७ श्रावण २०८३, बिहिबार

४ वर्षपछि पहिलो पटक खुम्चियो बीवाईडीः बिक्री ७.७ प्रतिशतले बढ्दा पनि कसरी घट्यो नाफा?



काठमाडौँ । विश्वकै अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीका लागि सन् २०२५ को अन्त्य र सन् २०२६ को सुरुवात केही चुनौतीपूर्ण देखिएको छ।

विगत चार वर्षको अवधिमा पहिलो पटक कम्पनीको वार्षिक शुद्ध नाफामा १९ प्रतिशतको गिरावट आएको छ, जसका कारण नाफा ४ अर्ब ७१ करोड अमेरिकी डलर (३२ अर्ब ६० करोड युआन) मा सीमित हुन पुगेको छ। यसअघि सन् २०२४ मा कम्पनीले ५ अर्ब ८३ करोड अमेरिकी डलर (४० अर्ब ३० करोड युआन) नाफा आर्जन गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार सन् २०२५ मा कुल राजस्व ११६ अर्ब ३२ करोड अमेरिकी डलर (८०४ अर्ब युआन) पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा मात्र ३.५ प्रतिशतको सामान्य वृद्धि हो, जुन विगत ६ वर्षयताकै सबैभन्दा सुस्त वृद्धिदरका रूपमा रेकर्ड गरिएको छ।

सन् २०२४ काे तुलनामा बीवाईडीकाे बिक्री ७.७ प्रतिशतले बढेकाे छ। एक वर्षमा कम्पनीले कुल ४६ लाख थान सवारी साधन बिक्री गरेकाे हाे । बिक्रिमा सामान्य वृद्धि देखिए पनि कम्पनीकाे नाफा भने घटेकाे छ। बजारमा धेरै संख्यामा गाडीहरू बिक्री भए पनि प्रति सवारी साधनबाट प्राप्त हुने मुनाफामा ठूलो ह्रास आएको कम्पनीले जनाएकाे छ।

नाफामा गिरावट आउनुको मुख्य कारण चीनको आन्तरिक बजारमा चलेको तीव्र ‘मूल्य युद्ध’ लाई मानिएको छ। टेस्ला, जिली र साओमी जस्ता बलिया प्रतिस्पर्धी कम्पनीहरूसँगको प्रतिस्पर्धामा टिक्नका लागि बीवाईडीले आफ्ना चर्चित मोडलहरूको मूल्यमा भारी कटौती गर्नुपर्ने बाध्यता छ।

यस्तै, चिनियाँ सरकारले सस्तो मूल्यका अर्थात् २१ हजार ७०० अमेरिकी डलर (१ लाख ५० हजार युआन) भन्दा मुनिका विद्युतीय गाडीमा दिँदै आएको कर छुट र अनुदान सम्बन्धी सुविधा हटाएपछि कम्पनीलाई थप मार परेको छ। विशेष गरी कम बजेटका गाडीहरूमा निर्भर रहेको बीवाईडीका लागि नीतिगत परिवर्तनले माग र नाफाको अन्तर दुवै खुम्च्याइदिएको छ।

सन् २०२५ को यो निराशाजनक नतिजापछि कम्पनीले सन् २०२६ को सुरुवातदेखि नै निकै आक्रामक व्यावसायिक रणनीति अपनाएको छ। सन् २०२६ को पहिलो तीन महिना अर्थात् जनवरीदेखि मार्चको अवधिमा कम्पनीले आफ्नो पाँचौँ पुस्ताको हाइब्रिड प्रविधि सार्वजनिक गरेको छ।

यस नयाँ प्रविधि मार्फत एक पटकको इन्धन र पूर्ण चार्जमा २,००० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सकिने दाबी गरिएको छ।

साथै, बीवाईडीले चीन बाहिरका ११९ देशहरूमा आफ्नो बजार विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ भने युरोप र दक्षिण-पूर्वी एसियाका विभिन्न स्थानमा नयाँ उत्पादन कारखानाहरू स्थापना गर्ने प्रक्रियालाई समेत द्रुत गतिमा अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस्