रामचन्द्र सांघाई : निजी क्षेत्रको आवाजलाई नयाँ उचाइ दिने पात्र, व्यावसायिक निष्ठा र औद्योगिक सफलताको पर्याय
काठमाडौं । नेपालको औद्योगिक इतिहासमा केही यस्ता नामहरू छन् । जसले केवल व्यवसाय मात्र गरेनन् । बरु देशको अर्थतन्त्रको जग बलियो बनाउन आफ्नो जीवन नै समर्पित गरे । ती नामहरूको अग्रपङ्क्तिमा आउने एउटा ओजस्वी व्यक्तित्व हो– रामचन्द्र सांघाई ।
विगत ३६ वर्षदेखि निरन्तर व्यावसायिक कर्ममा तल्लीन सांघाई आज नेपाली उद्योग क्षेत्रका एक सतिसाल जस्तै खडा छन् । आफ्नो पुर्खाले रोपेको इमानदारिताको बिरुवालाई विशाल वटवृक्ष बनाउँदै उनले त्रिवेणी ग्रुपलाई नेपालकै एक प्रतिष्ठित औद्योगिक घरानाको रूपमा स्थापित गरेका छन् ।
सांघाईको व्यक्तित्वमा एउटा सफल उद्यमीको कुशलता मात्र छैन । बरु निजी क्षेत्रको पीडा बुझ्ने एउटा अभिभावकीय हृदय पनि छ । “व्यवसायमा मानिस सधैं इमानदार र कामप्रति प्रतिबद्ध हुनुपर्छ,“ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उनी आफ्नो जीवनको लामो अनुभवलाई अब बृहत्तर हितमा लगाउन तत्पर देखिन्छन् ।
उनको जीवन यात्रा एउटा साधारण व्यवसायीको मात्र होइन । बरु एउटा दूरदर्शी नेतृत्वको कथा हो । जसले हरेक चुनौतीलाई सफलताको खुड्किलो बनाउँदै आएको छ ।
उद्योगमा गरेको अभूतपूर्व सफलता
रामचन्द्र सांघाईको व्यावसायिक सफलताको कथा निकै प्रेरक छ । उनले २३ वर्षको कलिलो उमेरदेखि नै बुवासँग व्यवसायका आधारभूत कुराहरू सिक्दै भुइँ तहबाट काम सुरु गरेका थिए । आज उनी र उनको समूहले सञ्चालन गरेको त्रिवेणी स्पिनिङ मिल्स नेपालकै दोस्रो ठूलो धागो उद्योगको रूपमा स्थापित छ ।
जहाँ २ हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । यो उद्योगले तेस्रो मुलुकमा ठूलो मात्रामा निर्यात गरी विदेशी मुद्रा आर्जनमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई सीआईपी सम्मानबाट समेत विभूषित गरिसकेको छ ।
सांघाईको सफलता धागो उद्योगमा मात्र सीमित छैन । उनको नेतृत्व र लगानीमा सिमेन्ट, चिया, खाद्यान्न, कृषि र जलविद्युत जस्ता विविध क्षेत्रमा उद्योगहरू फैलिएका छन् ।
’टोकला चिया’ जस्तो लोकप्रिय ब्रान्डदेखि लिएर निर्माण क्षेत्रमा प्रयोग हुने सिमेन्टसम्म उनको औद्योगिक सफलताका प्रमाण हुन् । यसका साथै, नेपालको वित्तीय क्षेत्रमा अग्रणी स्थानमा रहेको एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स जस्ता संस्थाहरूमा पनि उनको महत्वपूर्ण भूमिका र प्रवद्र्धन रहेको छ ।
उनले केवल नाफाका लागि मात्र व्यवसाय गरेनन् । बरु स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै हजारौँ नेपाली हातहरूलाई रोजगारी दिने महान् कार्य गरेका छन् । जसले गर्दा आज त्रिवेणी ग्रुप १५ हजारभन्दा बढी कर्मचारीको एउटा ठूलो परिवार बनेको छ ।
निजी क्षेत्रको समस्या बुझाई र भरोसायोग्य आवाज
सांघाई केवल आफ्ना उद्योगहरूको पर्खालभित्र सीमित छैनन् । उनी निजी क्षेत्रले भोग्नुपरेका सानादेखि ठूला समस्याहरूसँग प्रत्यक्ष साक्षात्कार भएका व्यक्तित्व हुन् । “एउटा उद्योग भनेको तीन शब्दको संरचना मात्र होइन, यसभित्र दैनिक रूपमा अनेकौँ समस्याहरू आइरहन्छन्,“ भन्ने उनको भोगाइ छ ।
लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य भएर काम गरिसकेका कारण उनलाई नीतिगत समस्या र श्रम विवादका बारेमा गहिरो ज्ञान छ ।
विशेष गरी रोजगारदाता परिषद्मा उनको अनुभवले निजी क्षेत्र र श्रमिकबीचको सम्बन्धलाई कसरी सन्तुलित बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट मार्गचित्र प्रदान गर्दछ । उनले बुझेका छन् कि जबसम्म निजी क्षेत्रको आवाजलाई संस्थागत रूपमा सरकारसम्म पुर्याइँदैन, तबसम्म एउटा उद्योगीको व्यक्तिगत प्रयासले मात्र ठूला समस्याहरू समाधान हुन सक्दैनन् ।
