बालेनलाई विश्व-नेता बनाउन सक्ने ‘पञ्चामृत डक्ट्रिन’ के हो ? « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

बालेनलाई विश्व-नेता बनाउन सक्ने ‘पञ्चामृत डक्ट्रिन’ के हो ?




चुनावी प्रचारका दौरान देशका जुनजुन जिल्लाको धर्ती बालेनले टेके, त्यसमध्ये ज्यादातर क्षेत्रमा उनको पार्टीले विजयको ध्वज फहराएको छ । जुन किसिमको राजनीतिक व्यवस्था र निर्वाचन प्रणाली अहिले अपनाइएको छ, त्यसको आधारमा यो स्तरको जीत धेरैको ‘कल्पना बाहिर’ थियो ।

यस्तो अभूतपूर्व सफलताको जगमा देशले पहिलो पल्ट मधेसी मूलका बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रुपमा पाउँदै छ । संसारका प्राचीन सभ्यताहरुमध्येको एक मिथिलाञ्चलको पुत्र अब पर्वतीय राष्ट्रको नेतृत्व गर्दै छन् ।

आज बालेनले देश भित्र र बाहिर जुन ‘क्रेज’ बटुलेका छन्, त्यो नेपालका ज्यादै कम मान्छेहरुका लागि प्राप्त हुनसक्छ । ६ महिना अघिको जेन जी आन्दोलनका जगमा भएको यो मध्यावधि चुनावले नेपाल देशलाई एउटा त्यस्तो संभावनाको ढोकामा पुर्याइदिएको छ, जसले समकालीन विश्वमा एउटा ‘नयाँ नेता’ दिनसक्छ ।

बालेन अझै पनि ‘खुल्ला किताब’ होइनन् । उनी उनकै समर्थक र बाँकी विश्वका लागि समेत अझै पनि ‘प्याण्डोराज बक्स’ हुन् । सायद यही कारण उनीप्रतिको क्रेज ज्यादा भएको हुनसक्छ । तर उनको यो रहस्यमयी छबिलाई नेपालको दीर्घकालिन हितमा उपयोग गर्ने मौका भने इतिहासले दिएको छ ।

यो लेखलाई धेरै लामो नबनाइकन हामी हाम्रा भावि प्रधानमन्त्रीलाई केही ‘नमागिएका सुझावहरू’ पस्किने चेष्टा गर्दै छौँ । भलै, उनी र उनको टीमले यस बारेमा केही सोचेका हुन् वा नहुन् ।

कस्तो सपथ ?

प्रधानमन्त्रीको सपथ शितल निवासको चिसो छिँडीमै हुनुपर्छ भन्ने कुनै बाध्यता छैन । जसरी यो सरकार एक असाधारण हस्तक्षपकारी कदम (आन्दोलन)बाट आउँदै छ, अब बालेनले आफ्नो कार्यकालको थालनी पनि त्यस्तै ठूलो ‘रुपान्तरण’बाट गर्न सक्छन् ।

यसका लागि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर सपथ लिने एउटा तरिका हुनसक्छ, जसबाट बालेनलाई ‘नयाँ समय’, ‘नयाँ नेता’ र ‘नयाँ संस्कृति’को जग बसाल्न सहयोग पुग्ने छ ।

बालेनको सपथलाई विश्व समुदायले राम्रै हेक्का दिएर नियाल्न सक्छ । त्यसैले यो सपथ एउटा नयाँ नेताको फगत वैधानिकता मात्रै होइन, ‘नेपाल अब नयाँ युगमा प्रवेश गर्यो’ भन्ने सन्देश दिने मौका पनि हो । यसका लागि सरकारले केही कूटनीतिक तयारीलाई बढाउनु उचित हुन्छ ।

मेरो सुझाव त, नेपालले सुरुआति चरणमा कूटनीतिक सम्बन्ध स्थापित गरेका मुलुकहरु बेलायत र अमेरिकाका राष्ट्र प्रमुखहरुलाई बुद्धभूमिमा आमन्त्रण गर्नु राम्रो हुन्छ । त्यसपछि हाम्रा दुई छिमेकी भारत र चीनका सरकार प्रमुखहरुलाई निम्ता गरौँ भन्ने मेरो प्रस्ताव छ । बाँकी दक्षिण एसियाली मुलुकका सरकार प्रमुखहरुलाई पनि नेपालले आतिथ्यता गर्ने मौका नगुमाओस् भन्ने चाहन्छु ।

