प्रविधि कसरी बन्दै छ युद्धको हतियार र निशाना ? ‘डिजिटल कुरुक्षेत्र’मा बदलिँदै इरान युद्ध
एआई र क्लाउड प्रविधिले विपक्षी सेनालाई सहयोग पुर्याएको आरोप लगाउँदै इरानद्वारा गुगल र अमेजनका डाटा सेन्टरमा ड्रोन आक्रमण। खाडी क्षेत्रका दर्जनौं डाटासेन्टर निशानामा । ती पूर्वाधारको ‘नजिकै नजान’ इरानले दियो चेतावनी ।
काठमाडौँ । आधुनिक युद्धको स्वरूप कति भयानक र अनपेक्षित हुन सक्छ भन्ने उदाहरण पछिल्ला दिनमा पश्चिम एसिया (यसलाई युरोप र अमेरिकाले मध्येपूर्व भनेर संवोधन गर्छन्)को आकाशमा देखिएको छ।
हिजोका युद्धहरू जमिन कब्जा गर्न वा तेलका कुवाहरू नियन्त्रणमा लिन लडिन्थे । तर आजको युद्ध सफ्टवेयरका कोड र विशाल डाटा सर्भरहरूलाई ध्वस्त पार्नतर्फ केन्द्रित भएको छ।
इरान र अमेरिकाबीचको बढ्दो सैन्य तथा आर्थिक तनावले एउटा यस्तो नयाँ मोड लिएको छ, जहाँ सिलिकन भ्यालीका प्रविधि दिग्गजहरू सिधै रणमैदानको निशानामा परेका छन्। यो केवल दुई देशबीचको संघर्ष मात्र होइन, बरु प्रविधि कसरी आधुनिक युद्धको सबैभन्दा ठूलो सहयोगी र त्यति नै जोखिमपूर्ण लक्ष्य बन्न सक्छ भन्ने ज्वलन्त ऐना पनि हो।
फागुन १७ को झिसमिसे बिहानीमै दुबई र अबुधाबीका बासिन्दाहरू ब्युँझँदा एउटा अकल्पनीय डिजिटल सन्नाटा छायो। मानिसहरूका मोबाइलमा न ट्याक्सी बुक भइरहेको थियो, न त अनलाइनबाट खाजा अर्डर गर्न सम्भव थियो। बैंकका एपहरू चल्न छाडेका थिए र सहरको डिजिटल जीवन रेखा नै काटिएझैं भयो।
गार्जियनको रिपोर्ट अनुसार बिहान साढे ४ बजे इरानको एउटा आत्मघाती ‘शाहिद’ ड्रोन युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको अमेजन वेब सर्भिसेजको ठूलो डाटा सेन्टरमा बज्रियो। आगलागी निभाउन प्रयोग गरिएको पानीले मेसिनका बाँकी पाटपूर्जा पनि काम नलाग्ने बनाइदियो।
त्यसको केही समयमै बहराइनमा पनि अमेजनकै अर्को केन्द्रमा यस्तै विस्फोट भयो। इतिहासमा पहिलोपटक कुनै राष्ट्रको सेनाले जानीबुझानी व्यावसायिक डाटा सेन्टरलाई सैन्य निशाना बनाएको यो नै पहिलो घटना थियो।
टार्गेट टेक्नोलोजी
इरानको आधिकारिक न्युज एजेन्सी ‘तसनीम’ का अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले एउटा यस्तो ‘हिट लिस्ट’ जारी गरेको छ, जसले विश्वका ठूला प्रविधि कम्पनीहरूको निन्द्रा उडाइदिएको छ।
गुगल, माइक्रोसफ्ट, आइबीएम, एनभिडिया, ओरेकल र अमेजन जस्ता कम्पनीहरू अब इरानका लागि व्यापारिक संस्था मात्र रहेनन्, बरु शत्रु सेनाका सारथि बनेका छन्। इरानको दाबी छ- ‘यी कम्पनीहरूले प्रदान गर्ने क्लाउड इन्फ्रास्ट्रक्चर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाहरू अमेरिकी र इजरायली सेनाले युद्धको रणनीति बनाउन र इरानमाथि निगरानी गर्न प्रयोग गरिरहेका छन्।’
प्राचीन समयमा शत्रुलाई कमजोर पार्न कुवामा विष मिसाइन्थ्यो, पछि रिफाइनरीहरू उडाइयो, र अब यो सिलसिला डाटा सेन्टरसम्म आइपुगेको छ। अचेल ‘डाटा नयाँ तेल हो’ भनिन्छ र इरानले तिनै डाटाका रिफाइनरीहरू अर्थात् डाटा सेन्टरहरूमा बम बर्साउन सुरु गरेको छ।
निशानामा अमेजन
