मध्यपूर्व युद्धको बाछिटा: आयातमा निर्भर देशहरू खाद्य तथा ऊर्जा संकटको उच्च जाेखिममा
काठमाडाैं । मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षा र अर्थतन्त्रमा गम्भीर संकट आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले संयुक्त चेतावनी दिएका छन्।
विश्व बैंक र आईएमएफ र डब्लुएफपीले संयुक्त रूपमा जारी गरेकाे विज्ञप्तिअनुसार यस युद्धले आधुनिक इतिहासमै ऊर्जा बजारमा सबैभन्दा ठूलो अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
तेल, प्राकृतिक ग्यास र रासायनिक मलको मूल्यमा भएको भारी वृद्धि तथा ढुवानीमा देखिएका समस्याले गर्दा खाद्यान्नको मूल्य अनियन्त्रित भई विश्वभर खाद्य असुरक्षा बढ्ने निश्चित देखिएको विज्ञप्तिमा उल्लेख छ।
यो संकटको सबैभन्दा ठूलो मार न्यून आय भएका र आयातमा निर्भर मुलुकहरूमा पर्नेछ। विशेष गरी ती देशहरू जहाँ पहिलेदेखि नै ऋणको बोझ उच्च छ र सरकारी ढुकुटी कमजोर छ, त्यहाँका सरकारहरूलाई आफ्ना नागरिकलाई भोकमरीबाट जोगाउन थप कठिन हुनेछ। इन्धन र खाद्यान्नको मूल्य बढ्दा सरकारले कमजोर परिवारहरूलाई दिने राहत वा सहयोग गर्ने क्षमतामा समेत ह्रास आउने चेतावनी दिइएको छ।
यी तीनवटै संस्थाहरूले परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको र संकटबाट प्रभावित भएकाहरूलाई सहयोग गर्न उपलब्ध सबै संयन्त्रहरू प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आ-आफ्नो कार्यक्षेत्र र म्यान्डेटअनुसार मानिसहरूको जीवन र जीविकोपार्जन जोगाउन तथा भविष्यमा आर्थिक स्थिरता, वृद्धि र रोजगारीका आधारहरू निर्माण गर्न सहकार्य गर्ने बताएका छन्। यो संकटले मध्यपूर्वको सीमा नाघेर विश्वव्यापी रूपमै आर्थिक र सामाजिक उथलपुथल ल्याउन सक्नेमा उनीहरूले गम्भीर चासो व्यक्त गरेका छन्।