कयौँलाई यो प्रस्ताव ‘हास्यास्पद’ पनि लाग्न सक्छ । किनकी, हाम्रो समाज अहिले लघुताभाषको दलदलमा डुबेको छ । हामीमध्ये धेरैलाई ‘यो देशको उन्नती हुन्छ’ भन्नेमा सहजै विस्वास छैन । यही देशमा नयाँ पुस्ताले सुन्दर भविष्यको सपना देख्न सकिरहेको छैन । विश्व मञ्चमा हाम्रो तागत यतिखेर कमजोर परेको छ ।

तर हामीले विर्सनु हुन्न– घरको जग खन्दा हामी धर्तिमा एक तहसम्म गहिराईमा झर्छौँ । त्यसपछि नयाँ भवन ठडिन्छ । हामी अब जग बस्ने त्यो गहिराइसम्म झरिसकेका छौँ, अझैँ तल जाने ‘स्पेस’ ज्यादा बाँकी छैन । अब हामीले विश्व मञ्चमा नयाँ सौम्य शक्तिको जग हाल्ने बेला भएको छ ।

तसर्थ, यदी हामीले चाहेका अतिथीहरु आइदिए भने गज्जब भइहाल्यो । सम्भवत: हामीले डाक्न खोजेका ती सबै अतिथीलाई हाम्रो माटोमा स्वागत गर्न अहिले नै सम्भव हुने छैन । तर ती सबैलाई एकसाथ निमन्त्रणा पठाउने यस्तै अर्को सुन्दर मौका बारम्बार आउँदैन । यो निमन्त्रणाले मात्रै पनि विश्वमा नयाँ सन्देश प्रवाह हुनसक्छ । कम्तिमा हाम्रो डायस्पोरालाई यसले धेरथोर गौरवान्वित बनाउने छ ।

शान्ति क्षेत्रको नयाँ संस्करण

तत्कालिन राजा वीरेन्द्रले पाँच दशकअघि आफ्नो राज्याभिषेकको अवसरमा जुन ‘शान्ति क्षेत्र’को प्रस्ताव अघि बढाएका थिए, अब बालेनलाई यस्तै अर्को मौका प्राप्त भएको छ । शान्ति क्षेत्रको प्रस्तावलाई नयाँ ढर्राबाट अघि बढाउने बेला भएको छ ।

राणा शासनको अन्त्यपश्चात् नेपालले ‘नेहरू डक्ट्रिन’लाई पच्छ्याउँदै आयो । तर अब विश्व भूराजनीतिले कोल्टे फेरिसकेको छ । वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव ल्याउँदा संसार शीतयुद्धको दौरानमा थियो । अब विश्वका सर्वोच्च शक्तिहरु सक्रीय युद्धमा होमिन थालेका छन् । प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको विकास असाधारण गतिमा अघि बढेको छ ।

हाम्रा दुई छिमेकीहरु ‘भविष्यका महाशक्ति’को रुपमा उदाउँदै छन् । दोस्रो विश्वयुद्ध ताका आन्ध्र महासागरतिर केन्द्रित भएको शक्ति अब हाम्रो सीमाक्षेत्रमा आइपुग्दै छ ।

नेपालको आर्थिक–सामाजिक प्रणाली पनि अब पहिलेजस्तो छैन, यसका नसा–नसा अब विश्वव्यापी बजार श्रृङ्खलाको हिस्सा बनिसकेका छन् । अर्कातिर नेपालीहरुको डायस्पोरा तीव्र रफ्तारमा विस्तार भइरहेको छ ।

यो अवस्थामा पनि हाम्रो समाज भौतिक विकासको पछौटे पनमा बाँचिरहेको छ । त्यसैले अब हाम्रो आर्थिक र विदेश नीतिमा आमूल परिवर्तनको शङ्खघोष गर्ने बेला भएको महसुस हुन्छ ।

