के शेयर बजार बुझ्न कठीन भएको छ ? ‘अर्थसाथी’ ले भित्र्यायो एआई आधारित बजार विश्लेषण
काठमाडौं । नेपाली सेयर बजारमा लगानी गर्ने क्रममा हुने जटिलता र सूचनाको अभावलाई चिर्दै एक नयाँ मोबाइल एप्लिकेसन ‘अर्थसाथी’ सार्वजनिक भएको छ।
‘अर्थसाथी एआई सफ्ट प्रालि’ द्वारा विकास गरिएको यो एपले नेप्सेका लगानीकर्ताहरूका लागि बजारको तथ्याङ्कलाई सरल, सुलभ र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
बजारमा आएको एक महिनाको छोटो अवधिमै एक हजारभन्दा बढी लगानीकर्ताले एन्ड्रोइड र आईओएस प्लेटफर्ममार्फत यो एपलाई आफ्नो रोजाइमा पारिसकेका छन्।
सामान्यतया सेयर बजारमा लगानी गर्न फ्लोरशिट, ब्रोकर गतिबिधि र विभिन्न रिपोर्टहरूको अध्ययन गर्नुपर्छ। यस्तो प्रक्रिया निकै झन्झटिलो र समय खर्चिने खालको हुन्छ, जसले धेरै लगानीकर्तालाई अन्योलमा पार्छ।
व्यस्त जीवनशैलीमा घण्टौँसम्म बजारको डाटा अध्ययन गर्न नसक्ने आम लगानीकर्तालाई लक्षित गर्दै अर्थसाथीले जटिल तथ्याङ्कलाई सरल रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
एआईको साथमा पोर्टफोलियो व्यवस्थापन
यो एपको सबैभन्दा बलियो पक्ष यसको ‘एआई आधारित विश्लेषण’ हो। एआईले विगतको बजार तथ्याङ्क र प्रवृत्तिहरूको गहन अध्ययन गरी कुन समयमा सेयर खरिद, होल्ड वा बिक्री गर्ने भन्नेबारे स्पष्ट जानकारी प्रदान गर्छ।
त्यसैगरी, ‘पोर्टफोलियो एनालाइसिस’ उपकरणले प्रयोगकर्ताको व्यक्तिगत पोर्टफोलियोमा रहेका सेयरहरूको एक वर्षको तथ्याङ्क विश्लेषण गर्छ। यसले कुन सेयर बलियो छ र कसमा ध्यान दिनुपर्छ भन्ने जस्ता स्पष्ट मार्गदर्शन दिन्छ, जसले अन्दाजका भरमा निर्णय लिने प्रवृत्तिलाई निरुत्साहित गर्छ।
लगानीकर्ताका लागि उपयुक्त
अर्थसाथीले सेयर बजारको सामान्य ज्ञानसमेत नभएका नवप्रवेशीदेखि प्राविधिक विश्लेषणमा पोख्त लगानीकर्तासम्मलाई समेटेको छ।
एपमा रहेको ‘भाले कप’ नामक भर्चुअल ट्रेडिङ सुविधाले नयाँ लगानीकर्तालाई वास्तविक पैसा जोखिममा नराखी अभ्यास गर्ने अवसर दिन्छ। यस्तै, आईपीओ सम्बन्धी सूचना र नतिजा एकै स्थानमा हेर्न सकिने व्यवस्थाले लगानीकर्ता र तिनका परिवारलाई सहज बनाएको छ।
साथै, प्रयोगकर्ताहरूले आफूलाई मन परेका स्टकहरूको ‘वाचलिस्ट’ बनाई खरिद-बिक्रीको लक्ष्य निर्धारण गर्न सक्छन् भने दुई फरक कम्पनीको कार्यसम्पादनलाई तुलनात्मक रूपमा हेर्न पनि सक्छन्।
इन्टरनेट नभएको समयमा पनि अन्तिम पटक लोड भएको डाटा हेर्न सकिने सुविधा (अफलाइन मोड) र लगानीकर्ताहरूबीच विचार विमर्शका लागि राखिएको ‘ग्रुप डिस्कसन’ स्पेस यसका थप आकर्षण हुन्।

तीन युवाको परिकल्पना
राहुल रिसाल, आशिष अर्याल र सुजन पोखरेल सम्मिलित तीन सदस्यीय युवा टोलीले बजारको गहिरो ज्ञान र प्रविधिको फ्युजन गर्दै यो प्लेटफर्म तयार पारेका हुन्।
सेयर बजारलाई आधुनिक र सरल बनाउने परिकल्पना बोकेको अर्थसाथीले आगामी दिनमा एआई ट्रेडिङ चार्टसहितका थप अत्याधुनिक सुविधाहरू थप्ने योजना बनाएको छ। लगानीकर्ताको समय बचत गर्दै उनीहरूलाई चरणबद्ध रूपमा सिकाइतर्फ अघि बढाउनु नै अर्थसाथीको मुख्य ध्येय रहेको छ।













