साताको शेयर बजार: ‘बालेन बुल’ले नेप्सेमा १०८ अंकको उछाल, राजनीतिले ततायो लगानीकर्ताको मनोबल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साताको शेयर बजार: ‘बालेन बुल’ले नेप्सेमा १०८ अंकको उछाल, राजनीतिले ततायो लगानीकर्ताको मनोबल



काठमाडौं । नेपालको पुँजी बजारमा यस साता निकै नाटकीय र ऐतिहासिक उतारचढाव देखिएको छ । फागुन २५ गतेदेखि २८ गतेसम्मको ४ दिनको कारोबार हुँदा बजारमा ’राजनीतिक सेन्टिमेन्ट’ले पूर्ण रूपमा प्रभाव पारेको देखिन्छ । प्रतिनिधि सभाको निर्वाचनको परिणाम र भावी प्रधानमन्त्रीको चर्चाका बिच यस साता नेप्से परिसूचकमा समग्रमा १०८ अंकको भारी वृद्धि भएको छ ।

यस वृद्धिलाई लगानीकर्ताहरूले ‘बालेन बुल’को संज्ञा दिएका छन् । साताभरको तथ्याङ्क हेर्दा बजार औसतमा दैनिक २७ अंकले बढेको देखिन्छ । ४ दिनको छोटो कारोबार अवधिमा पनि कुल ४९ अर्ब ७९ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुनुले बजारमा लगानीकर्ता भित्रिएको पनि प्रष्ट हुन्छ ।

यस साता कुल १३ करोड १५ लाख ९० हजार ९७६ कित्ता शेयर खरिद–बिक्री भए । साताभर कुल ४ लाख ५५ हजार २२७ पटक कारोबार भएको छ भने दैनिक औसत कारोबार रकम ९ अर्ब ९५ करोड ८० लाख ३९ हजार रुपैयाँ भन्दा माथि रहेको छ । कारोबारमा आएका कम्पनीहरूको संख्या पनि औसतमा २५० भन्दा माथि रहेको छ ।

सोमबार: ’बालेन प्रधानमन्त्री’को आसमा पोजेटिभ सर्किट

साताको पहिलो दिन सोमबार बजारमा उत्साहको बाढी नै आयो । फागुन २१ को निर्वाचन परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ ल्याउने निश्चित देखिएपछि लगानीकर्ताहरू उत्साहित बने । 

विशेषगरी रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने चर्चाले बजारमा ’बालेन बुल’ सुरु भयो । सोमबार नेप्से ६ प्रतिशत (१६२.९३ अंक) ले बढेर २,८७५.४३ विन्दुमा पुग्यो । तीव्र वृद्धिका कारण सोमबार बजारमा तीन पटकसम्म पोजेटिभ सर्किट लागेर कारोबार समयभन्दा अगावै बन्द भएको थियो ।

मंगलबार र बुधबार: अन्योल र पेनिक सेल

बजार सधैँ एकनास रहेन । रास्वपा भित्रै प्रधानमन्त्रीको उम्मेदवारबारे खटपट सुरु भएको हल्ला बाहिरिएपछि मंगलबार र बुधवार बजारमा ’पेनिक सेल’ देखियो । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले “प्रधानमन्त्री पार्टीले निर्णय गर्ने कुरा हो“ भन्दै बालेनकै नाममा स्पष्ट नहुनु र सांसद हरि ढकालले पनि बालेनको नाम लिन हिचकिचाउनुले लगानीकर्तामा शङ्का उब्जायो ।

बालेनका विश्वासपात्र राजुनाथ पाण्डेले पनि विभिन्न अन्तरवार्ताहरूमा रास्वपाका सभापति रवी लामिछाने र बालेनमा भएको सहमति अनुसारनै अबको प्रधामन्त्री बालेन हो भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिले पनि लगानीकर्ताका अझ बढी डर पैदा गरेको थियो । 

फलस्वरूप मंगलबार नेप्से ३२.०८ अंकले घट्यो भने बुधवार ४६.७८ अंकको गिरावट आयो । लगानीकर्ताहरू बालेन प्रधानमन्त्री नहुने हुन् कि भन्ने डरले शेयर बिक्री गर्न हतारिएका थिए, जसले गर्दा दुई दिनमा बजार राताम्मे देखियो ।

तर, दुवै दिन भने कारोबारले भने पूर्ण रूपमा साथ दिएको थियो । मंगलबार २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो भने बुधवार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको भएको थियो । 

बिहीबार: पुनः फर्किएको विश्वास

साताको अन्तिम दिन बिहीबार भने बजारले फेरि आफ्नो लय समात्यो । बुधवार बेलुका देखिनै रवि लामिछाने र बालेनबीच मन्त्रिपरिषद् गठनबारे निरन्तर छलफल भइरहेको समाचारहरू सार्वजनिक भएपछि बजार पुनः सकारात्मक दिशामा फर्कियो । 

बिहीबार नेप्से २३.८७ अंक (०.८५ प्रतिशत) ले बढेर २,८२०.४४ विन्दुमा बन्द भयो । यस दिन १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो ।

लगानीकर्ताहरू देशमा बलियो र विकास प्रेमी नेतृत्व चाहन्छन् । रास्वपाको उदय र बालेन शाहको सम्भावित प्रधानमन्त्रीत्वलाई बजारले पूर्ण समर्थन गरेको देखिन्छ । पार्टीभित्रको आन्तरिक विवादले बजार घटाउने र नेतृत्वमा सहमतिको संकेतले बजार बढाउने क्रमले आगामी दिनमा पनि राजनीतिक घटनाक्रम नै नेप्सेको मुख्य चालक हुने संकेत गरेको छ ।

समग्रमा, साताको १०८ अंकको वृद्धि र झण्डै ५० अर्बको कारोबारले नेपाली शेयर बजारमा नयाँ उत्साह भरेको छ । 

यदि राजनीतिक स्थिरता र बालेन–रवि सहकार्यले मूर्त रूप लिएमा नेप्सेले नयाँ उचाइ चुम्ने विश्लेषण लगानीकर्ताहरूको छ ।


प्रतिक्रिया दिनुहोस्