ब्रोकर एसोशियसनको अर्थमन्त्रीसँग माग– बैंकको ६ महिने क्याप हटाउने, एनआरएन भित्राउनेदेखि अन्तिम करको व्यवस्थासम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ब्रोकर एसोशियसनको अर्थमन्त्रीसँग माग– बैंकको ६ महिने क्याप हटाउने, एनआरएन भित्राउनेदेखि अन्तिम करको व्यवस्थासम्म



काठमाडौं । मुलुकमा नयाँ राजनीतिक समीकरणसँगै प्रधानमन्त्रीमा बालेन्द्र शाह र अर्थमन्त्रीमा प्रखर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आएपछि पुँजी बजारमा ठूलो उत्साह छाउने अपेक्षा गरिएको थियो ।

तर, सरकार परिवर्तन भएको केही समय बितिसक्दा पनि सेयर बजार निरन्तर घट्दो क्रममा रहेपछि लगानीकर्ताहरू निराश देखिएका छन् । बजार सुधारको माग गर्दै सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा हिजो आइतबार मात्रै सिंहदरबारको मूल गेट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरिएको छ ।

यसै पृष्ठभूमिमा पुँजी बजारका समस्या समाधानका लागि स्टक ब्रोकर एसोशियसन अफ नेपालले नवनियुक्त अर्थमन्त्री डा. वाग्लेलाई एक मागपत्र बुझाउँदै तत्काल सुधारका कदम चाल्न आग्रह गरेको छ ।

हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकरहरू क्रियाशील रहेको अवस्थामा बजारको गिर्दो मनोबल उच्च बनाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको ब्रोकरहरूको ठरहेको एसोशियसनका महासचिवले हस्ताक्षर गरेको मुक्तिराम घिमिरेले हस्ताक्षर गरेको माग पत्रमा उल्लेख छ ।

ब्रोकर एसोशियसनले अर्थमन्त्रीलाई बुझाएको सुझावमा बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी बजारमा सहज प्रवेश र बहिर्गमनको व्यवस्था गर्न माग गरिएको छ ।

विशेष गरी बैंकहरूले खरिद गरेको सेयर ६ महिनाको अवधि पूरा भएपछि मात्र बिक्री गर्न पाउने हालको व्यवस्था (लक–इन पिरियड) लाई तत्काल हटाउन आग्रह गरिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने ब्रोकरहरूको विश्वास छ ।

यस्तै, लामो समयदेखि चर्चामा रहेको गैर आवासीय नेपाली (एनआएन) हरूलाई दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था अविलम्ब मिलाउन पनि माग गरिएको छ । एनआरएनलाई बजारमा भित्राउन सके विदेशी मुद्राको सञ्चिति र बजारको गहिराइ दुवै बढ्ने अपेक्षा गरिएको छ ।

आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा स्पष्ट व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका छन् । हाल करका विषयमा रहेको अन्यौलताले ठूला लगानीकर्ताहरू बजारमा आउन हिचकिचाइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो माग गरिएको हो ।

साथै, सरकारी संस्थाहरूमा रहेका विभिन्न कोषहरू (जस्तै नागरिक लगानी कोष, कर्मचारी संचय कोष आदि) मा थुप्रिएर रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने सुझाव पत्रमा उल्लेख छ । साना लगानीकर्ताहरूको मनोबल बढाउन सरकारी स्तरबाटै संस्थागत लगानीकर्ताको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ ।

अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टी फण्ड प्राविधिक सुधारतर्फ संकेत गर्दै ब्रोकरहरूले ’अक्सन मार्केट’ को यथाशीघ्र सुरुवात गर्न माग गरेका छन् । हाल धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी हुन नसक्दा सिधै ’क्लोज आउट’ मा लगिने र यसबाट लगानीकर्ताले जरिवाना तिर्नुपर्ने समस्या रहेको छ । अक्सन मार्केट सुरु भएमा यस्तो समस्या समाधान हुने र लगानीकर्ता मारमा नपर्ने ब्रोकरहरूको दाबी छ ।

त्यस्तै, वि.सं. २०७५ सालदेखि नै नियमावली बने पनि कार्यान्वयनमा आउन नसकेको सेटलमेन्ट ग्यारेन्टी फण्ड (फछ्र्यौट सुरक्षण कोष) लाई तत्काल सञ्चालनमा ल्याउन नियामक निकायहरूलाई निर्देशन दिन अर्थमन्त्रीसँग आग्रह गरिएको छ ।

नयाँ सरकार र अर्थविद् अर्थमन्त्रीबाट धेरै आशा राखेका लगानीकर्ताहरू सडकमा उत्रिएको बेला ब्रोकर एसोशियसनको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्थमन्त्री डा. वाग्लेले यी मागहरूलाई आगामी बजेट र मौद्रिक नीतिमार्फत कसरी सम्बोधन गर्छन् भन्नेमा ५६ लाख लगानीकर्ताको चासो टिकेको छ ।


प्रतिक्रिया दिनुहोस्