को बन्न सक्छन् राष्ट्र बैंकमा अर्को डेपुटी गभर्नर ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

को बन्न सक्छन् राष्ट्र बैंकमा अर्को डेपुटी गभर्नर ?



काठमाडौँ । मन्त्रीपरिषदले मंगलबार राष्ट्र बैंकमा रिक्त दुईमध्ये एक जना डेपुटी गभर्नरको मात्रै पदपूर्ति गरेको छ । किरण पण्डितले हिजै सपथ ग्रहण गरेर कार्यभार पनि सम्हालेका छन् । तर दोस्रो व्यक्ति नियुक्त नहुँदा केही अड्कलबाजीहरु लगाइएका छन् । साथै, नयाँ प्रश्न उब्जिएको छ- अब बन्ने अर्को डेपुटी गभर्नर चाहीँ को होला ?

केन्द्रिय बैंकमा डेपुटी गभर्नर पद रिक्त भएको एक महिनापछि पनि एक जनामात्रै पदपूर्ति हुनुलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । खासगरी यसमा तीनवटा तर्कहरु देखिएका छन् । पहिलो– सरकारले एकै पल्ट दुई जना डेपुटी गभर्नरको पदपूर्ति गर्ने व्यवस्थालाई परिमार्जन गरी भिन्न भिन्न समयमा गर्ने प्रबन्ध मिलाउन खोजेका कारण सुरुमा एक जनाको मात्रै नियुक्ति भयो । दोस्रो– प्रधानमन्त्री बालेन्द्र शाहको ‘टीम’ले अर्को व्यक्तिका बारेमा स्पष्ट धारणा बनाउन समय लाग्ने देखिएपछि एक जनामात्रै नियुक्त गरिए ।

तेस्रो तर्क चाहीँ व्यावहारिक समस्यालाई सल्टाउने उद्देश्यद्वारा प्रेरित छ । त्यो भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक साधारणसभामा भाग लिन गभर्नर विश्वनाथ पौडेलसहितको टोली आगामी शुक्रबार अमेरिका जाँदै छ । तर गभर्नरले आफ्नो अनुपस्थितिमा कार्यभार हस्तान्तरण गर्ने उच्च व्यवस्थापकीय पदाधिकारी नै भएनन् । जसले गर्दा गभर्नरको पनि अमेरिका भ्रमण स्थगित हुने अवस्था आएपछि सरकारले आकस्मिक बैठक डाकेरै भए पनि एक जना नियुक्त गरेको हो ।

यी कुनै पनि धारणालाई पुष्टि गर्ने गरी अर्थमन्त्रालय वा प्रधानमन्त्री कार्यालयले कुनै स्पष्ट सन्देश दिएको छैन ।

यसमा रोचक कुरा के छ भने, नवनियुक्त डेपुटी गभर्नर पण्डितको जन्मथलो तनहुँ हो । त्यहीँबाट निर्वाचित सांसद स्वर्णिम वाग्ले अहिले अर्थमन्त्री छन् । त्यसैले कतिपय मानिसहरु ‘मन्त्री वाग्लेले आफ्नो क्षेत्रका अधिकृतलाई पदोन्नती गरिदिएको’ भन्ने अभिव्यक्ति दिन थालेका छन् ।

मंगलबार साँझ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनाव लक्षित सभा सम्मेलनहरुमा पनि यस्तै विषयमा चर्चाहरु सुनिएको थियो । तर सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसद र नेता तथा राष्ट्र बैंककै अधिकारीहरु भने यो तर्कमा कत्ति पनि सहमत छैनन् ।

पण्डित तनहूँका त हुन्, तर उनी ‘स्वर्णिमका मान्छे’ होइनन् । पाटन उच्च (तत्कालिन पुनरावेदन) अदालतका मुख्य न्यायाधीश केशरीराज पण्डितका छोरा किरण २०६२ सालमा सहायक निर्देशकबाट राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए । त्यतिबेला उनको ‘ब्याच’मा प्रवेश गर्नेमध्ये उनी पहिलो कार्यकारी निर्देशक हुन् । अहिलेका कार्यकारी निर्देशकहरु दीर्घ रावल, सत्यन्द्र तिमिल्सिना, अनुज दाहाल लगायत १७ जनाको टोलि त्यतिबेला एक साथ केन्द्रिय बैंक छिरेका थिए ।

