क्षेत्रमा बसेर काम गर्ने’ निर्देशन जारी गरिदिए । फलस्वरुप काठमाडौँको भृकुटीमण्डपमा भेला गरेर नेतृत्व फेरेको कांग्रेसले बागबजारमा पनि त्यो सन्देश पुर्याउन सकेन ।
देशभरबाट कांग्रेसमा भोट हाल्न चाहने नागरिकले पनि उनीहरुको ‘भावि प्रधानमन्त्री’को अनुहार देख्न पाएनन् । एमाले र नेकपाले पनि आफ्ना आफ्ना अध्यक्ष तथा संयोजकलाई प्रधानमन्त्रीको उमेदवारका रुपमा अघि सारेका थिए, तर उनीहरु पनि आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर गएनन् । देश डुले त केवल बालेन । उनी धेरै बोलेनन् । र्यालीहरुमा भाग लिए, जनतालाई ‘आई लभ यू’ भन्दै हिँडे र घण्टी बजाउँदै कुदे ।
त्यसैले जनताले केपी ओलीजस्तै गगन थापालाई पनि ‘भावी प्रधानमन्त्री’का रुपमा ‘स्पष्ट अस्वीकार’ गरिदिए ।
यो चुनावले थापा आफूमात्रै हारेनन्, उनले कांग्रेसभित्र क्रान्ति गरेर ल्याएका नयाँ पदाधिकारीहरुले पनि उस्तै लज्जास्पद हार व्यहोर्नु पर्यो । सायद यही हारको सुइँको पाएर दुई जना उपसभापतिहरु विश्वप्रकाश शर्मा भण्डारी र पुष्पा भुसालले उमेदवारी नै दिएनन् । तर दुई महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे ज्यादै फराकिलो मतान्तरले पराजित भए ।
काठमाडौँ ५ मा उमेदवार बनेका पौडेलले ९,१५९ मत पाउँदा रास्वपाका सस्मित पोखरेलले तीन गुणाभन्दा ज्यादा अर्थात् ३०,७३७ मत सहित विजयी भए । अर्का महामन्त्री घिमिरेले १२,८१८ मत पाउँदा उनको पनि ३ गुणाभन्दा धेरै अर्थात् ४०,८३३ मतसहित रास्वपाका सन्तोष राजवंशीले हराइदिए ।
पार्टीका सहमहामन्त्रीहरु प्रकाश रसाइली, उदयशम्शेर राणा, फरमुल्लाह मन्सुर र कर्णबहादुर बूढा पनि उसैगरी पराजित भए । बझाङबाट उमेदवार बनेका रसाइलीलाई एमालेका ऐन महरले हराइदिए । ललितपुर १ बाट उमेदवार रहेका राणा पनि रास्वपाकै बुद्धरत्न महर्जनसँग पराजित भए । बारा ३ बाट उमेदवार बनेका मन्सुरभन्दा चार गुणा बढी मत ल्याएर रास्वपाका अरविन्द शाह विजयी भए ।
डोल्पाबाट उमेदवार बनेका कर्णबहादुर बुढा त ‘तेस्रो’ भएका छन् । उनले त्यहाँ २,९४७ त पाए । उनी त्यहाँ प्रतिस्पर्धामै रहन सकेनन् । करीब ५४ सय भोट ल्याएर एमालेका लंकबहादुर रोकाया दोस्रो भए भने नेकपाका धनबहादुर बुढा ६,८०२ मत सहित निर्वाचित भए । अर्का सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजयको प्रतिक्षामा छन् । उनले दाङ क्षेत्र नं. १ मा १५ हजार मत ल्याउँदा रास्वपाका देवराज पाठकले ४२ हजार ६ सय मत नघाइसकेका छन् ।
बाँकी सहमहामन्त्रीहरु बहादुर सिंह लामा, डिला संग्रौला र मुक्तकुमारी यादव चुनावी प्रतिस्पर्धामै रहेनन् । यसरी कांग्रेसका कोही पनि पदाधिकारी अब यो पार्टीको संसदीय दलमा सहभागी हुने छैनन् । आइतबार विहान साढे १० बजेसम्म निर्वाचन आयोगले घोषणा गरेको मत परिणाम अनुसार कुल १६५ मध्ये १३२ क्षेत्रमा विजेता घोषणा भइसकेको छ । त्यसमध्ये १०४ जना त रास्वपाका उमेदवार छन् ।
कांग्रेसले केवल १४ सीटमा जीत हात पारेको छ । एमालेले ७, नेकपाले ४ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले १–१ सीटमा जीत निकालेका छन् । रास्वपा समर्थित पूर्व शिक्षामन्त्री महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उमेदवारी दिएर जितेका छन् । कुल १६४ निर्वाचन क्षेत्रको मत गणना हुँदै गर्दा परिणाम घोषा हुन बाँकी ३२ सीटमध्ये पनि २१ सीटमा रास्वपाकै अग्रता देखिएको छ । कांग्रेस, एमाले र नेकपाले ३–३ सीटमा अग्रता लिएका छन् भने श्रम संस्कृति पार्टीले २ सीटमा अग्रता हासिल गरेको छ ।
यसरी हेर्दा देशमा कम्युनिष्ट शक्तिहरु ‘सकिएको’ चर्चा चुलिएको छ । तर एमाले र नेकपाले मिलेर १७ सीटमा जित्ने संभावना यतिखेर छ, त्यो भनेको कांग्रेसको संभावित सीटको बराबरी हो । श्रम संस्कृतिको विचारधारा नखुले पनि उसको कार्यशैली वामपन्थी धारमै देखिएको छ । अझ, समानुपातिक तर्फको मत हेर्दा एमाले र नेकपाले संयुक्त रुपमा कांग्रेसभन्दा बढी मत हासिल गरिरहेका छन् ।
कुल २७ लाख ६१ हजार मत गन्दा १३ लाख ८८ हजार मत रास्वपालेमात्रै पाएको छ । कांग्रेसले ४ लाख ७१ हजार पाएको छ । जबकी एमालेको ३ लाख ८१ हजार र नेकपाको १ लाख ८३ हजार जोड्दा ५ लाख ६४ हजार पुग्छ । यही हिसाबमा अघि बढ्ने हो भने आगामी संसदमा एमाले र नेकपा मिलेको खण्डमा कांग्रेसभन्दा ठूलो पार्टी बन्ने देखिन्छ । त्यो बेला सायद प्रमुख प्रतिपक्षी दलको नेता कांग्रेसको कुनै सांसद नबनेर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै बन्नसक्ने संभावना टुङ्गिएको छैन ।
अब कांग्रेससँग आफ्नो संवैधानिक प्रतिनिधित्वका लागी एकमात्र मौका छ, उपसभामुख । सभामुख र उपसभामुख भिन्न दल र भिन्न लिंगको सांसद हुनु पर्ने व्यवस्थाले यो मौका कायम छ । तर त्यो पनि प्रचण्डले ‘फुत्काइदिने’ जोखिम कायमै छ ।
यदी उपसभामुख र संसदीय दलको नेता आफूले दिन नसकेमा कांग्रेसको हबिगत आगामी ५ वर्षका लागि तराईका क्षेत्रीय दलहरुभन्दा ज्यादा भिन्न हुने छैन, जसले यो चुनावमा आफ्नो पुरापुर अस्तित्व गुमाइसकेका छन् ।













