चैत १२ गते नयाँ सांसदको सपथ तयारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चैत १२ गते नयाँ सांसदको सपथ तयारी



काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट चुनिएका नयाँ प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते गराउने तयारी गरिएको छ । संघीय संसद् सचिवालयले यसका लागि आवश्यक प्रक्रिया र आन्तरिक तयारी अगाडि बढाएको हो ।

प्रमाणपत्र वितरण र प्रतिवेदन बुझाउने कार्यतालिका निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सदस्यहरूलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही दिन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी समेत गरेको छ, जसको जानकारी संघीय संसद् सचिवालयलाई पनि गराइनेछ ।

सचिवालयको तयारी र सूचना संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत ५ गते प्रतिवेदन प्राप्त भएमा त्यसको भोलिपल्टै सूचना सार्वजनिक गर्ने तयारी छ । “१२ गते शपथ गराउने तयारी छ र यस विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल भइरहेको छ,“ गिरीले जानकारी दिएका छन् ।

संसदीय समीकरण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कूल ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रूपमा उदय भएका छन् ।

रास्वपाको १६२ सिट (सबैभन्दा ठूलो दल), नेपाली कांग्रेसको ३८ सिट सहित प्रमुख प्रतिपक्ष छ । नेकपा एमालेको ३५ सिट, नेपाली कम्युनिस्ट पार्टीको १७ सिट, श्रम संस्कृति पार्टीको ७ सिट र राप्रपको ५ सिट संसदमा रहेको छ ।

यसपटकको निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । संसद् सचिवालयले नयाँ सांसदहरूलाई स्वागत गर्न र शपथ ग्रहणलाई व्यवस्थित बनाउन आफ्ना कर्मचारी र स्रोत साधन परिचालन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्