भोलिदेखि आधा सिलिण्डर ग्यास मात्र पाइने: निगमले तोक्यो ९५५ रुपैयाँ मूल्य
काठमाडौं । नेपाल आयल निगमले भोलि (फागुन २९ गते) देखि लागू हुने गरी उपभोक्तालाई आधा सिलिण्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेपछि निगमले यो कदम चालेको हो।
हालको असहज परिस्थितिलाई दृष्टिगत गरी आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले प्रति सिलिण्डर ७.१ केजी मात्र ग्यास भर्ने निर्णय गरेको छ। आधा भरिएको यो सिलिण्डरको मूल्य प्रति सिलिण्डर ९५५ रुपैयाँ तोकिएको छ। अर्को निर्णय नभएसम्मका लागि यही व्यवस्था लागू रहने निगमले प्रष्ट पारेको छ।
विगत २–३ महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अत्यधिक बढेको निगमले जनाएको छ। भारतमा समेत ग्यास अभाव भएको खबर सार्वजनिक भएपछि नेपालमा उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्न थालेकाले बजारमा अभाव देखिएको विज्ञप्तिमा उल्लेख छ।
आपूर्ति सहज बनाउन र सबैको भान्सामा ग्यास पुर्याउनका लागि यो निर्णय गरिएको भन्दै निगमले आम उपभोक्तालाई आधा सिलिण्डर ग्यास मात्र खरिद गरी सहयोग गर्न अनुरोध गरेको छ।














