महासंघमा फेरि पनि वर्चस्वको टकराव, वास्तविक चुनाव चन्द्र र अञ्जनबीच! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महासंघमा फेरि पनि वर्चस्वको टकराव, वास्तविक चुनाव चन्द्र र अञ्जनबीच!



चैतमा पनि घाम ताप्नुपर्ने काठमाडौँको मौसमलाई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको चुनावी सरगर्मीले राम्रैसँग तताउन थालेको छ । तर यो चुनावमा वास्तविक रुपमा ती उमेदवारहरु भिड्दै छन्, जसको नाम मतपत्रमा कतै भेटिने छैन ।

काठमाडौँ । सो त, नेपाल उद्योग वाणिज्य महासंघका हरेकजसो चुनावहरु त्यहाँभित्रका ‘कालजयी’ नेताहरुको प्रतिष्ठाको लडाइँ बन्दै आएको छ । विगतदेखिकै यो दृष्य फेरि एक पल्ट ‘मञ्चन’ हुने लगभग निश्चित भएको छ ।

यही चैत २९ र ३० गतेका लागि डाकिएको छ साधारण सभाले महासंघको भावि केन्द्रिय कार्यसमितिका लागि अध्यक्ष बाहेकका सबै पदको टुङ्गो लगाउने छ । भावि अध्यक्षका लागि भने अञ्जन श्रेष्ठ तीन वर्षदेखि प्रतीक्षामा छन् ।

तर यो चुनावमा उमेदवारहरुको जुन सूची आउँदै छ, वास्तवमा ती मानिसहरु चुनावी मैदानमा छायाँ परेका छन् । किनकी, वर्तमान अध्यक्ष र बरिष्ठ उपाध्यक्षले बेग्लाबेग्लै प्यानल तयार पारेका छन् । अर्थात् अबको चुनाव वर्तमान अध्यक्ष चन्द्र ढकाल र भावि अध्यक्ष अञ्जन श्रेष्ठबीच हुने पक्कापक्की भएको छ ।

चन्द्र ढकालले हेमराज ढकाललाई भावि कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष बनाउने गरी टीम बनाइरहेका छन् । हेमराज तिनै चण्डिराज ढकालका भाइ हुन्, जसले महासंघको इतिहासमै सबैभन्दा लामो समय चुनावी राजनीतिमा केन्द्रिय भूमिका निर्वाह गर्दै आएका थिए । चण्डीले जसलाई समर्थन गर्छन्, उसैले चुनाव जित्ने अवस्था त्यहाँ लामो समय थियो ।

अञ्जनले भने बरिष्ठ उपाध्यक्ष त अहिलेसम्म छान्न सकेका छैनन्, तर बाँकी प्यानल भने लगभग बनाइसकेका छन् । गत साता अर्थात् चैत ९ गते काठमाडौंको एउटा तारे होटेलमा वस्तुगत समूहको उपाध्यक्षका उमेदवार शिवप्रसाद घिमिरेको उमेदवारी घोषणा सभामा चार जना उपाध्यक्षको उमेदवारी घोषणा भएको थियो ।

अञ्जनले तयार पारेको समूहकमा घिमिरेका अलावा एसोसियट उपाध्यक्षको उमेदवार प्रबलजंग पाण्डे छन् । जिल्ला–नगरको तर्फबाट उपाध्यक्षका उमेदवारहरुमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन् । यो समूहले बरिष्ठ उपाध्यक्ष छान्न सकिरहेको छैन । जसमा सुरकृष्ण वैद्य र रामचन्द्र सांघाईमध्ये एक जना बरिष्ठ उपाध्यक्षका उमेदवार बनाउन सक्ने चर्चा छ । तर दुबै जना बरिष्ठ उपाध्यक्षमा भिड्न आफ्नो शक्ति लगाइरहेका छन् ।

सुरकृष्ण अहिले जिल्ला–नगर तर्फबाट उपाध्यक्ष छन् भने रामचन्द्र यसअघि नै बरिष्ठ उपाध्यक्ष भिडेका थिए । त्यतिबेला सांघाईलाई थोरै मतले उछिनेर अञ्जन बरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए ।

उता चन्द्रले तयार पारेको टोलीमा हेमराजलाई वरिष्ठ उपाध्यक्षमा अघि सारेका छन् । उनी अहिले वस्तुगततर्फबाट उपाध्यक्ष छन् । उनको टीममा एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला–नगरतर्फ उमेश डाल्मिया र कल्पना गैह्रे, महिला उपाध्यक्षमा कमला श्रेष्ठ चुनावी मैदानमा उत्रिँदै छन् । भलै, यस प्यानललाई चन्द्र ढकालले ‘खुल्ला समर्थन’ दिइसकेका छैनन् ।

यही कारण चैत ९ कै औपचारिक समारोहका दौरान चन्द्र ढकाल र अञ्जन श्रेष्ठबीच नोकझोँक समेत भएको थियो । चन्द्रले आफ्नै बरिष्ठ उपाध्यक्ष एवम् उनका उत्तराधिकारी अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी गरेको’ आरोप लगाएका छन् ।

