बालेनले बुझाए चुनावमा १४ लाख खर्च भएको विवरण, कुन शीर्षकमा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बालेनले बुझाए चुनावमा १४ लाख खर्च भएको विवरण, कुन शीर्षकमा कति ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले हराएर जिजयी भएकाले बालेनले आज निर्वाचन आयोगलाई आफ्नो खर्च विवरण पेस गरेका हुन् ।

निर्वाचन सम्पन्न भएको केही दिनभित्रै पारदर्शिताको नमूना प्रस्तुत गर्दै शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालय, झापामा खर्च विवरण बुझाएका हुन् । सार्वजनिक गरिएको विवरण अनुसार बालेनले चुनावी अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।

विवरण अनुसार सबैभन्दा बढी खर्च वडा स्तरीय प्रचार कार्यक्रम र सवारी साधन व्यवस्थापनमा भएको देखिन्छ ।

सवारी साधन भाडामा २ वटा सवारीको १५ दिनका लागि (इन्धनसहित) रु. २ लाख ९३ हजार ८०० रुपैयाँ हरेको छ । वडा स्तरीय प्रचार कार्यक्रममा २९ वटा वडामा १५ दिने घरदैलो कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रचार सामग्री (ब्यानर, स्टिकर, झण्डा, ब्याज)मा २ लाख ७४ हजार ६१३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । कार्यालय सञ्चालनमा झापा ५ क्षेत्रीय निर्वाचन कार्यालय २ महिना सञ्चालन (पानी र स्टेसनरी खर्च) गरेर १ लाख ४२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा छ ।

त्यस्तै, हवाई भाडामा ५ पटकको यात्राका लागि ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षणमा १५ जनाका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ र नमूना मतपत्र छपाईमा ४२ हजार ८६ र मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ खर्च भएको बालेनले विवरण बुझाएका छन् ।

बालेनले गत फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै बालेनले ऐतिहासिक जित दर्ता गरेका थिए । निर्वाचन आयोगका अनुसार बालेनले ६८,३४८ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्