शेयर बजारमा बैंकहरूको बढ्दो भरोसा, ८ महिनामा १ खर्ब ५६ अर्बमाथि पुग्यो शेयर धितो कर्जा « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

शेयर बजारमा बैंकहरूको बढ्दो भरोसा, ८ महिनामा १ खर्ब ५६ अर्बमाथि पुग्यो शेयर धितो कर्जा



काठमाडौं । नेपालको पुँजी बजारमा पछिल्लो समय देखिएको उतारचढावका बीच बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उत्साहजनक वृद्धि देखिएको छ ।

चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो ८ महिनाको तथ्यांकलाई मसिनो गरी केलाउँदा शेयर बजारमा संस्थागत र ठूला लगानीकर्ताहरूको सक्रियता मात्र बढेको छैन, बैंकहरूको लगानी प्राथमिकतामा पनि शेयर बजार पर्न थालेको प्रस्ट हुन्छ । वित्तीय क्षेत्रमा अधिक तरलता र ब्याजदरमा आएको गिरावटको प्रत्यक्ष लाभ शेयर धितो कर्जा लिनेहरूले उठाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र शेयर धितो कर्जा ११.०७ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो बढोत्तरीले पुँजी बजारमा आगामी दिनमा थप तरलता प्रवाह हुने र बजारलाई सकारात्मक दिशामा लैजान मद्दत गर्ने संकेत गरेको छ ।

तथ्यांकअनुसार सबैभन्दा ठूलो हिस्सा १० करोड रुपैयाँभन्दा माथिको कर्जाले ओगटेको छ । ठूला लगानीकर्ता र संस्थाहरूले लिने यो वर्गको कर्जा गत वर्ष ७९ अर्ब १२ करोड ९३ लाख ७० हजार रुपैयाँ रहेकोमा यस वर्ष २४.९९ प्रतिशतले वृद्धि भएर ९८ अर्ब ९२ करोड ७८ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

रकमका आधारमा हेर्दा यो वर्गमा मात्रै १९ अर्ब ७९ करोड ८५ लाख २० हजार रुपैयाँ थपिएको देखिन्छ । ठूला दरका कर्जामा आएको यो उछालले बजारमा ’स्मार्ट मनी’ भित्रिएको पुष्टि गर्छ ।

राष्ट्र बैंकले नीतिगत लचिलोपन देखाउँदै व्यक्तिगत र संस्थागत सीमामा गरेको परिमार्जनको प्रत्यक्ष प्रभाव यसै वर्गमा देखिएको हो । ठूला लगानीकर्ताहरूले सस्तो ब्याजदरको उपयोग गर्दै बजारबाट शेयर उठाउन बैंकको पैसा बढी प्रयोग गरेको यो तथ्यांकले स्पष्ट पार्दछ ।

यसैगरी, मध्यम वर्गीय लगानीकर्ताहरूले लिने ५ करोडदेखि १० करोड रुपैयाँसम्मको कर्जा प्रवाहमा पनि १७.३८ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्ष १४ अर्ब ७७ करोड ८१ लाख ९० हजार रुपैयाँ रहेको यो कर्जा यस वर्ष बढेर १६ अर्ब २ करोड ९७ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

यो वर्गमा १ अर्ब २५ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । शेयर बजारलाई व्यावसायिक रूपमा लिने र मध्यमस्तरको पोर्टफोलियो भएका लगानीकर्ताहरू यस अवधिमा बढी सक्रिय भएको पाइन्छ ।

५ करोडभन्दा माथिको कर्जा लिन रुचाउने लगानीकर्ताको संख्या र रकम बढ्नुले बजारमा दीर्घकालीन लगानीको मनोविज्ञान विकास भइरहेको बुझ्न सकिन्छ ।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जाको अवस्था पनि सन्तोषजनक नै छ। यो वर्गमा कर्जा प्रवाह ८.५१ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड ६० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यो १६ अर्ब ४४ करोड ९१ लाख ७० हजार रुपैयाँ मात्र थियो ।

साना र मध्यम स्तरका लगानीकर्ताहरूले पनि आफ्नो पोर्टफोलियो विस्तार गर्न बैंक कर्जाको सहारा लिएको यसले देखाउँछ । यद्यपि, २५ लाख रुपैयाँभन्दा कमको कर्जा प्रवाहमा भने तुलनात्मक रूपमा सुस्त वृद्धि देखिएको छ । यो वर्गमा ७.०५ प्रतिशतको वृद्धि भई ८ अर्ब १७ करोड ८४ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । यसले के संकेत गर्छ भने धेरै साना लगानीकर्ताहरू अझै पनि कर्जा लिएर जोखिम मोल्नुभन्दा आफ्नै बचत परिचालन गर्न वा पर्ख र हेरको अवस्थामा रहेको देखिन्छन्।

शेयर धितो कर्जामा देखिएको यो समग्र वृद्धिले नेप्से परिसूचकमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने निश्चित छ । सामान्यतया, जब बैंकहरूबाट शेयर बजारमा सस्तो दरमा पैसा प्रवाह हुन्छ, त्यसले बजारमा माग सिर्जना गर्दछ ।

१ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढीको पुँजी बजारमा परिचालन हुनु भनेको बजारका लागि ठूलो ऊर्जा हो । विशेषगरी ठूला कर्जाको विस्तारले बजारका ’ब्लु चिप’ कम्पनीहरू र बढी पुँजीकरण भएका कम्पनीहरूको शेयरमा आकर्षण बढाउँछ ।

बजारमा तरलता सहज हुँदा लगानीकर्ताको आत्मबल बढ्छ, जसका कारण खरिद चाप बढ्न गई परिसूचक र कारोबार रकम दुवैमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

बैंकहरूको ब्याजदर एकल अंकमा ओर्लनु र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर कर्जाका जोखिमभार (रिक्स वेट) हरूमा गरेको समयसापेक्ष सुधारले पनि यो वृद्धिलाई बल पुर्‍याएको हो । जब–जब शेयर धितो कर्जाको ग्राफ उकालो लाग्छ, त्यसको केही समयपछि बजारमा चमक देखिने गरेको छ ।

अहिले बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त छ र अन्य क्षेत्र (जस्तै घरजग्गा वा व्यापार) मा कर्जाको माग सुस्त रहेका बेला शेयर बजार बैंकहरूका लागि सुरक्षित र तरल क्षेत्र बनेको छ । लगानीकर्ताले शेयर धितो राखेर तुरुन्तै कर्जा पाउने र बैंकले पनि सजिलै असुली गर्न सक्ने भएकाले यो दुवै पक्षका लागि अहिले ’विन–विन’ को अवस्था हो ।

चालू आर्थिक वर्षको ८ महिनाको यो तथ्यांकले नेपाली शेयर बजार परिपक्वतातर्फ गइरहेको र लगानीकर्ताहरूले संस्थागत ऋणको उपयोग बढाएको देखाउँछ । १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँको कुल कर्जामध्ये ठूला कर्जाको बाहुल्यता हुनुले बजारलाई स्थायित्व दिन मद्दत गर्नेछ ।

आगामी दिनमा मौद्रिक नीतिमा थप लचकता आएमा र ब्याजदर यही न्यूनस्तरमा कायम रहेमा शेयर धितो कर्जाको आकार अझै बढ्ने र त्यसले नेप्सेलाई नयाँ उचाइमा पुर्‍याउने देखिन्छ । यसरी कर्जाको मात्रा बढ्दै जाँदा बजारमा हुने उतारचढावले बैंकहरूको सन्तुलनमा पार्न सक्ने प्रभावप्रति भने नियामक निकाय सधैं चनाखो रहनुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्