पञ्चशील र असंलग्न परराष्ट्र नीतिलाई प्रतिस्थापन गर्ने नयाँ सिद्धान्तको बारेमा नेपालमा अहिलेसम्म फाटफुट बाहेक चर्चा भएको छैन, यो राम्रो होइन । बरु यो त संसारको गतिशीलतालाई हामीले भाँप्न सकिरहेका छैनौँ भन्ने उदाहरण पो हो त।

विदेश सम्बन्धको सैद्धान्तिक समीक्षा

नेपालले अहिले औपचारिक रुपमा पञ्चशील र असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गरेको छ । अझ यसलाई ‘संवैधानिकीकरण’ भयो भनेर आलोचना पनि भइरहेको छ । भलै यी सिद्धान्तहरु शीतयुद्धकालिन असंलग्न आन्दोलनपश्चात् अकस्मात नेपाल भित्रिएका होइनन् । महाभारतको युद्धमा पाण्डव र कौरवका सेनाहरु आम्नेसाम्ने भएपछि किराँत राजा यलम्बरले युद्धभूमि पुगेर अनुगमन गरेको र युद्धमा सहभागि नभई फर्केको कथाहरु छन् । यस उदाहरणले ‘रणनीतिक स्वायत्तता’ नेपालको ‘जीन’मा हजारौँ वर्षदेखि छ भन्ने देखाउँछ ।

पूर्वीय सभ्यताले ज्यादातर सहअस्तित्व, सन्तुलन र मानवीय मूल्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । भगवान् कृष्णले आफ्नो नारायणी सेना र स्वयम् आफूलाई दुई क्याम्पमा बाँढेको घटनाले सन्तुलित संलग्नतालाई दर्शाउँछ । तर उनले बारम्बार युद्ध रोक्न गरेका प्रयासहरुले परराष्ट्र सम्बन्धमा मानवीय मूल्यलाई कति धेरै महत्व दिइएको थियो भन्ने जान्न सकिन्छ । युद्ध टार्नकै लागि आफ्नो राज्य छाडेर द्वारिका नगर बसाएको घटनाले त मानवीय मूल्यलाई अर्कै उचाईमा पुर्याउँछ ।

रामायणमा हनुमान जीको आक्रामक कूटनीतिक शैली देखिन्छ । तर राम र सुग्रिवबीचको रणनीतिक साझेदारीले ‘उन्नत मानव र जङ्गली वानर’बीच पनि ‘समानता र सहअस्तित्व’को अपूर्व नमुना प्रस्तुत गर्छ । यसले राज्यहरुबीच सभ्यता वा आर्थिक–सामाजिक हैसियतका आधारमा होइन, समानता र सहअस्तित्वको जगमा मात्रै गुणात्मक साझेदारी हुनसक्छ भन्ने देखाउँछ ।

शुक्राचार्यले आन्तरिक सबलिकरणमा जोड दिएका छन् । उनले देशभित्रको बलियो जनसमर्थन, सबल सेना र भरिपूर्ण ढुकुटीले मात्रै राज्यको रक्षा गर्नसक्ने विचार अघि सारेका छन् । विदुरले नैतिक तटस्थतालाई प्रदर्शन गरेका छन् । ‘धर्म’ र ‘विवेक’का प्रसङ्ग उठाएर उनले कूटनीतिमा नैतिक मर्यादालाई जोड दिएका छन् । चाणक्यले ‘कूटनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्, केवल राष्ट्र हितमात्रै स्थायी हुन्छ’ भन्ने ‘यथार्थवादी’ धार समातेका छन् । साम, दाम, दण्ड, भेदको सिद्धान्त उनैले दिएका हुन् ।

पृथ्वीनारायण शाहले आफ्नो दीव्योपदेशमा ‘सन्तुलित दूरी’ र ‘आन्तरिक एकता’लाई नै जोड दिएका छन् । वर्तमान नेपालका निर्माता शाहले ‘अस्तित्व रक्षा’ लाई नै नेपालको मूल कूटनीतिक लक्ष्यका रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो समय संसारको सबैभन्दा ठूलो अर्थतन्त्रले ‘अमेरिका फर्स्ट’ नीति अघि सार्यो । उसले अहिले आर्थिक कूटनीतिलाई हतियार बनाएर सभ्यतागत कूटनीतिको प्रवर्द्धन गरिरहेको छ । छिमेकी भारत पनि ‘बहु–संलग्नता’ र सभ्यतागत विराशतमा कूटनीतिक कदम अघि बढाउँदै छ ।

