नेपालले भारतसँग किन्ने विद्युत्‌को मूल्य बढ्याे, यस्ताे छ आगामी एक वर्षका लागि नयाँ खरिद दर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

नेपालले भारतसँग किन्ने विद्युत्‌को मूल्य बढ्याे, यस्ताे छ आगामी एक वर्षका लागि नयाँ खरिद दर



काठमाडौं । नेपालले आगामी एक वर्षका लागि भारतका सीमावर्ती राज्यहरू बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आयात गर्ने विद्युतको नयाँ खरिद दर तय भएको छ।

पोखरामा फागुन २८ र २९ गते सम्पन्न नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पीईसी) को १७औँ बैठकले १.५ प्रतिशत मात्र मूल्य वृद्धि गर्ने गरी सहमति जुटाएको हो।

भारतीय पक्षले उत्पादन लागत बढेको भन्दै सुरुमा ५.५ प्रतिशत मूल्य वृद्धिको प्रस्ताव राखेको थियो। तर, नेपाली वार्ता टोलीले भारतीय बजारको वस्तुगत अवस्था र उपलब्ध सूचकांकका आधारमा दर वृद्धि आवश्यक नरहेको अडान लिएपछि अन्ततः गत वर्षकै वृद्धिदर (१.५ प्रतिशत) मा सहमति भएको हो।

नयाँ सहमतिअनुसार १३२ केभी प्रसारण लाइनमार्फत आयात हुने विद्युतको दर प्रतियुनिट ८.२२ भारतीय रुपैयाँ (भारु) कायम गरिएको छ। त्यस्तै, ३३ केभीका लागि ८.९१ भारु र ११ केभी स्तरका लागि ९.५५ भारु प्रतियुनिट मूल्य निर्धारण गरिएको छ। यो दर आगामी एक वर्षका लागि लागू हुनेछ।

हाल नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक करिब १२ देखि १४ हजार मेगावाट आवर विद्युत् आयात गरिरहेको छ। चैत र वैशाखको सुक्खायाममा आन्तरिक उत्पादन घट्ने र माग बढ्ने हुँदा यो सम्झौताले नेपालको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सन् १९९२ देखि सुरु भएको पीईसी संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको मेरुदण्ड मानिन्छ। बैठकमा नेपाली टोलीको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका थिए भने भारतीय टोलीको नेतृत्व केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य विजयकुमार सिंहले गरेका थिए। प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशक शाक्यलाई वार्ता र सम्झौताका लागि पूर्ण अख्तियारी दिएको थियो।

बैठकले विद्युत् खरिद दरको संरचनाका बारेमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। यो सहमतिसँगै सीमावर्ती क्षेत्रबाट हुने विद्युत् आदान–प्रदान थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्