फागुनमा ४२ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, धेरै नबिल हुँदा कुनको कति ?
काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले प्रवाह गर्ने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार यस्तो कर्जा गत वर्षको सोही अवधिको तुलनामा ४२.९० प्रतिशतले बढेको हो ।
गत वर्ष माघ मसान्तसम्म ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ रहेको यस्तो कर्जा यस वर्षको माघ मसान्तसम्म आइपुग्दा १ खर्ब ३३ अर्ब ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । कुल १९ वटा वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा समग्रमा ४२ अर्ब रुपैयाँभन्दा बढीले लगानी विस्तार भएको देखिन्छ ।
नबिल बैंकको आक्रामक लगानी
तथ्यांक अनुसार शेयर धितो कर्जा प्रवाहमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिलले माघ मसान्तसम्म १७ अर्ब ५० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत वर्षको १२ अर्ब ९५ करोड ९५ लाखको तुलनामा ३५.०६ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १३ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुमारी बैंक १० अर्ब ५९ करोड ३४ लाख र प्राइम बैंक ९ अर्ब ७९ करोड ३१ लाख रुपैयाँसहित क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् । प्राइम बैंकको कर्जा विस्तार अघिल्लो वर्षको तुलनामा ४९.३९ प्रतिशतले बढेको छ ।

प्रतिशतका आधारमा कृषि विकास बैंक अगाडि
कर्जा रकमका आधारमा नबिल अगाडि भए पनि वृद्धिदरका आधारमा भने कृषि विकास बैंकले सबैभन्दा ठूलो फड्को मारेको छ । यस बैंकको कर्जा प्रवाह २८६.३० प्रतिशतले बढेर ७ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले मात्र २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ कर्जा दिएको थियो ।
यसैगरी, माछापुच्छ्रे बैंकको १८१.०९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ११५.३ प्रतिशत र एनएमबि बैंकको ८७.२५ प्रतिशतले कर्जा लगानी बढेको छ । एनआइसी एशिया बैंकले ८६.०३ प्रतिशत र सानिमा बैंकले ८१.८ प्रतिशतले आफ्नो लगानी विस्तार गरेका छन् ।
केही बैंकको कर्जा भने घट्यो
सबै बैंकको कर्जा लगानी बढ्दा दुईवटा बैंकको भने लगानीमा गिरावट आएको छ । नेपाल बैंकको शेयर धितो कर्जा १०.२७ प्रतिशतले घटेर ६ अर्ब ९३ करोड २८ लाखमा खुम्चिएको छ । त्यस्तै, सिटिजन्स बैंकको पनि ३.९५ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ९२ लाख रुपैयाँमा झरेको छ।
अन्य बैंकको अवस्था
तथ्यांक अनुसार सिद्धार्थ बैंकले ८ अर्ब ९३ करोड, राष्ट्रिय बाणिज्य बैंकले ८ अर्ब ९ करोड, प्रभु बैंकले ६ अर्ब ६३ करोड र एभरेष्ट बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ शेयर धितोमा लगानी गरेका छन् । यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ अर्ब २ करोड, हिमालयन बैंकको ३ अर्ब ३४ करोड र नेपाल एसबिआई बैंकको ५९ करोड ६१ लाख रुपैयाँ लगानी रहेको छ ।
समग्रमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेकका १९ बैंकहरूले १ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रकम शेयर धितो कर्जाका रूपमा बजारमा परिचालन गरेका छन् । यसले शेयर बजारमा बैंकहरूको कर्जा प्रवाह गर्ने उत्साह बढेको सङ्केत गर्दछ ।













