पूर्वगृहमन्त्री लेखक अदालतमा उपस्थित, ओलीलाई पनि लैजाने तयारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वगृहमन्त्री लेखक अदालतमा उपस्थित, ओलीलाई पनि लैजाने तयारी



काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा भएको भीषण दमन र मानवीय क्षतिको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।

शनिबार सार्वजनिक बिदा परेका कारण हिरासतमा राखिएका उनलाई म्याद थप र अनुसन्धानका लागि आज अदालत पुर्‍याइएको हो। सोही प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराइँदैछ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रदर्शनका क्रममा भएको ७६ जनाको मृत्यु र हजारौं घाइते भएको घटनामा दोषी ठहर्‍याउँदै कारबाहीको सिफारिस गरेको थियो।

उक्त आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र राष्ट्रपति भवन लगायतका क्षेत्रमा समेत तोडफोड र आगजनी भएको थियो। चैत १३ गते गठित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै चैत १४ गते शनिबार दुवै नेतालाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेपछि स्वास्थ्य जाँचका क्रममा चिकित्सकको सल्लाह अनुसार अध्यक्ष ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने नेता लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो।


प्रतिक्रिया दिनुहोस्