खर्बौँको लगानी र लाखौँको रोजगारी जोखिममा परेका बेला एउटा अनुभवी र परिपक्व नेतृत्वको आवश्यकता हुन्छ । जसले सरकारसँग समन्वय गरी व्यवसायीका समस्यालाई नीतिगत रूपमै समाधान गराउन सकोस् ।
सांघाईमा रहेको त्यही आत्मविश्वास र सबैलाई मिलाएर लैजान सक्ने मिलनसार स्वभावले गर्दा नै आज धेरै व्यवसायीहरूले उनलाई आफ्नो अभिभावकको रूपमा हेर्ने गरेका छन् । उनी अबको समय निजी क्षेत्रको हकहितका लागि पूर्ण रूपमा समर्पित गर्न चाहन्छन्, किनकि उनको व्यावसायिक जिम्मेवारी अहिले नयाँ पुस्ताले सम्हालिसकेको छ ।
जीवन यात्रा र त्रिवेणी ग्रुपको विरासत
त्रिवेणी ग्रुपको इतिहास ८० वर्षभन्दा पुरानो छ । जुन सन् १९३० को दशकमा गोपाल राय सांघाईले कपडा व्यापारबाट सुरु गरेका थिए । एउटा सानो व्यापारबाट सुरु भएको यो यात्रा आज ४८ वटा कम्पनीहरूको विशाल सञ्जालमा परिणत भएको छ ।
रामचन्द्र सांघाई आफ्नो परिवारको यही विरासत र मूल्य मान्यतालाई जोगाउँदै अघि बढेका छन् । उनको परिवारमा एकता र समूहगत कार्यलाई ठूलो महत्व दिइन्छ, । जुन कुरा उनका दाजुहरू पुरुषोत्तमलाल, सुभाषचन्द्र र धीरेन्द्र कुमार सांघाईको नेतृत्वमा पनि झल्किन्छ ।
’त्रिवेणी’ शब्दको अर्थ तीन नदीहरूको मिलन भए जस्तै यो ग्रुप पनि इमानदारिता, विश्वास र अपनत्वको त्रिवेणी हो । व्यवसाय केवल धन कमाउने माध्यम मात्र होइन, यो त समाजलाई केही दिने र देशको जीवनस्तर उकास्ने एउटा प्रण भएको संघाई बताउछन् ।
आधुनिक प्रविधि र पुरानो पुस्ताको अनुभवलाई फ्युजन गर्दै उनले त्रिवेणी ग्रुपलाई एउटा उदाहरणीय पारिवारिक व्यवसायको रूपमा स्थापित गरेका छन् ।
रामचन्द्र सांघाई एक यस्ता व्यक्तित्व हुन् जसको जीवनको हरेक पानामा संघर्ष, निष्ठा र सफलताका कथाहरू कोरिएका छन् । उनको ३६ वर्षको व्यावसायिक अनुभव, १५ हजारभन्दा बढीलाई दिएको रोजगारी र निजी क्षेत्रप्रतिको उनको समर्पणले उनलाई केवल एक उद्योगी मात्र होइन ।
बरु एक सफल र दूरदर्शी नेतृत्वको रूपमा खडा गरेका छन् । नेपालको निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन र उद्योगीहरूको शिर उच्च बनाउन उनको जस्तो अनुभवी र निष्ठावान् पात्रको उपस्थिति आजको आवश्यकता हो । उनको यो यात्रा आगामी दिनमा झन् प्रखर र प्रभावशाली बन्ने विश्वास गर्न सकिन्छ ।
त्रिवेणीको मुख्य लक्ष पलायन रोक्नु
त्रिवेणी ग्रुपले १५ हजार भन्दा बढी मानिसहरूलाई प्रत्यक्ष रोजगारी दिएर उनीहरूको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको छ । ग्रुपको मुख्य उद्देश्य नै नेपाली जनशक्तिमा विशेष सीप विकास गर्ने र देशबाट हुने ’ब्रेन ड्रेन’ (प्रतिभा पलायन) लाई रोक्नु रहेको छ ।
स्थानीय स्तरमै गुणस्तरीय उत्पादनहरू सस्तो र सुलभ मूल्यमा उपलब्ध गराएर नेपालीहरूको दैनिक जीवनस्तर सहज बनाउनु यस ग्रुपको मुख्य लक्ष्य हो । यस ग्रुपका उत्पादन र सेवाहरूले दैनिक १० लाखभन्दा बढी मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन् ।
औद्योगिक विकाससँगै वातावरण जोगाउनु आफ्नो जिम्मेवारी ठान्दै यस ग्रुपले उद्योगहरूमा आधुनिक र दक्ष प्रविधिको प्रयोग गरी ’कार्बन फुटप्रिन्ट’ घटाउने र नेपाललाई स्वच्छ र हरियाली बनाउने लक्ष्य राखेको छ ।
तेस्रो मुलुकमा स्वदेशी उत्पादन (जस्तै: धागो) निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने र देशको व्यापार घाटा कम गर्न योगदान पुर्याउने काममा पनि यो ग्रुप सक्रिय छ । जसका लागि सरकारले यसलाई सम्मान समेत गरेको छ ।
त्रिवेणी ग्रुपले केवल सम्पत्ति मात्र होइन, बरु ज्ञान, रोजगारी र अवसरहरू सिर्जना गरेर समाजलाई समृद्ध बनाउनु नै आफ्नो वास्तविक व्यवसाय ठान्दछ ।