अहिले पश्चिमा विश्वमा सर्वाधिक चर्चामा रहेको नवीन विचारधारा ‘रचनात्मक सिद्धान्त’ पनि हो । यसले भन्छ, ‘अन्तरराष्ट्रिय राजनीति भौतिक शक्तिले होइन, धारणा र सामाजिक मान्यताले बन्छ ।’ यो सिद्धान्तले सामरिक ध्रुविकरण नै विदेश नीतिको आधार हो भन्ने धारणा अघि सार्छ । उदाहरणका लागि अमेरिकाले उत्तरकोरियाको परमाणु हतियारबाट ठूलो खतरा देख्छ, तर बेलायत वा फ्रान्सका हतियारसँग उसलाई भय लाग्दैन । त्यसैले ‘शक्ति होइन, धारणा प्रधान हुन्छ’ भन्ने यो मान्यताले बताउँछ ।

तर अहिले पनि विश्वमा सबैभन्दा धेरै देशहरुले अंगिकार गरेको विदेश नीति ‘यथार्थवाद’ हो । ‘हरेक राष्ट्र आफ्नो सुरक्षा र अस्तित्वको रक्षाका लागि आफैँ सक्षम हुनुपर्छ’ भन्ने मान्यताद्वार निर्देशित यो नीतिले ‘शक्ति’ र ‘राष्ट्र हित’लाई विदेश नीतिको ‘अन्तिम सत्य’ मान्दछ । तर हाम्रा लागि ‘यथार्थवाद’को परिभाषा योभन्दा बेग्लै हुन्छ ।

हाम्रो स्थापित विदेश नीतिलाई प्रतिस्थापन गर्ने नयाँ सूत्रको यहाँ प्रस्ताव गरिएको छ, ताकी यसको जगमा बसेर थप बहस गर्न सजिलो होस् ।

‘पञ्चामृत सिद्धान्त’!

सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा कुनै पनि सम्झौता हुन सक्दैन । त्यसैले यसलाई ‘रेड लाइन’ मानेर ‘रक्षात्मक सुरक्षा’ सुनिश्चित गर्नुपर्छ । तर विदेश नीतिमा अब हामीले एउटा व्यापक ‘ग्रीन जोन’ पनि खडा गर्नुपर्ने भएको छ, जसले पारस्परिक हितलाई बढावा देओस् र आर्थिक समृद्धिको बाटोमा डोर्याउन सकोस् । देश कङ्गाल भइरह्यो र जनता आक्रोसित रहिरहे भने पञ्चशीलको मन्त्र जतिसुकै जपे पनि शान्ति, स्थायित्व र विकास सम्भव हुँदैन रहेछ भन्ने हाम्रो अनुभवले देखाइसकेको छ ।

तसर्थ पुरानो ‘शान्ति क्षेत्र’कै जगमा उभिएर संसारदेखि ‘अलग’ होइन, ‘अविछिन्न’ हुने नयाँ सिद्धान्तको यहाँ प्रस्ताव गरिएको छ । यो सिद्धान्तले अहिलेको कूटनीतिलाई ‘असंलग्नता’को रक्षात्मक घेराबाट बाहिर निकालेर ‘सक्रीय संलग्नता’को रणनीतिक उचाईतर्फ बढ्ने वकालत गर्छ ।

त्यो सैन्य संलग्नता नहुने सुनिश्चितता पनि गर्छ । यो सिद्धान्त कसैको विरुद्ध होइन । यो त साझा समृद्धि, स्थायित्व, दिगो विकास, विश्वव्यापी आत्मीयता र भूराजनीतिक सन्तुलन सहितको नेपालको ‘राष्ट्रिय हित’ रक्षा गर्ने प्रस्तावनामात्रै हो ।

यो सिद्धान्त पाँच वटा स्तम्भमा उभिएको हुनाले नै यसलाई ‘पञ्चामृत सिद्धान्त’ नाम दिइएको हो । त्यो भनेको अङ्ग्रेजी शब्द PEACE (शान्ति) का पाँच अक्षरहरु हुन् । यसको दर्शन र नीतिलाई संक्षिप्तमा यसरी बुझौँ ।

