कर्जा सुरक्षण कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन दिने कार्यशाला गोष्ठी सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्जा सुरक्षण कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन दिने कार्यशाला गोष्ठी सम्पन्न



काठमाडाैं। निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा सुरक्षण कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन लुम्बिनी प्रदेशको बुटवलमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कोषको केन्द्रीय कार्यालय र बुटवल शाखा कार्यालयको संयुक्त आयोजनामा मंगलबार ‘कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखीकरण’ कार्यक्रम आयोजना गरिएको हो।

बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकको प्रदेश कार्यालयसहित इन्फिनिटी, ग्रामीण, जनउत्थान, स्वाभिमान, सम्पदा, उन्नति सहकार्य, स्वरोजगार, लक्ष्मी, मेरो माइक्रोफाइनान्स र सिवाइसी नेपाल लगायतका विभिन्न लघुवित्त वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात गर्दै कोषको बुटवल शाखा प्रमुख वसन्त केसीले गोष्ठीको उद्देश्यबारे जानकारी गराएका थिए भने कोषकी नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको प्राविधिक सत्रमा कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषले हाल सञ्चालन गरिरहेका र भविष्यमा ल्याउने कर्जा सुरक्षण कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गरे। उनले कोषले प्रदान गर्ने सुरक्षाले बैंक तथा वित्तीय संस्थाको जोखिम न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए।

त्यसैगरी, कोषले नयाँ सञ्चालनमा ल्याउन लागेको कर्जा सुरक्षणसँग सम्बन्धित सफ्टवेयरको बारेमा सूचना प्रविधि विभागका प्रमुख राजु केसीले जानकारी गराए। उनले अबका दिनमा कर्जा दाबी प्रक्रियालाई डिजिटल माध्यमबाट छिटो र छरितो बनाइने बताए। सहभागीका तर्फबाट ग्रामीण लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले मन्तव्य राख्दै कोषको यो कदमले लघुवित्त क्षेत्रलाई थप उत्साहित बनाउने धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बजारको आवश्यकता अनुसार सुरक्षण कार्यक्रमलाई परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाए। उनले चालू आर्थिक वर्षभित्र सबै प्रदेश समेट्ने गरी यस्ता गोष्ठीहरू सञ्चालन गर्ने कोषको लक्ष्य रहेको जानकारी दिए। बैंक तथा वित्तीय संस्थाहरूसँग निरन्तर संवाद गरी देखिएका समस्या समाधान गर्न कोष सधैं तत्पर रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्