अमेरिका किन कुनै देशमाथि आक्रमण गर्नु अघि ‘सहायता’ को मुकुण्डो लगाउँछ ?
जब-जब अमेरिका कसैलाई ‘सहयोग’ गर्न जान्छ, तब-तब त्यहाँ बारुदको वर्षा हुन्छ। यो केवल मानवीय सहायताको भ्रम होइन, बरु डलरको अस्तित्व बचाउन खेलिएको एक घातक वैश्विक जुवा हो।
काठमाडौँ । अमेरिकी प्रशासनको ‘काम गर्ने तरिका’ (पश्चिमाहरुले एउटा प्राविधिक शब्द ‘मोडस अपरेन्डी’ भन्छन्) एउटा पुरानो र अचम्मको छ- कसैको मद्दत गर्नु छ भने उसैमाथि बम बर्साऊ। सन् १९५० को दशकमा कोरियालाई साम्यवादबाट बचाउने नाममा सुरु भएको यो शृङ्खला आज इरानको दैलोसम्म आइपुगेको छ।
सन् १९६५ मा भियतनामलाई ‘लोकतन्त्र’ सिकाउन गएको अमेरिकाले १० वर्षसम्म त्यहाँका नागरिकमाथि ‘नापाम बम’ बर्सायो। नापाम एउटा ‘जेल’ जस्तो टाँसिने पदार्थ हो, जुन पेट्रोल वा बेन्जिनलाई विशेष प्रकारको पाउडरसँग मिसाएर बनाइन्छ। यो बलेको बेला यसको तापक्रम ८००° देखि १२००° सेल्सियससम्म पुग्छ। यसले मानिसको छाला, मासु र हड्डीसमेत क्षणभरमै जलाइदिन्छ।
त्यतिमात्रै होइन, यो बलेको ठाउँमा यसले हावामा भएको सबै अक्सिजन सोसिदिन्छ, जसले गर्दा बमको प्रत्यक्ष असर नपरेका मानिसहरू पनि निसास्सिएर मर्छन्। सन् १९६३ देखि १९७३ को बीचमा अमेरिकाले भियतनाममा झन्डै ४ लाख टन नापाम बम खसालेको थियो।
भियतनामको घना जङ्गलमा लुकेका छापामारहरूलाई बाहिर निकाल्न र जङ्गल सखाप पार्न अमेरिकाले यो बम प्रयोग गरेको थियो। तर, यसको सिकार हजारौँ निर्दोष नागरिक र बालबालिकाहरू भए। सन् १९७२ मा त्यस्तै बमका कारण एक ९ वर्षीया बालिका लुगा डढेर नाङ्गै सडकमा रोइरहेको तस्वीर सार्वजनिक भयो, जसले विश्वलाई नै नापाम बमको विभत्स दृष्य देखायो ।
त्यसपछि संयुक्त राष्ट्र संघले नापाम बमलाई नागरिक इलाकामा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। त्यो युद्धमा लाखौँ भियतनामीको नरसंहार भयो । सार्वजनिक भएको तथ्यांकअनुसार अमेरिकाले पनि करीब ५८ हजार आफ्ना सैनिक गुमायो ।
आज इरानका हकमा पनि ठ्याक्कै त्यही सुनिँदैछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो भनिरहेका छन्, “हामीलाई इरानी जनतासँग समस्या छैन, हामी त उनीहरूको पैसा हतियारमा खर्च नहोस् भन्ने चाहन्छौँ।” तर विडम्बना, त्यही पैसा बचाउने नाममा अमेरिकाले इरानी नागरिककै थाप्लोमा अर्बौँ डलरका बम खसाल्दैछ। यो ‘सहायता’ को यस्तो मुकुण्डो हो, जसभित्र केवल भू-राजनीतिक स्वार्थ र प्रभुत्वको भोक लुकेको छ।
डलरको अस्तित्व
इतिहासका पाना पल्टाउँदा एउटा डरलाग्दो यथार्थ फेला पर्छ। भियतनाम युद्धले अमेरिकी अर्थतन्त्रलाई यति नराम्ररी थला पारेको थियो कि सन् १९७१ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले डलरलाई सुनसँग तुलना गर्ने ‘गोल्ड स्ट्याण्डर्ड’ नै खारेज गरिदिए।
युद्धको खर्च धान्न जथाभाबी डलर छापिएपछि विश्वको डलरमाथिको विश्वास डगमगाएको थियो। त्यसपछि जन्मिएको थियो- ‘पेट्रोडलर’ प्रणाली। साउदी अरबसँग सम्झौता गरेर तेलको व्यापार डलरमा मात्र हुने सुनिश्चित गरियो, जसले गर्दा विश्वभर डलरको माग कहिल्यै घट्न पाएन।
तर आज इरानसँगको युद्धले त्यही पेट्रोडलरको जग हल्लाईदिएको छ। विश्लेषकहरू भन्छन्, ७० को दशकमा डलर बचाउन युद्ध गरिएको थियो, आज डलरको अन्तिम अस्तित्व जोगाउन इरानलाई निशाना बनाइँदैछ। तर यसपालि परिस्थिति बदलिएको छ; इरानले चीन र रुससँग मिलेर डलर बाहेककै मुद्रामा व्यापार सुरु गरिसकेको छ, जसले डलरको वैश्विक साम्राज्यलाई अन्तिम धक्का दिन सक्छ।
आफ्नै नागरिकसँग झुट ?