१. P – Partnership (साझेदारी)

संसारका साझा चुनौतीहरु सामना गर्न तथा न्यायपूर्ण पारस्पिरिक लाभ हासिल गर्न आफ्नो राष्ट्रिय स्वार्थका क्षेत्रमा नेपालले सन्तुलित वैदेशिक साझेदारीलाई प्राथमिकता दिन्छ । तर कुनै पनि किसिमको बाह्य हस्तक्षेप स्वीकार्य हुँदैन।

‘साझेदारी’ भनेको राष्ट्रिय स्वाभिमानमा आँच नआउने गरी गरिने सहकार्य हो। ‘समानतामा आधारित सहअस्तित्व’लाई प्रवर्द्धन गर्ने यो नीतिले नेपाललाई ‘सहायता केन्द्रित’ मगन्ते कूटनीतिबाट ‘समृद्धिको साझेदार’का रुपमा विश्व मञ्चमा खडा गर्ने छ ।

२. E – Equilibrium (रणनीतिक सन्तुलन)

नेपालले सबै छिमेकी र मित्रराष्ट्रहरूको न्यायोचित स्वार्थलाई सम्मान गर्छ । तर कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन । र, आफ्नो भूमिलाई कहिल्यै पनि एक छिमेकीविरुद्ध अर्को छिमेकीको अहितका लागि प्रयोग हुन दिने छैन ।

यस अनुसार नेपालको राष्ट्रिय स्वाधिनता र क्षेत्रीय स्थिरता कायम राख्न सबै छिमेकी र मित्रराष्ट्रहरूसँग अहिलेजस्तो ‘तटस्थ’ होइन, ‘सन्तुलित संलग्नता’ सहितको परराष्ट्र नीति सञ्चालन गरिने छ ।

भियतनामको विदेश नीतिले साझेदारी र सन्तुलनलाई मिलाएर गज्जबको उदाहरण प्रस्तुत गरेको छ । उसले छिमेकी चीनसँगको जटिल सम्बन्धका बावजुद पनि अमेरिका, जापान, र भारतसँग रणनीतिक साझेदारी विकास गरेको छ। आफ्नो सुरक्षाका लागि ‘मल्टी–एलाइनमेन्ट’को यो गज्जब प्रमाण हो ।

३. A – Affinity (आत्मीयता)

‘वसुधैव कुटुम्बकम्’ को आदर्शलाई आत्मसाथ गर्ने यो नीतिले नेपालको फैलँदो डायस्पोरालाई आफ्नो मातृभूमिसँग जोड्नेमात्रै होइन, बाँकी विश्वसँग जन–स्तरको ‘आत्मीय सम्बन्ध’ विकासमा उपयोग गर्छ ।

यस निम्ति हाम्रो आध्यात्मिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र मानवीय मूल्यमार्फत् शौम्य शक्ति (सफ्ट पावर) हासिल गर्न नेपाललाई ‘धर्तिको स्वर्ग’ र ‘अन्तिम गन्तव्य’का रुपमा रूपान्तरण गरिने छ ।

ताकी, भगवान् बुद्ध र पशुपतिनाथको यो धर्तिले सिर्जनात्मक मस्तिष्कहरुलाई फक्रिने ‘उद्यान’ त दिन्छ नै, संसारबाट थाकेका मानिसहरुले पनि आफ्नो जीवनको रुपान्तरण र चेतनाको साधना गर्ने थलो भेट्टाउन सकुन् ।

उदाहरण : शौम्य शक्ति र मानवीय मूल्यकै बलमा कसरी वैश्विक विवादहरुको निरुपण गर्न सैन्य शक्ति रहित मुलुकले पनि कसरी मध्यस्थता गर्न सक्दो रहेछ भन्ने भन्ने उदाहरण स्वीट्जरल्याण्डले देखाएको छ । उसले संयुक्त राष्ट्र संघको स्थापनामामात्रै भूमिका खेलन, शीतयुद्ध अन्त्यका लागि कयौँ वार्ताहरु गरायो ।

४. C – Convergence (सङ्गमस्थल)

हिमालयको वारी र पारी अर्थात् दक्षिण एसिया र पूर्वी एसियालाई जोड्ने नेपालले आफूलाई भौतिक पूर्वाधार, ग्रीड तथा डिजिटल मार्गहरुको ‘ट्राञ्जिट हब’का रुपमा विकास गर्छ ।

