७ श्रावण २०८३, बिहिबार

तेलको मूल्य आकाशिँदा ८ महिनामा इभी गाडी १६ अर्ब ३३ करोडको भित्रियो



काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ ।

इरान समर्थित हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष सहभागी भएपछि र इरानले होर्मुज जलडमरू ठप्प पार्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा हलचल मच्चिएको छ ।

विश्वको २० प्रतिशत तेल आपूर्ति हुने मार्गमा अवरोध हुँदा आगामी हप्ताहरूमा तेलको मूल्य प्रति ब्यारेल १३० डलरसम्म पुग्न सक्ने विज्ञहरूको अनुमान छ । यसको सिधा असर नेपालमा पनि देखिएको छ ।

जहाँ चैत महिनाको छोटो अवधिमै पेट्रोलको भाउ प्रति लिटर ३० रुपैयाँ र डिजेल २५ रुपैयाँले बढिसकेको छ । पेट्रोलियम पदार्थको यो अनियन्त्रित मूल्य वृद्धि र वैदेशिक मुद्राको सञ्चितिमा परेको दबाबका बीच नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयातले ठुलो राहत दिएको छ ।

८ महिनामा १९ हजार ४७७ युनिट इभी आयात
चालु आर्थिक वर्ष २०८२–८३ को भन्सार विभागको पछिल्लो ८ महिनाको तथ्यांकअनुसार नेपालमा विद्युतीय सवारीको प्रयोग निकै उत्साहजनक देखिएको छ । सो अवधिमा नेपालले कुल १९ हजार ४७७ युनिट विद्युतीय सवारी साधन आयात गरेको छ । यी सवारी साधन आयात गर्दा नेपालबाट कुल १६ अर्ब ३३ करोड ७४ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ ।

तेलको मूल्यमा भइरहेको वृद्धिले गर्दा उपभोक्ताहरू इन्धन इन्जिनबाट विद्युतीय सवारीतर्फ आकर्षित हुँदा यो तथ्यांक सम्भव भएको हो । यसले गर्दा भविष्यमा पेट्रोलियम पदार्थमा हुने परनिर्भरता र व्यापार घाटा कम गर्न मद्दत पुग्ने देखिएको छ ।

इभीमा चीनको वर्चस्व
नेपालमा इभी आयात हुने देशहरूको सूचीमा छिमेकी मुलुक चीनको एकलौटी वर्चस्व देखिएको छ । ८ महिनामा चीनबाट मात्रै ११ अर्ब ४९ करोड ४५ लाख ८३ हजार रुपैयाँ बराबरको १६ हजार ३६१ युनिट विद्युतीय सवारी भित्रिएका छन् ।

दोस्रो स्थानमा रहेको भारतबाट २ हजार ६५० युनिट सवारी आयात भएको छ । जसको मूल्य ३ अर्ब ४४ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, थाइल्याण्डबाट १ अर्ब २४ करोड ३२ लाख ९१ हजार रुपैयाँ बराबरको ४४० युनिट सवारी नेपाल भित्रिएका छन् ।

सोही अबधिमा जर्मनीबाट १० युनिट गाडी ७ करोड ६६ लाख ६ हजार रुपैयाँ बजारबको , अमेरिकाबाट १२ युनिट ५ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको, कोरियाबाट २ युनिट १ करोड ५७ लाख २४ हजार रुपैयाँ रुपैयाँ बराबरको, अस्ट्रियाबाट १ युनिट ६७ लाख ९६ हजार रुपैयाँको, यूकेबाट १ युनिट ४९ लाख ८८ हजार रुपैयाँ बराबरको गाडि आयात भएको छ ।

राज्यलाई ९ अर्ब ५८ करोड राजस्व
विद्युतीय सवारीको आयात बढ्दा राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । ८ महिनाको अवधिमा इभी आयातबाट मात्रै सरकारले ९ अर्ब ५८ करोड ९२ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये चीनबाट आयातित सवारीबाट ६ अर्ब ८१ करोड ९४ लाख र भारतबाट आयातित सवारीबाट १ अर्ब ८३ करोड २६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेका बेला नेपालमा बढेको इभीको यो लहरले एकातिर उर्जा सुरक्षाको ग्यारेन्टी गरेको छ भने अर्कोतिर वातावरण संरक्षण र आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।


प्रतिक्रिया दिनुहोस्