चुनावपछि रवि र प्रचण्डबीच पहिलो फोनवार्ता, के भयो कुराकानी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनावपछि रवि र प्रचण्डबीच पहिलो फोनवार्ता, के भयो कुराकानी ?



काठमाडौंको सत्ता राजनीतिमा नयाँ समीकरणको चर्चा चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवादको ढोका खुलेको छ। हालै सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै यी दुई नेताबीच टेलिफोन वार्ता भएको हो।

स्रोतका अनुसार लामिछाने र प्रचण्डबीचको यो संवाद मुख्य गरी निर्वाचनमा प्राप्त सफलता र आगामी राजनीतिक यात्राका लागि शुभकामना साटासाटमा केन्द्रित थियो। “दुई जना नेताबीच मोबाइल फोनमा बधाई सन्देशको आदान–प्रदान भएको जनाइएको छ,” प्रचण्ड निकट उच्च स्रोतले संवादको पुष्टि गर्दै भन्यो।

नयाँ शक्ति र स्थापित शक्तिबीचको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, रास्वपाका वरिष्ठ नेता बालेन शाह र प्रचण्डबीच भने निर्वाचनपछि हालसम्म कुनै पनि औपचारिक भेटघाट वा संवाद नभएको बुझिएको छ।

यसैबीच, लामो समयदेखि संवादहीनताको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पनि अप्रत्यासित भेट भएको छ। ओलीका पिताको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए।

यता नेपाली कांग्रेसका सभापति गगन थापा र प्रचण्डबीचको सम्बन्धमा भने अहिले निकै दूरी देखिएको छ। निर्वाचन सम्पन्न भएर परिणाम आइसकेको यतिका समय बित्दा पनि यी दुई प्रभावशाली नेताबीच कुनै संवाद वा भेटवार्ता हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्