खाडी क्षेत्रमा अमेरिकी कम्पनीहरूका करिब २३० वटा डाटा सेन्टरहरू छन्, तर इरानले तीमध्ये विशेष गरी अमेजनका केन्द्रहरूलाई मात्र किन छान्यो भन्ने कुरा झनै रोचक छ। सैन्य रणनीतिकारहरूका अनुसार अमेरिकी सेनाले इरानमाथि आक्रमणको योजना बनाउन ‘एन्थ्रोपिक’ नामक कम्पनीको एआई प्रयोग गरेको थियो, जसमा अमेजनको ठूलो लगानी छ।
यसरी हेर्दा, जब कुनै एआईले सैन्य हमलाको बाटो देखाउँछ, तब त्यो एआई चलाउने सर्भर पनि इरानको नजरमा युद्धको वैध निशाना बन्न पुग्छ। यसले प्रविधि क्षेत्रमा काम गर्ने आम मानिसलाई पनि जोखिममा पारेको छ। इरानले स्पष्ट चेतावनी दिएको छ- ‘यस्ता केन्द्रहरूबाट कम्तीमा एक किलोमिटर टाढा बस्नु, किनभने अब ती क्षेत्रमा चुनि-चुनि हमलाहरू हुनेछन्।’
‘मोजेक डिफेन्स’
युद्धको यो भुमरीमा इरानले आफ्नो रक्षाका लागि एउटा नयाँ र अनौठो रणनीति अपनाएको छ, जसलाई ‘मोजेक डिफेन्स’ भनिएको छ। अमेरिका र इजरायलले ‘स्ट्राटेजिक डिक्यापिटेसन’ अर्थात् सर्पको टाउको कुल्चिएपछि शरीर आफैं मर्दछ भन्ने सोचका साथ इरानी नेतृत्वलाई निशाना बनाएका थिए।
तर इरानको ‘मोजेक डिफेन्स’ भनिने यो विकेन्द्रीकृत रक्षा नीतिले नेतृत्व ढले पनि सैन्य इकाईहरूलाई आफैंमा एउटा स्वतन्त्र केन्द्रका रूपमा काम गर्ने शक्ति दिएको छ।
यदि राजधानी तेहरान वा ठूला कमान्डरहरू सिद्धिए पनि युद्धको मेसिनरी रोकिने छैन। इरानले प्रत्येक ठूलो पदका लागि चार-चार जना उत्तराधिकारीहरूको लाइन तयार पारेको छ, ताकि ‘केन्द्र’ ध्वस्त भए पनि किनारमा रहेका सैन्य टुकडीहरूले आफैं निर्णय लिएर लडाइँ जारी राख्न सकून्।
इरानका नयाँ सर्वोच्च नेता मुस्तबा खामेनीले पनि आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा देशको शक्ति जनताको एकता र यस्तै रणनीतिक तयारीमा रहेको बताएका छन्।
ट्रम्पको अस्त्र
युद्ध केवल बम र ड्रोनमा मात्र सीमित छैन। वासिङ्टनको सत्तामा रहेका डोनाल्ड ट्रम्पले अर्को एक शक्तिशाली अस्त्र प्रहार गर्ने तयारी गरेका छन्, त्यो हो– व्यापारिक कर वा ट्यारिफ। ट्रम्प प्रशासनले इरान र भारतसहित १६ राष्ट्रहरूमाथि भारी व्यापारिक कर लगाउने अनुसन्धान सुरु गरेको छ।
‘ट्रेड एक्ट १९७४’ को कडा दफाहरू प्रयोग गरेर अमेरिकी सरकारले जुनसुकै देशको व्यापारमाथि असीमित कर लगाउन सक्ने शक्ति प्रयोग गर्न खोजिरहेको छ। यसले विश्वको आर्थिक आपूर्ति शृङ्खलालाई नै तहसनहस पार्ने जोखिम बढाएको छ। एकातिर इरानले खाडीका समुद्रहरूमा व्यापारिक मार्ग बन्द गर्ने चेतावनी दिएको छ भने अर्कोतिर ट्रम्पको ट्यारिफ नीतिले विश्व बजारलाई संकुचित बनाउँदै लगेको छ।
आजको यो वैश्विक संकटले एउटा गम्भीर प्रश्न उठाएको छ– के हामी यस्तो युगमा प्रवेश गरेका छौं जहाँ प्रविधि नै मानवताको सबैभन्दा ठूलो शत्रु बन्नेछ? प्रविधिले युद्धलाई सजिलो त बनायो, तर यसले युद्धको सिमानालाई पनि मेटाइदिएको छ।
अब युद्ध सिपाहीहरूबीच मात्र सीमित रहेन, यसले सफ्टवेयर इन्जिनियर, डाटा सेन्टर र आम उपभोक्ताको मोबाइल स्क्रिनसम्म आफ्नो छाया विस्तार गरेको छ। इरानको ‘मोजेक’ रणनीति होस् वा ट्रम्पको आर्थिक अस्त्र, यी सबैले आधुनिक संसारमा शक्ति अब जमिनमा होइन, बरु प्रविधि, डाटा र आर्थिक प्रतिबन्धका पानाहरूमा लुकेको छ भन्ने संकेत गरेका छन्।