अमेरिकी प्रशासनले केवल विश्वलाई मात्र होइन, आफ्नै नागरिकलाई पनि दशकौँदेखि अन्धकारमा राख्दै आएको देखिन्छ। सन् १९७१ मा ‘पेन्टागन पेपर्स’ सार्वजनिक भयो । त्यसले के भन्यो भने, अमेरिकी सरकारलाई भियतनाम युद्ध हारिँदैछ भन्ने पहिले नै थाहा थियो । तर पनि ‘जित’को झुटो आशा देखाएर युद्ध लम्ब्याइयो।
आज पनि त्यस्तै भइरहेको छ। इरानसँगको तनावलाई लिएर अमेरिकी सडकमा विद्यार्थी र सर्वसाधारण आन्दोलित छन्, तर ह्वाइट हाउस भने ‘स्ट्यागफ्लेसन’ (महँगी र मन्दी एकैसाथ बढ्ने अवस्था) को खतरालाई नजरअन्दाज गर्दै युद्धको उन्मादमा छ।
इराकमा ‘आम विनाशका हतियार’ को झुटो कथा बुनेर ३ लाख मानिस मारिए, अफगानिस्तानमा लोकतन्त्रको नाममा २० वर्षसम्म रगतको खोला बग्यो। यी सबै युद्धहरूको एउटै निष्कर्ष छ- मानवीय मूल्यको कुनै स्थान छैन, केवल अमेरिकी वर्चस्व र डलरको प्रभुत्व कायम राख्ने खेल मात्र हो।
यसको मतलव आफ्ना नागरिकलाई झुठ बोल्ने एकमात्र सरकार अमेरिकामा छ भन्ने होइन । हाम्रै देशका विगतका सरकारहरुले बारम्बार नागरिकलाई झुक्याइरहेको देखेरै भदौमा त्यति ठूलो जनआक्रोस पोखिएको थियो ।
संसारभरका सरकारले आफ्ना नागरिकलाई निश्चित लाभका आधारमा झुठ बोलिरहेका हुन्छन् । तर, अमेरिकी सरकारले बोलेको झुठका कारण विश्वले सबैभन्दा ज्यादा मानवीय मूल्य चुकाउनु परेको कतिपय विश्लेषकहरुको बुझाइ छ ।
डलरको सूर्यास्त?
