सम्बन्धको नयाँ क्षितिज पहिल्याउँदै दिल्ली, बालेन र रविसँग मोदीको वार्ताबारे ‘साउथ ब्लक’ले के भन्यो ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका वैकल्पिक राजनीतिक शक्तिहरूसँग सिधै संवाद गर्दै दुई देशबीचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकेत गरेका छन् । छिमेकी प्राथमिकताको नीति अनुरूप भारतले नेपालको नयाँ राजनीतिक नेतृत्वसँग सहकार्यका लागि दृढ इच्छाशक्ति देखाएको छ ।
काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत शक्तिभन्दा बाहिरबाट उदाएका दुई प्रभावशाली व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उक्त दलका बरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष संवाद गरेका छन् ।
छिमेकी राष्ट्रका कार्यकारी प्रमुख र नेपालका नयाँ पुस्ताका नेताहरूबीच भएको यस टेलिफोन वार्तालाई दक्षिण एसियाली राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा त्यहाँका प्रवक्ता रणधीर जैसवालले यस संवादबारे विस्तृत जानकारी दिए ।
उनले नेपाल र भारतबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा यो साझेदारी अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालमा भर्खरै सम्पन्न निर्वाचन र त्यसपछिको राजनीतिक परिवर्तनलाई भारतले नजिकबाट नियालिरहेको सन्देश उनले प्रवाह गरे ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले नेपाली नेताहरूसँगको कुराकानीमा पारस्परिक हित र विकासका एजेन्डामा जोड दिएका छन् ।
प्रवक्ता जैसवालले भने, ‘प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ ।’
नेपालमा लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको विषयलाई भारतले सकारात्मक कदमका रूपमा लिएको छ । नयाँ दिल्लीले नेपालको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै स्थिर र समृद्ध छिमेकीको चाहना राखेको जैसवालको भनाइबाट प्रष्ट हुन्छ ।
उनले अगाडि थपे, ‘नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएपछि, हामीले यस निर्वाचनको परिणामलाई स्वागत गरेका छौं । प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शानैति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ ।’
भारतीय संस्थापन पक्षले नेपालसँगको पुरानो रोटी-बेटीको सम्बन्धलाई आधुनिक विकासको साझेदारीमा बदल्न चाहेको देखिन्छ ।
विशेषगरी युवा पुस्तामा लोकप्रिय रहेका लामिछाने र शाहसँगको यो संवादले भारत अब नेपालका नयाँ र ऊर्जावान् शक्तिहरूसँग पनि उत्तिकै सहजताका साथ काम गर्न तयार छ भन्ने कूटनीतिक संकेत दिएको छ । आगामी दिनमा यो सम्बन्धले कुन दिशा लिन्छ भन्ने कुरा दुवै पक्षको आपसी समझदारी र सहकार्यमा निर्भर रहने देखिन्छ ।















