समुद्रमा रहेका इरानी तेलका जहाजहरू खरिद-बिक्री गर्न अमेरिकाले दियाे ३० दिनकाे अनुमति
काठमाडाैं । ट्रम्प प्रशासनले इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा ३० दिनका लागि छुट दिने निर्णय गरेको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणका कारण विश्व बजारमा इन्धनको मूल्य आकासिएपछि ट्रम्प प्रशासनले यस्ताे निर्णय गरेकाे हाे ।
यो इजाजतपत्र अप्रिल १९ सम्म लागू हुनेछ, जसमा उत्तर कोरिया, क्युवा र क्रिमिया जस्ता क्षेत्रहरूलाई भने समावेश गरिएको छैन। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटका अनुसार यो आपूर्तिबाट सबैभन्दा बढी फाइदा एसियाली मुलुकहरूलाई हुनेछ, जहाँ आगामी केही दिनभित्रै तेल पुग्न सक्नेछ।
विगतमा इरानी तेलका मुख्य खरिदकर्ताका रूपमा रहेका चीन, भारत, दक्षिण कोरिया, जापान र टर्की जस्ता देशहरूका लागि यो निर्णय महत्वपूर्ण हुनेछ। अर्थमन्त्री बेसेन्टले “अपरेशन एपिक फ्युरी” जारी रहँदा इरानकै तेल प्रयोग गरेर मूल्य नियन्त्रणमा राख्नु रणनीतिक कदम भएको बताएका छन्। यद्यपि, इरानले यो बिक्रीबाट आउने राजस्वमा पहुँच पाउन भने कठिन हुने दाबी अमेरिकाको छ।
समुद्रमा रहेका इरानी तेलका जहाजहरू खरिद-बिक्री गर्न अनुमति दिँदै अमेरिकाले तेलको मूल्य घटाउने प्रयास गरेको छ।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यो छुटले करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा ल्याउनेछ, जसले ऊर्जा आपूर्तिमा देखिएको दबाबलाई कम गर्न मद्दत पुर्याउनेछ।
विशेष गरी इरानसँगको युद्ध सुरु भएयता कच्चा तेलको मूल्य ५० प्रतिशतले बढेर प्रति ब्यारेल १०० डलर नाघेपछि अमेरिकाले दुई हप्ताभित्रै तेस्रो पटक प्रतिबन्धहरूमा लचकता अपनाएको हो।
यो निर्णय नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि आफ्ना उपभोक्ता र व्यवसायीहरूलाई राहत दिने ह्वाइट हाउसको रणनीतिका रूपमा पनि हेरिएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि विश्वको २० प्रतिशत तेल आपूर्ति ठप्प भएको छ।















