अर्थतन्त्रको ‘कोर्स करेक्सन’ मा डा. वाग्ले: एक सातामा के-के गरे काम ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्रको ‘कोर्स करेक्सन’ मा डा. वाग्ले: एक सातामा के-के गरे काम ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो सातामै अर्थतन्त्रको संरचनागत सुधारका लागि कडा कदम चाल्न सुरु गरेका छन्।

पदबहालीको सात दिनभित्रै उनले प्रशासनिक सुधारदेखि नीतिगत मार्गचित्र निर्माणसम्मका दर्जनौँ महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयनमा ल्याएका हुन्।

प्रशासनिक शुद्धीकरणदेखि नीतिगत मार्गचित्र निर्माणसम्म उनले चालेका ६ प्रमुख कदमहरू यस प्रकार छन्:

नीतिगत प्रस्थान र स्पष्ट मार्गचित्र: पदभार ग्रहणकै दिन अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्न ‘आर्थिक स्थितिपत्र’ तयार गर्ने, चुनावी प्रतिबद्धता पूरा गर्न ‘१०० दिने कार्ययोजना’ बनाउने र असान्दर्भिक भइसकेका १५ वटा पुराना ऐनहरू खारेजीको प्रक्रिया अघि बढाउने गरी तीनवटा दूरगामी निर्णय गरेका छन्।

संयन्त्रको सुक्ष्म अनुगमन र निर्देशन: मन्त्री वाग्लेले अर्थ मन्त्रालय मातहतका ६ वटा महत्त्वपूर्ण महाशाखा, भन्सार र आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालय र नेपाल बीमा प्राधिकरणको विस्तृत ‘ब्रिफिङ’ लिएका छन्। उनले बजेट कार्यान्वयनको धिमा गति र राजस्व संकलनको चुनौतीलाई गम्भीरतापूर्वक लिँदै कर्मचारीहरूलाई प्रक्रियामुखीभन्दा नतिजामुखी काम गर्न निर्देशन दिएका छन्।

योग्यताका आधारमा पदस्थापनः प्रशासनिक सुधारको नयाँ मानक स्थापित गर्दै उनले राजस्व समूहका ३० जना उपसचिवहरूको पदस्थापन गरेका छन्। यो पदस्थापनमा कुनै पनि राजनीतिक दबाब वा भनसुनलाई स्थान नदिई कर्मचारीको योग्यता, अनुभव र कार्यक्षमतालाई मात्र मुख्य आधार बनाइएको छ, जसलाई मन्त्रालयभित्र सकारात्मक परिवर्तनका रूपमा लिइएको छ।

राजस्व चुहावट नियन्त्रणमा शून्य सहनशीलता: राजस्व संकलनमा देखिएका छिद्रहरू टाल्न उनले उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक डाकेर सुरक्षा निकाय र राजस्व प्रशासनलाई कडा ‘एक्सन’ लिन निर्देशन दिएका छन्।

सेवाग्राहीलाई सास्ती नदिई सीमा नाकाको अवैध कारोबार नियन्त्रण गर्न र चालू आर्थिक वर्षको लक्ष्य भेटाउन उनले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेका छन्।

यसै सन्दर्भमा उनले वीरगन्ज भन्सारको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय उद्योगीहरूसँग प्रत्यक्ष राजस्व परामर्श र अन्तरक्रिया गरेर भुइँतहको सुझाव संकलन समेत गरिसकेका छन्।

निजी क्षेत्रको विश्वास पुनर्स्थापनाः लगानीको वातावरण सुधार गर्न मन्त्री वाग्लेले निजी क्षेत्रका तीन ठूला छाता संगठन (नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्स) सँग छुट्टाछुट्टै छलफल गरेका छन्। नयाँ सरकार निजी क्षेत्रलाई ‘शत्रु होइन, साझेदार’ मान्ने नीतिमा रहेको विश्वास दिलाउँदै उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी विस्तार गर्न र रोजगारी सिर्जना गर्न आह्वान गरेका छन्।

आगामी बजेटको तयारी: आर्थिक वर्ष २०८३/८४ को बजेटलाई यथार्थपरक र जनमुखी बनाउन उनले सहसचिव उत्तर खत्रीको नेतृत्वमा बजेट लेखन समिति गठन गरी काम सुरु गराएका छन्।


प्रतिक्रिया दिनुहोस्