युद्ध अन्त्य गर्न इरानले अघि सारेका मुख्य पाँच सर्तहरू के के हुन्?
काठमाडाैं । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र जारी युद्धका बीच इरानले युद्ध रोक्नका लागि आफ्ना पाँचवटा मुख्य सर्तहरू अघि सारेको छ।
इरानी राज्य टेलिभिजनका अनुसार, क्षेत्रीय सुरक्षा र आफ्नो सार्वभौमसत्तालाई केन्द्रमा राख्दै इरानले यी सर्तहरू सार्वजनिक गरेको हो। यसअघि अमेरिकाले युद्ध विरामका लागि १५ बुँदे शान्ति प्रस्ताव पठाएको पृष्ठभूमिमा इरानको यो प्रतिक्रिया आएको हो।
इरानले अघि सारेका सर्तहरूमा पहिलो, शत्रु पक्षबाट भइरहेका सबै प्रकारका आक्रमण र लक्षित हत्याहरू पूर्ण रूपमा बन्द हुनुपर्ने उल्लेख छ। दोस्रो, भविष्यमा इरानमाथि फेरि युद्ध थोपरिने छैन भन्ने सुनिश्चित गर्न ठोस र भरपर्दो संयन्त्र स्थापना गरिनुपर्ने इरानको माग छ। तेस्रो सर्तका रूपमा, युद्धबाट भएको भौतिक तथा मानवीय क्षतिको ग्यारेन्टीसहित स्पष्ट क्षतिपूर्ति भुक्तानी हुनुपर्ने अडान तेहरानले राखेको छ।
चौथो सर्तमा, यो युद्ध केवल एक क्षेत्रमा मात्र नभई सम्पूर्ण मोर्चा र क्षेत्रभरि संलग्न रहेका सबै “प्रतिरोध समूहहरू” (Resistance Groups) का लागि पूर्ण रूपमा अन्त्य हुनुपर्ने उल्लेख छ। पाँचौँ र निकै महत्त्वपूर्ण सर्तका रूपमा, विश्वकै व्यापारिक मार्ग मानिने जलडमरू स्ट्रेट अफ हर्मुजमाथि आफ्नो अधिकार प्रयोग गर्ने इरानको सार्वभौम अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता र ग्यारेन्टी गरिनुपर्ने माग इरानले गरेको छ।
युद्ध सुरु भएको लामो समय बितिसक्दा पनि दुवै पक्षबाट भारी क्षति भएको छ। अहिलेसम्मको तथ्यांक अनुसार युद्धका कारण हजारौँको संख्यामा सैन्य तथा नागरिक हताहती भएको छ भने अर्बौँ डलर बराबरको पूर्वाधार ध्वस्त भइसकेको छ।
विशेष गरी ऊर्जा आपूर्ति र विश्व बजारमा तेलको मूल्यमा आएको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ। मानवीय संकट गहिरिँदै गएपछि अन्तर्राष्ट्रिय समुदायबाट युद्ध रोक्न ठूलो दबाब सिर्जना भएको छ।
यता अमेरिकाले यो युद्ध रोक्न विशेष चासो देखाएको छ। अमेरिकी चुनावको नजिकिँदो समय र मध्यपूर्वमा आफ्ना सैन्य अखडाहरूमाथि परिरहेको जोखिमलाई मध्यनजर गर्दै वासिङ्टनले युद्ध विराम चाहेको विश्लेषण गरिएको छ।
यसैका लागि अमेरिकाले १५ बुँदे शान्ति प्रस्ताव पठाएको थियो, जसमा हतियार व्यवस्थापन र सीमा सुरक्षाका विषयहरू समावेश थिए। तर, इरानले आफ्ना ५ सर्तहरू राखेपछि अब वार्ता कुन दिशामा जान्छ भन्ने चासोको विषय बनेको छ।













