ऊर्जा संकटसँग जुध्न युरोपलाई तेल र ग्यास आपूर्ति गर्ने पुटिनको प्रस्ताव
काठमाडौं । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ११४ डलर नाघेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई पुनः तेल र ग्यास आपूर्ति गर्न सकिने प्रस्ताव अघि सारेका छन्।
अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने ढुवानी ठप्प भएपछि विश्वभर ऊर्जा संकट चुलिएको बेला पुटिनले यस्तो प्रस्ताव गरेका हुन्।
सोमबार सरकारी अधिकारीहरू र रुसका प्रमुख तेल तथा ग्यास उत्पादकहरूसँगको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली ग्राहकहरूले चाहेमा दीर्घकालीन सहकार्यका लागि मस्को तयार रहेको बताए। उनले भने, “यदि युरोपेली कम्पनी र क्रेताहरूले राजनीतिक दबाबमुक्त भई दीर्घकालीन र दिगो सहकार्य गर्न चाहेमा हामीले कहिल्यै इन्कार गरेका छैनौँ।”
रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रुसी ऊर्जामाथिको निर्भरता उल्लेख्य रूपमा घटाएको थियो।
तेलको मूल्यमा कीर्तिमानी उछाल
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यले नयाँ उचाइ लिएको छ। आइतबार ब्रेन्ट क्रुडको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११९ डलरसम्म पुगेको थियो।
विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को करिब पाँचौँ हिस्सा ओगट्ने हर्मुज जलमार्ग इरानले बन्द गरिदिएपछि आपूर्तिमा ठूलो अवरोध आउने डरले बजार आतंकित बनेको हो।
राष्ट्रपति पुटिनले आफ्ना कम्पनीहरूलाई मध्यपूर्वको यो संकटबाट फाइदा लिन निर्देशन समेत दिएका छन्।
युरोपको बदलिँदो अवस्था र प्रतिबन्धहरू
युक्रेन युद्ध अघि युरोपले आफ्नो कुल ग्यास आवश्यकताको ४० प्रतिशतभन्दा बढी रुसबाट खरिद गर्ने गर्दथ्यो। तर, सन् २०२५ सम्म आइपुग्दा यो हिस्सा १३ प्रतिशतमा खुम्चिएको छ।
सन् २०२२ मा ईयूले समुद्री मार्गबाट हुने रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाएको थियो भने युक्रेन हुँदै जाने ड्रुज्बा पाइपलाइनमा क्षति पुगेपछि हंगेरी र स्लोभाकियातर्फको आपूर्ति पनि गत जनवरीदेखि ठप्प छ।
युरोपेली बजार गुमेपछि रुसले हाल एसियाली मुलुकहरूलाई भारी छुटमा तेल र ग्यास बिक्री गर्दै आएको छ।
बढ्दो मूल्यको प्रतिकार गर्न हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपेली संघलाई रुसी तेल र ग्यासमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्।
यता जी–७ राष्ट्रहरूले तेलको मूल्य वृद्धिको सामना गर्न आवश्यक कदम चाल्ने बताएका छन्, तर आपतकालीन भण्डार खोल्ने विषयमा भने हालसम्म कुनै ठोस प्रतिबद्धता जनाएका छैनन्।
पुटिनले भने युरोपले पूर्ण प्रतिबन्ध लगाउनुअघि नै रुसी ग्यासको प्रवाह अन्यत्र मोड्ने विषयमा पनि विचार गरिरहेको बताएका छन्।