व्यवस्थापनमा स्नातकोत्तर उपाधी हासिल गरेका पण्डित राष्ट्र बैंकका विद्यमान कार्यकारी निर्देशकहरुबीच ‘सुपरम्यान’ मानिन्थे । केन्द्रिय बैंकभित्रका वौद्धिक व्इक्तिहरु उनलाई ‘अडान लिने मान्छे’ भनेर चिन्दछन् । एक जना निर्देशकले पण्डितका बारेमा भने, ‘राष्ट्र बैंकभित्र पारदर्शी अभ्यास गर्ने, प्रणाली बसाल्न खोज्ने, सबैलाई ‘चेक’ गर्ने, इमान भएको व्यक्ति उहाँ हो ।’

पण्डितले केन्द्रिय बैंकको ६९ औँ वार्षिकोत्सवमा ‘सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार’ पनि पाएका थिए । भलै त्यो पुरस्कार गभर्नरको ‘एकल छनोट’मा वितरण गरिन्छ ।

‘अहिले डेपुटी गभर्नर बनाइदेउ भनेर नेता र मन्त्रीका घर तथा तिनको आफन्त र कार्यकर्ता भेट्न नजाने ३–४ जनामध्ये उहाँ पनि एक हो’, राष्ट्र बैंकका अधिकारीहरु भन्छन् । राष्ट्र बैंक ऐनले त्यहाँ हुने १८ जना कार्यकारी निर्देशकहरुलाई समान रुपमा डेपुटी गभर्नरको ‘प्रतिस्पर्धी’ मान्दछ । ती १८ मध्ये कुनै २ जनालाई सरकारले नियुक्त गर्छ । त्यसैले पुरानो परिपाटीलाई पच्छ्याउँदै यस पल्ट पनि थुप्र्रै कार्यकारी निर्देशकहरु नेता र प्रधानमन्त्रीको टीकसम्म आफ्नो सिफारिस पुर्याउन सक्षम भएका थिए ।

त्यसरी अपेक्षा राखेर ‘नियुक्तिको भीख’ नमाग्ने कार्यकारी निर्देशक भनेर राष्ट्र बैंक भित्रका कर्मचारीले ३–४ जनाको नाम लिइरहेका छन् । त्यसमध्ये पण्डित एक हुन् । यसका अलावा डिल्लीराम पोखरेल, चेतप्रसाद उप्रेतीजस्ता कार्यकारी निर्देशक पनि ‘भनसुन’को बाटो नगएको उनीहरुको बुझाइ छ ।

‘कुनै राजनीतिक दल, कुनै मन्त्री वा प्रधानमन्त्रीकहाँ नधाउने, प्रधानमन्त्रीलाई भेट्न नखोज्ने भनेको उहाँहरु नै हो’, एक निर्देशक भन्छन्, ‘सिफारिस गराउनेलाई कालो सूचीमा राख्छु भन्ने नेताहरुको भनाइ साँचो हो भने उहाँ ह्वाइट लिस्टमा परेको मान्छे हो ।’

त्यसैले सरकारको यो छनोटलाई राष्ट्र बैंकका अधिकृतहरु ‘अर्थमन्त्रीको च्वाइस’ नभएर ‘बालेन सरकारको सही निर्णय’का रुपमा व्याख्या गरिरहेका छन् । पहिलेको दलीय आबद्धतालाई हेर्ने हो भने त उहाँलाई धेरैले हुँदैन नै भन्थे होला । उनलाई केन्द्रिय बैंकभित्र ‘एमालेन निकट’ भनेर चिनिन्थ्यो । तर उनले दलीय आधारमा कुनै निर्णय प्रभावित नगर्ने भएकाले सबै दलीय ट्रेड युनियनहरु उनीसँग रूष्ट रहेको अधिकारीहरु बताउँछन् ।

त्यसैले प्रधानमन्त्री बालेन्द्र शाहको टीमले उत्कृष्ट छनोट गरेर उनलाई डेपुटी गभर्नर बनाएकोमा उनीहरु ढुक्क देखिन्छन् । ‘तनहुँकै मान्छे भएकाले अर्थमन्त्रीले गरेको हो अनुमान गरिएको होला । तर बाहिरका (थाहा नभएका) मान्छेले भनेका हुन्’, ती निर्देशकले थपे ।

अब को बन्छ ?

