प्रधानन्यायाधीश राउतको कार्यकाल भोली सकिन्दै, सपना प्रधान मल्लले कायममुकायम
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका राउतले संवैधानिक प्रावधानअनुसार अवकाश पाउन लागेका हुन् ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अझै टुङ्गो नलागेकाले अब सर्वोच्चको नेतृत्व वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा सम्हाल्ने भएकी छिन् ।
नियुक्तिमा ढिलाइ हुनुको कारण संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश अवकाश हुनु एक महिनाअघि नै नयाँ सिफारिस हुनुपर्ने भए पनि राजनीतिक अवस्थाका कारण यो सम्भव हुन सकेन ।
तत्कालीन समयमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार रहेको र संसद् तथा प्रमुख प्रतिपक्षी दलको नेता लगायतका पदहरू रिक्त रहेकाले संवैधानिक परिषद् पूर्ण हुन सकेको थिएन । हालको परिषद्मा पनि प्रधानमन्त्री बालेन शाह, प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष मात्र सदस्य रहेकाले सिफारिस प्रक्रिया अघि बढ्न सकेन ।
रोष्टरमा रहेका सम्भावित नामहरू न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्य ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ ।
जसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कम्तीमा तीन वर्ष काम गरेका व्यक्तिहरू यस पदका लागि योग्य मानिन्छन् ।