विश्वका प्रख्यात अर्थशास्त्री र कूटनीतिक विश्लेषकहरूले यसलाई ‘अमेरिकी साम्राज्यको ओरालो यात्रा’ को रूपमा व्याख्या गरिरहेका छन्। धेरैको बुझाइमा, यदि इरान युद्ध अझै चर्कियो भने यसले विश्वभर डलरको विकल्प खोज्ने प्रक्रिया (डि-डलराइजेशन) लाई तीव्र बनाउनेछ।
इरानले हर्मोज जलसन्धि ठप्प पारिदिएमा तेलको मूल्य यति बढ्नेछ कि त्यसले अमेरिकी र युरोपेली अर्थतन्त्रको ढाड सेकिदिनेछ। यस्तो अवस्थामा चीनले आफ्नो नेभिगेसन सिस्टम र मुद्रा ‘युआन’ मार्फत इरानलाई दिइरहेको साथले डलरको विकल्प तयार पारिसकेको छ।
हतियार उद्योग र सट्टेबाजहरूले क्षणिक नाफा कमाए पनि, यसले विश्वलाई एउटा यस्तो आर्थिक अस्थिरतातर्फ धकेल्दैछ, जहाँबाट फर्कन असम्भव हुन सक्छ।
सट्टा बजार र युद्धको सेटिङ
अमेरिकी रक्षा मन्त्री पिट हेक्सेथमाथि लागेको एउटा पछिल्लो आरोपले विश्व राजनीतिमा भुइँचालो ल्याइदिएको छ।
‘फाइनान्सियल टाइम्स’का अनुसार इरानमाथि ठूलो सैन्य आक्रमण हुनुभन्दा केही समय अगाडि हेक्सेथले हतियार निर्माण गर्ने कम्पनीहरूको शेयरमा करोडौँ डलर लगानी गर्ने योजना बुनेका थिए। यद्यपि प्राविधिक कारणले त्यो लगानी सफल हुन सकेन, तर नियत प्रस्ट देखियो।
रक्षा मन्त्री जस्तो जिम्मेवार व्यक्तिले युद्धको पूर्वसूचनाको आधारमा पैसा छाप्न खोज्नु ‘इन्साइडर ट्रेडिङ’ बाहेक अरू ‘के हुन सक्छ’ भनेर अहिले प्रश्न उठ्यो । त्यसपछि पेन्टागनले यो रिपोर्टलाई ‘फेक’ भन्दै हटाउन दबाब दिएका खबरहरुले इन्टरनेटमा प्रसस्त पाइन्छन् ।
अचम्मको कुरा त के छ भने, इरानमा कतिबेला बम खस्छ र कतिबेला युद्ध रोकिन्छ भन्ने कुराको जानकारी ह्वाइट हाउसभन्दा पहिले अमेरिकी सट्टा बजारका खेलाडीहरूलाई हुने गरेको बताइन्छ। ट्रम्पले ‘ट्रुथ सोसल’मा एउटा पोस्ट हाल्छन् र तेलको भाउ घटबढ हुन्छ।
हरेक सोमबार बजार खुल्नुअघि ट्रम्पको ‘शान्तिदूत’ अवतार देखिन्छ, जसले शेयर बजारलाई एउटा दिशा दिन्छ र केही सीमित मानिसहरूले अर्बौँ मुनाफा कुम्ल्याउँछन्।
गार्जियनको रिपोर्ट अनुसार सट्टा बजारमा ठूलो संख्यामा नयाँ खाताहरू खोलिएका छन्, जसले युद्धको हरेक मोडमा पहिले नै दाउ लगाइरहेका छन्। यो केवल संयोग हुन सक्दैन; यो त सूचना चुहावटको एउटा संगठित सञ्जाल हो।
बर्बादीको बजेट र मानवीय मूल्य
इरानलाई उसको रक्षा खर्चको उपदेश दिने अमेरिका आफैँ भने युद्धमा पैसा फ्याँक्ने मामिलामा सबैभन्दा अगाडि छ। सन् १९९१ पछिका युद्धहरूमा अमेरिकाले झन्डै ८ ट्रिलियन डलर खरानी बनाइसकेको छ। यो रकम यति ठूलो हो कि यसले भारतको कुल गार्हस्थ्य उत्पादनलाई समेत उछिन्न सक्छ।
यो पैसाले ७०० वटा विशाल एक्सप्रेसवे बनाउन सकिन्थ्यो वा अफ्रिकाका भोका मानिसहरूलाई दशकौँसम्म खुवाउन सकिन्थ्यो। तर, ट्रम्प प्रशासनले मानवीय सहायता दिने संस्थाहरूको बजेट काट्दै बम र मिसाइलमा लगानी गरिरहेको छ।
भियतनाम र अफगानिस्तान युद्धको घाउ अझै निको नभएको अमेरिका फेरि अर्को महँगो युद्धको दलदलमा फसेको छ, जहाँ सेनाको रगत बगिरहेको छ र नेताका छोराहरूको क्रिप्टो व्यवसाय फस्टाइरहेको छ।
कबीरले भनेझैँ, मानिसको लोभ र तृष्णा मेटिँदैन, तर यो लोभले आज संसारलाई नै एउटा ठूलो विनाशको संघारमा उभ्याएको छ।
–एजेन्सीहरुको सहयोगमा ।