डेपुटी गभर्नरका लागि राष्ट्र बैंकका गभर्नरले ४ जनाको नाम सिफारिस गर्नुपर्ने ऐनको व्यवस्था छ । तर ती सिफारिस भएका ४ जना को हुन् भन्ने सुनिश्चित छैन । अहिले एक जनामात्रै नियुक्त गरिएकाले सरकारले गभर्नरसँग २ जनाको मात्रै नाम मागेको पनि हुन सक्छ । बाँकी दुई जनाको नाम पछि माग्न सक्छ । अहिले गभर्नरले ४ जनाकै नाम सिफरिस गरेको भए पनि भविष्यमा अर्को नियुक्तिका बखत २ जनाको ‘नयाँ नाम’ सिफरिस माग्न पनि सक्ने संभावना कायमै छ ।

त्यसैले अड्कल बाजीहरु धेरै छन् ।

तर अहिले केही नामहरु आइरहेका छन् । दीर्घ रावल, सत्यन्द्र तिमल्सिना, गुरुप्रसाद पौडेल, डिल्लिराम पोखरेल लगायतको नाम अलि धेरैले लिने गरेका छन् ।

यसमध्ये पोखरेलको संभावना अलि बढी हुनसक्ने राष्ट्र बैंकका केही अधिकारीहरुको बुझाइ छ । यसमा उनीहरुको तर्क छ, दीर्घ पनि योग्य मान्छे हुन् । तर उनी किरण जस्तै सुपरिवेक्षकीय पृष्ठभूमिबाट आएका पात्र हुन् ।

केन्द्रिय बैंकमा दुबै डेपुटी गभर्नर सुपरिवेक्षकीय पृष्ठभूमिबाट ल्याउँदा केही असहता हुनसक्ने भनेर उनीहरुले अर्को पात्र अर्थशास्त्रीहरुमध्येबाट खोज्न सक्ने ठान्छन् । यस मानेमा डिल्लीरामको संभावना बढी देखिएको हो । उनी पनि किरण जस्तै त्रिभुवन विश्वविदालयका ‘गोल्ड मेडलिस्ट’ हुन्, तर अर्थशास्त्र तर्फका । उनले जापानबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका छन् ।

अनुसन्धान विभागमा खासै काम नगरे पनि सत्यन्द्र तिमिल्सिना पनि अर्थशास्त्रकै पृष्ठभूमिबाट आएका हुन् । पूर्व पत्रकारसमेत रहेका तिमिल्सिनाको राजनीतिक जग भने यसअघि ‘एमाले निकट’ नै भनेर चिनिन्थ्यो । तर अचेल उनी प्रधानमन्त्री बालेनको कार्यशैली र उनको टीमप्रति सकारात्मक भाष्य सृजना गर्ने कोसिस गरिरहेको उनका निकटवर्तीहरु बताउँछन् ।

रामशरण खरेल पनि अर्थशास्त्रकै पृष्ठभूमिका हुन् । उनी अहिले आर्थिक अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन् । उनी पनि ‘गोल्ड मेडलिस्ट’ हुन् र बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । तर खरेललाई अहिलेको सरकारले पदोन्नती गर्न अलि अप्ठेरो मान्नसक्ने जोखिम रहेको ठानिन्छ । उनी पूर्व अर्थमन्त्री युवराज खतिवडाको ज्वाइँ हुन् र यो कुरा उनी उपनिर्देशक हुँदादेखि नै खुबै प्रचारित छ ।

त्यसो त, गभर्नर विश्वनाथ पौडेलले केन्द्रिय बैंकको शक्तिशाली विभागहरु कम्युनिष्ट निकट कार्यकारी निर्देशकलाई दिएको भनेर पनि बीचमा थोरै असन्तुष्टिहरु देखिएका थिए । सरकार परिवर्तनसँगै त्यस्ता असन्तुष्टिहरु सेलाएर गएका छन् । तर नयाँ सरकारले त्यो राजनीतिक पृष्ठभूमिलाई पनि मिलाउन खोज्यो भने पोखरेल वा रावलको संभावना अझ बढ्न सक्ने कर्मचारीहरुको बुझाइ छ । यी दुबै जना प्रजातान्त्रिक विचारधाराका मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्