मध्यपूर्वको तनावको असर: श्रीलङ्कामा इन्धन वितरणमा ‘क्युआर कोड’ प्रणाली लागू
काठमाडाैं । श्रीलङ्काको ऊर्जा मन्त्रालयले आज बिहान ६ बजेदेखि इन्धन प्राप्त गर्नका लागि सबै सवारी साधनहरूलाई क्युआर कोड प्रणालीमा दर्ता हुनु अनिवार्य गरेको छ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार, अबदेखि वैध रूपमा दर्ता गरिएको क्युआर कोड नभएका सवारी साधनहरूलाई कुनै पनि फिलिङ स्टेशनबाट इन्धन उपलब्ध गराइने छैन।
मध्यपूर्वमा जारी सैन्य तनावका कारण विश्वव्यापी इन्धन आपूर्ति मार्गमा अवरोध आएपछि श्रीलङ्कामा इन्धनको माग ह्वात्तै बढेको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै अधिकारीहरूले आन्तरिक माग व्यवस्थापन गर्न यो कडा कदम चाल्नुपरेको बताएका छन्।
सीमित इन्धन सञ्चितिलाई जोगाउँदै देशको अत्यावश्यक आर्थिक गतिविधिहरूलाई निरन्तरता दिनका लागि व्यवस्थापन आवश्यक रहेको सरकारी पक्षको भनाइ छ।
ऊर्जा मन्त्रालयले बजारमा इन्धनको अवैध भण्डारण र कालोबजारी बढेका कारण पनि मागमा अस्वभाविक वृद्धि भएको उल्लेख गरेको छ। नयाँ क्युआर कोड प्रणालीले यस्ता गलत अभ्यासहरूलाई नियन्त्रण गर्ने र सर्वसाधारणलाई न्यायोचित रूपमा इन्धन वितरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस प्रणालीले देशको आर्थिक स्थिरता कायम राख्न समेत मद्दत पुग्ने विश्वास लिइएको छ।
यसअघि सन् २०२२ को चरम आर्थिक संकटका बेला पनि श्रीलङ्काले इन्धन कोटा प्रणालीका लागि क्युआर कोडको प्रयोग गरेको थियो। अहिले पुनः आपूर्तिमा समस्या देखिन थालेपछि सरकारले पुरानै प्रभावकारी उपायलाई अवलम्बन गरेको हो।