उक्त कार्यक्रममा चन्द्रले ‘सहमतिमा नेतृत्व चुन्नुपर्ने’ बताएका थिए । महासंघलाई सशक्त र बलियो राख्न सहमतिमा नेतृत्व छान्नुपर्ने उनको प्रस्तावलाई अन्तिममा बोलेका बरिष्ठ उपाध्यक्ष अञ्जनले ‘सिधै चुनौती’ दिए । श्रेष्ठले आफ्ना अध्यक्षलाई ‘सहमतिको रटान’ नलगाउन आग्रहमात्रै गरेनन्, भविष्यमा आफ्नो नेतृत्वमा महासंघ चलाउनु पर्ने भएकाले आफू अनुकुलको कार्यसमिति तयार पार्न कोसिस गर्नुपर्ने दलिल राखे ।

अञ्जनले ‘अध्यक्ष (चन्द्र) आफैँ एउटा प्यानल बनाएर हिँड्ने र अरुलाई सहमति गर्न दबाब दिने’ दोहोरो चरित्र देखाएको भन्दै रोष पोखे ।

अञ्जनको त्यही तर्कलाई ‘काउण्टर’ दिन चन्द्रले एक हप्ता कुरेर हिजो सोमबार सोल्टी होटेलको मञ्च उपयोग गरे । त्यहाँबाट उनले भने, ‘यदी भावि अध्यक्ष तटस्थ नबसेर प्यानल बनाउने हो भने म पनि खुल्ला रुपमै मैदानमा उत्रिन्छु ।’ त्यसो त चन्द्र ढकाल खुल्ला रुपमा नउत्रिए पनि उनको झुकाव र नेतृत्वबारे सबै व्यवसायी अवगत नै छन् । त्यसैले ‘खुल्ला प्रतिद्वन्द्व’मा उत्रिनु र नउत्रिनुमा ज्यादा अन्तर नभएको अञ्जन पक्षका व्यवसायी बताउँछन् ।

यसमा एउटा स्मरणीय पाटो के छ भने, अबको चुनावमा बरिष्ठ उपाध्यक्ष बन्ने व्यक्ति स्वत: अध्यक्ष बन्न पाउने छैनन् । महासंघले भवानी राणालाई अध्यक्ष बनाउनका लागि ल्याएको यो व्यवस्था अब खारेज गरिसकेको छ । वर्तमान कार्यसमितिले नै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई सोझै अध्यक्ष बनाउने व्यवस्था खारेज गर्ने निर्णय गरेको हो, जसको नेतृत्व चन्द्र ढकालले नै गरेका थिए ।

२०८१ असारमा विधान संशोधन गरेर हालका बरिष्ठ उपाध्यक्षको हकमा लागू नहुने गरी यस्तो व्यवस्था गरिएपछि अब हुने चुनाव भावि नेतृत्वको लागि होइन भन्ने प्रस्ट भएको छ । तर अञ्जनकै प्यानलले चुनाव जितेको अवस्थामा विधानको त्यो पुरानो व्यवस्थालाई अर्को एक कार्यकाल लम्ब्याउने गरी संशोधन गर्न सक्छन् भन्ने आशंका चन्द्र र हेमराजको प्यानललाई छ ।

त्यस्तो भएमा अर्को एक कार्यकाल पनि अध्यक्ष बन्ने ढोका बन्द हुन्छ । त्यसैले चन्द्रले हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउने गरी सहमति गर्नुपर्ने शर्त अघि सारेको व्यवसायी बताउँछन् । अञ्जनले त्यही कुरामा विरोध गरिरहेका छन् ।

श्रेष्ठ निकट व्यवसायीका अनुसार ‘सहमति गरौँ, तर त्यो सहमतिले हेमराजलाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्छ’ भन्ने ढंगको प्रस्ताव अध्यक्षले अघि सारेपछि समस्या भएको हो । अध्यक्ष ढकाल पनि ‘खाली पाना’ बोकेर वार्ताको टेबुलमा बस्ने अवस्था आएमा सहमतिको बाटो नटुंगिएको उनको बुझाइ छ ।

त्यसैले गत चुनावमा चन्द्र ढकालकै समर्थन पाएका सांघाईलाई अहिले बरिष्ठ उपाध्यक्षको उमेदवार बनाएर अञ्जनको प्यानलमा दरार सिर्जना गर्न खोजेको पनि कतिपय व्यवसायीको बुझाइ छ । ‘अहिले मारवाडी समुदाय आफैँमा अलि दबाबमा छ । यस्तो बेला सांघाईलाई उमेदवार बनाइदिँदा अञ्जनको प्यानलमा विवाद उत्पन्न गर्न सकिन्छ भन्ने रणनीति प्रयोग गरेजस्तो देखिएको छ’, एक व्यवसायीले अर्थपथसँग भने ।


प्रतिक्रिया दिनुहोस्