जीवन बीमा कम्पनीको व्यवसाय ४२ प्रतिशतले बढ्यो, नेपाल लाइफले ४७ अर्ब गर्दा अन्य कस्तो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जीवन बीमा कम्पनीको व्यवसाय ४२ प्रतिशतले बढ्यो, नेपाल लाइफले ४७ अर्ब गर्दा अन्य कस्तो ?



काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूको समग्र व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको व्यवसायमा ४२.६४ प्रतिशतको ठूलो छलाङ्ग देखिएको हो ।

तथ्यांक अनुसार गत वर्ष फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख ३१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोमा यस वर्षको फागुन मसान्तसम्म आइपुग्दा यो रकम बढेर १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । बजारमा देखिएको आर्थिक तरलताको बाबजुद बीमा व्यवसायमा देखिएको यो वृद्धिले सर्वसाधारणमा बीमाप्रतिको विश्वास र पहुँच बढ्दै गएको पुष्टि गर्दछ ।

नेपाल लाइफको आक्रामक बजार हिस्सा र अन्य कम्पनीको अवस्था
जीवन बीमा बजारमा आफ्नो बलियो पकड कायम राख्दै नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । तथ्यांक अनुसार नेपाल लाइफले एक्लै ४७ अर्ब ७९ करोड १ लाख ७६ हजार रुपैयाँ को व्यवसाय गर्न सफल भएको छ ।
गत वर्ष यसै अवधिमा कम्पनीले ३२ अर्ब ९७ करोड ५७ लाख ७ हजार रुपैयाँको कारोबार गरेको थियो, जसमा यस वर्ष ४४.९३ प्रतिशतको वृद्धि देखिएको छ ।

सोही अवधिमा नेशनल लाइफले २२ अर्ब २२ करोड ८३ लाख ५२ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दै दोस्रो स्थानमा छ ।

एलआइसी नेपालले १९ अर्ब ९२ करोड ५५ लाख ८७ हजार रुपैयाँको कारोबार गरेको छ । हिमालयन लाइफ भने १७ अर्ब ६५ करोड २ लाख ६७ हजार रुपैयाँको व्यवसाय संकलन गर्न सफल भएको छ ।

सूर्यज्योति लाइफको ११ अर्ब ७ करोड २ लाख ९४ हजार रुपैयाँको कारोबार गरेको तथ्यांकमा देखिएको छ ।

त्यसैगरी, मध्यम स्तरको व्यवसाय गर्ने कम्पनीहरूमा राष्ट्रिय जीवन बीमाले ९ अर्ब ८५ करोड ६६ लाख, एशियन लाइफले ९ अर्ब १९ करोड ३० लाख, सिटिजन लाइफले ७ अर्ब ३३ करोड ९१ लाख र सानीमा रिलायन्सले ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेका छन् ।
मेट लाइफ, आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल र सन नेपाल लाइफले क्रमश: ३ अर्ब देखि ६ अर्ब रुपैयाँको बीचमा व्यवसाय गरेका छन् ।

व्यवसाय बढाउनेमा हिमालय लाइफ पहिलो
प्रतिशतका आधारमा वृद्धि दर हेर्दा यस वर्ष हिमालयन लाइफ सबैभन्दा सफल देखिएको छ । हिमालयन लाइफको व्यवसायमा ५०.६५ प्रतिशत को उच्च वृद्धि देखिएको छ ।

त्यस्तै, सुर्यज्योति लाइफले ४८.८२ प्रतिशत, नेशनल लाइफले ४८.१७ प्रतिशत र एलआइसी नेपालले ४८.०३ प्रतिशतको वृद्धि हासिल गरेका छन् । यी कम्पनीहरूले औसत ४२ प्रतिशतको बजार वृद्धिलाई माथ दिएका छन् ।

तुलनात्मक रूपमा कम वृद्धि दर भएका कम्पनीहरूको विश्लेषण गर्दा राष्ट्रिय जीवन बीमा सबैभन्दा कमजोर देखिएको छ । यसको वृद्धि दर मात्र १२.७४ प्रतिशत रहेको छ । जुन समग्र बजार औषतको तुलनामा निकै कम हो । त्यसैगरी, आइएमई लाइफले २६.०७ प्रतिशत र रिलायबल नेपालले ३२.२७ प्रतिशतको वृद्धि हासिल गरेका छन् ।

साथै, मेट लाइफको ४७.२० प्रतिशत, एशियन लाइफको ४३.९८ प्रतिशत, सानीमा रिलायन्सको ४३.४६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४२.४१ प्रतिशत, सन नेपाल लाइफको ४१.५० प्रतिशत र सिटिजन लाइफको ३७.८० प्रतिशत व्यवसाय वृद्धि भएको प्रधिकारणले जनाएको छ ।

सबै १४ वटा जीवन बीमा कम्पनीहरूको व्यवसाय बढेको देखिन्छ । कुनै पनि कम्पनीको व्यवसायमा गिरावट नआउनु बीमा क्षेत्रका लागि सकारात्मक संकेत हो ।

हिमालयन लाइफ र सुर्यज्योति लाइफ जस्ता कम्पनीहरूले पछिल्लो समय अपनाएको बजार रणनीतिले उनीहरूलाई उच्च ग्रोथ रेट दिलाउन मद्दत गरेको विश्लेषण गर्न सकिन्छ ।

यद्यपि, रकमका आधारमा भने नेपाल लाइफको झन्डै ४८ अर्बको व्यवसायले उसलाई बजारको ’लिडर’ को रूपमा निर्विकल्प उभ्याएको छ ।


प्रतिक्रिया दिनुहोस्