कर्मचारी सञ्चय कोषद्वारा ६ महिनामा २६ करोड बढी सामाजिक सुरक्षा सहायता वितरण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्मचारी सञ्चय कोषद्वारा ६ महिनामा २६ करोड बढी सामाजिक सुरक्षा सहायता वितरण



काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा आफ्ना सञ्चयकर्ता र उनीहरूका हकवालालाई २६ करोड २४ लाख ७५ हजार रुपैयाँ सामाजिक सुरक्षा सहायतास्वरुप वितरण गरेको छ।

कोषका अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा कुल १२ हजार ४३१ जना सञ्चयकर्ता तथा तिनका परिवारले यो सुविधा प्राप्त गरेका हुन्।

स्वास्थ्योपचार सुविधाअन्तर्गत कोषले ठूलो रकम खर्च गरेको छ। जसमध्ये ‘घातक रोग’को उपचारका लागि ६८७ जना सञ्चयकर्तालाई ९ करोड १४ लाख ४९ हजार रुपैयाँ उपलब्ध गराइएको छ भने ‘साधारण रोग’तर्फ २ हजार २३९ जना सञ्चयकर्तालाई ७ करोड ७० लाख ६६ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

यसैगरी, सुत्केरी तथा शिशु स्याहार सुविधातर्फ सबैभन्दा धेरै लाभग्राही समेटिएका छन्। कोषले ९ हजार १४० जना सञ्चयकर्तालाई ६ करोड ८५ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ। साथै, सञ्चयकर्ताको मृत्यु भएमा प्रदान गरिने काजकिरिया अनुदानअन्तर्गत २८४ आश्रित परिवारलाई १ करोड १३ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको छ।

कोषले दुर्घटनामा परी ज्यान गुमाएका ३८ जना सञ्चयकर्ताका हकवालालाई ७६ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। यसका अतिरिक्त, सेवाकालमै मृत्यु भएका ४३ जना निजामती कर्मचारीका परिवारलाई नेपाल सरकारबाट शोधभर्ना हुने गरी ६४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्