एचडिपी पाइपमा भएको मूल्यवृद्धिबारे संघको स्पष्टीकरण: ‘कच्चा पदार्थको मूल्य ६२ प्रतिशतसम्म बढ्यो’
काठमाडौं । केही राष्ट्रिय सञ्चारमाध्यममा एचडिपी पाइपको मूल्यमा ३० देखि ४० प्रतिशत ‘अस्वाभाविक’ वृद्धि भएको भनी आएका समाचारप्रति नेपाल पाइप उत्पादक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै हालको मूल्यवृद्धि अस्वाभाविक नभई विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध र कच्चा पदार्थको उच्च मूल्यवृद्धिको परिणाम भएको स्पष्ट पारेको छ ।
मूल्यवृद्धिका मुख्य कारणहरू खुलाउदै अन्तर्राष्ट्रिय द्वन्द्व भएकाले गर्दा कच्चा पर्दार्थको मूल्य वृद्धि भएकाले पाइपको मूल्य बढाएको संघले जनाएको छ ।
मध्यपूर्व र पश्चिम एसियामा जारी तनावका कारण कच्चा तेलको आपूर्ति र ढुवानी प्रभावित हुँदा कच्चा पदार्थ (ग्रानुयल्स) को आयातमा अवरोध पुगेको संघले विज्ञप्तीमा भनेको छ ।
कच्चा पदार्थको मूल्यमा ६२% वृद्धि: अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको संघले जनाएको छ ।
उद्योगहरू बन्द हुने अवस्था आएको र कच्चा पदार्थको मौज्दात सकिँदा धेरै उद्योगहरू बन्द भइसकेको र केही बन्द हुने संघारमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
इन्धनको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको बढोत्तरी र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लागत निकै बढेको संघको दाबी छ ।
संघले खानेपानी कार्यालय, स्थानीय निकाय, गैरसरकारी संस्था र निर्माण व्यवसायीहरूसँग गरिएका पूर्वसम्झौताका बुँदा र मूल्यलाई आपसी समझदारीमा समायोजन गर्न अपिल गरेको छ । साथै, विषम परिस्थितिमा लचकता अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई समेत आग्रह गरिएको छ ।
विज्ञप्तिमा परिस्थितिको फाइदा उठाई अस्वाभाविक मूल्यवृद्धि गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै उद्योगीहरूलाई उच्च नैतिकता प्रदर्शन गरी व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।


















