मुग्लिन-नागढुंगा सडक ३ दिन राति ६ घण्टा बन्द हुने
काठमाडौँ । मुग्लिन-नागढुंगा सडक खण्डको स्तरोन्नति कार्यका लागि आगामी चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिर लगायतका जोखिमपूर्ण स्थानहरूमा सडक सुधारको काम गर्नुपर्ने भएकाले तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
सडक आयोजनाका अनुसार, दिउँसोको समयमा सवारी साधनको चाप अत्यधिक हुने र काम गर्न कठिन हुने भएकाले रातिको समय छनोट गरिएको हो।
यस अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरूलाई रोक लगाइनेछ।