‘भू–परिवेष्ठित’ मानसिकता त्यागेर ‘भू–जडित’ अर्थतन्त्रमा बदल्न संसारको व्यापार, प्रविधी र विचारहरु एकाकार हुने थलोका रुपमा विकास गरिने छ, जसले ‘अनेकतामा एकता’ र ‘साझा गन्तव्य’को आदर्श बोकेका हुन्छन् ।

यो भूमि ठूला–साना अर्थतन्त्र तथा सभ्यताहरुको एउटा ‘मिलनविन्दु’मा रुपान्तरित हुनेछ । दिगो विकास, पर्यावरण संरक्षणजस्ता विश्वका साझा हितको रक्षार्थ नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।

यस मामिलामा अनुपम उदाहरण सिङ्गापुरले प्रस्तुत गरेको छ । अमेरिका र चीनजस्ता संसारका दुई ठूला परस्पर विरोधी शक्तिहरू बीच तनाव रहँदारहँदै पनि उसले दुवैसँग आर्थिक साझेदारी कायम राखेको छ। यो दृष्टान्तले सानो राष्ट्र भएर पनि आफ्नो सार्वभौमिकता जोगाउन ‘इकोनोमिक नेसेसिटी’ सिर्जना गर्नुपर्छभन्ने देखिन्छ । किनकी, बन्दरगाह र वित्तीय केन्द्रह त्यो देशको वास्तविक ‘सुरक्षा कवच’ हुन् ।

५. E – Evolution (विकासक्रम)

हामी आफ्नो मौलिक सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाजस्ता ‘कोर भ्यालु’ जोगाउँदै, बदलिँदो वैश्विक सुरक्षा र प्रविधिअनुसार ‘रणनीतिक शैली’ (राष्ट्रिय सुरक्षा प्राप्त गर्ने उपायहरू) मा निरन्तर आधुनिकता ल्याउँछौँ।

यो सूत्रले ‘विध्वंशको जगमा नवनिर्माण हुन्छ’ भन्ने ‘विनासकारी क्रान्ति’को भाष्यलाई अस्वीकार गर्छ र ‘ शान्तिपूर्ण, दिगो तथा उन्नत’ विकास गर्ने अवधारणालाई अघि बढाउँछ । परम्परागत ज्ञान र मौलिकतालाई आधुनिकतासँग मिसाएर संसारले नयाँ उपलब्धीहरु हासिल गर्नुपर्छ भन्ने मान्यता यस सिद्धान्तको एउटा पाटो हो ।

सँगसँगै, यसले विश्व परिवेश र शक्ति सन्तुलनमा आउने गतिशील परिवर्तनहरुसँग नेपालको राष्ट्रिय स्वार्थको तादात्म्य मिलाउन ‘रणनीतिक अनुकुलता’ अवलम्बन गर्ने मार्गदर्शन पनि दिन्छ ।

विश्व नेताको संकल्प

प्रस्तावित ‘पञ्चामृत सिद्धान्त’ले केवल नेपालको परराष्ट्र नीतिमा महत्वपूर्ण बदलाव त गर्छ नै, देशको विकासका लागि नविन मार्गचित्र पनि कोरेको छ ।

त्योभन्दा ठूलो कुरा, यसले संसारलाई दिगो विकास तथा शान्ति र आध्यात्मिक चेतनातर्फ डोर्याउने काम पनि गर्छ । बालेनले आफ्नो सपथ समारोहमा बुद्धको जन्मभूमिबाट नयाँ ‘शान्ति संकल्प’ घोषणा गरे भने ठूला–ठूला युद्धको संघारमा उभिएको विश्वमा एउटा सकारात्मक सन्देश प्रवाह हुन सक्छ ।

अहिले विश्व शान्तिका लागि सर्वाधिक ‘सेना खटाएर’ योगदान गरिरहेको नेपाललाई भविष्यमा ‘धर्तिको शान्तिदूत’ बनाउने जग राख्न यो संकल्प एक स्पष्ट ‘मानचित्र’ बन्नसक्छ ।


प्रतिक्रिया दिनुहोस्